मानव बेचबिखनविरुद्ध सजगता (सम्पादकीय)

आज जुलाई ३० तारिख । आजकै दिनलाई विश्वभर मानव बेचबिखनविरुद्ध अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाइन्छ । सन् २०१३ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा मनाउन थालिएको यो दिवसका अवसरमा विश्वभर मानव बेचबिखनविरुद्ध जनचेतना जगाउने र बेचबिखनमा परेका व्यक्तिको मानव अधिकार संरक्षण गर्ने कार्यलाई प्रचारप्रसार तथा प्रतिबद्धता व्यक्त गरिन्छ । मानव बेचबिखनको समस्या विश्वव्यापी छ । संयुक्त राष्ट्रसङ्घकै एक प्रतिवेदनअनुसार बेचबिखनमा परेकाको यकिन सङ्ख्या तोक्न कठिन भए पनि यीमध्ये २८ प्रतिशत बालबालिका छन् भने ७० प्रतिशतभन्दा बढी महिला हुने गरेका छन् । दक्षिण एसियामा बेचबिखन मापन गर्नेहरूमध्ये ४० प्रतिशत बालबालिका रहने गरेका छन् । नेपाल पनि मानव बेचबिखनको समस्याबाट ग्रसित छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठनका अनुसार विश्वभर करिब दुई करोड दश लाख मानिस जबरजस्ती लगाइएका यौनधन्दा वा मजदुरका रूपमा छन् । 

गत मङ्गलबार राति नयाँदिल्लीको एक घरबाट १६ नेपाली महिलाको उद्धार गरियो । दिल्ली महिला आयोग र प्रहरीको सक्रियतामा उद्धार गरिएका ती महिलालाई रोजगारीका लागि इराक र कुवेत पठाउने भन्दै लामो समयदेखि त्यहाँ राखिएको थियो । यो एउटा प्रतिनिधि घटना मात्रै हो । यसले के देखाउँछ भने मानव तस्करीको यो आपराधिक गतिविधिको स्वरूप, शैली र क्षेत्र फेरिएको छ । केही समय अघिसम्म भारतमा लगेर बेचबिखन हुने गरेकोमा अब यो अन्य एसियाली, अफ्रिकी, मध्यपूर्वी, ल्याटिन अमेरिकी मुलुकसम्म विस्तार भएको छ । राम्रो आम्दानी, सुख सुविधा र आधुनिक जीवनशैलीको प्रलोभनमा पारेर बेच्ने गरेका घटना उजागर हुन थालेका छन् । सामाजिक सञ्जालको प्रयोग, विदेशमा राम्रो रोजगारी र विदेशीसँग विवाहजस्ता प्रलोभनमा पारी महिलालाई तस्करी र बेचबिखन गर्ने गरेका घटना फेला पर्न थालेका छन् । गाउँघरका सिधासोझा व्यक्तिमात्रै नभई सहरी क्षेत्रका पढेलेखेका महिला तथा पुरुष पनि यो जालमा पर्ने गरेका छन् । बिहेको आवरणमा होस् वा वैदेशिक रोजगारीका नाममा लगेर श्रम र यौन शोषणमा लगाउने गरेका घटना बढ्दै गएको प्रहरीमा आएका उजुरीले पनि देखाउँछ । नेपाल प्रहरीका अनुसार २०७१÷७२ मा १८१, २०७२÷७३ मा २१२, २०७३÷७४ मा २२७ र २०७४÷७५ मा २६८ छ । यीमध्ये ८० प्रतिशत महिला छन् । उजरी गर्नेभन्दा नगर्नेको सङ्ख्या धेरै हुने गरेको छ । पुरुषलाई जबरजस्ती श्रममा लगाइने गरिएको छ र बालबालिकालाई माग्ने, यौन गतिविधि, चोरीजस्ता काममा लगाइन्छ । मानव अङ्गका लागि पनि मानव तस्करी हुने गरेका छन् । ऐनले कुनै पनि उद्देश्यले मानिस बेच्ने वा किन्ने, कुनै प्रकारको फाइदा लिई वा नलिई बेश्यावृत्तिमा लगाउने, प्रचलित कानुनबमोजिम बाहेक मानिसको अङ्ग झिक्ने, बेश्यागमन गर्ने कार्यलाई मानव बेचबिखन भनेको छ ।
मानव बेचबिखन मानव अधिकारविपरीत छ र मानवताविरुद्धको अपराधकै रूपमा परिभाषित छ । तर विभिन्न प्रयासको बाबजुद पनि मानव बेचबिखनको स्वरूप, तरिका र बाटो फरक हुन थालेपछि यसको नियन्त्रण झन् चुनौतीपूर्ण बन्दै गएको छ । त्यसैले विद्यमान ऐनमा समायानुकूल परिमार्जनको आवश्यका खड्किएको छ । वैदेशिक रोजगारीका नाममा मानव बेचबिखनका घटना हुने गरे पनि कडा कानुनी व्यवस्था नहुँदा पीडितले न्याय पाउन सकेका छैनन् । मानव बेचविखनजस्तो जघन्य अपराधलाई पनि स्पष्ट परिभाषाको अभावका कारण वैदेशिक रोजगारसम्बन्धी ठगीका रूपमा कारबाही हुँदा अपराधीलाई कडा सजाय हुन सकेको छैन । मानव बेचबिखन बहुराष्ट्रिय प्रकृतिको अपराध बन्दै गएकाले पनि विद्यमान ऐन, कानुनमा समयानुकूल सुधार आवश्यक छ । भारतसँगको खुला सीमा, गरिबी, जनचेतनाको कमीका कारण खासगरी नेपाली महिला बेचबिखनमा पर्ने गरेका छन् । वैदेशिक रोजगारी, आफन्त भेटघाटलगायतका बहानामा विभिन्न नाकाबाट ओसारपसार हुने गरेको छ । सरकार तथा गैरसरकारी संस्थाले मानव तस्करीविरुद्ध कदम चाल्दै आए पनि मानव तस्करीको जालो बढ्दै गएको अवस्थामा यसको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता छ । पीडकलाई कडा सजाय र पीडितलाई क्षतिपूर्तिको व्यवस्था हुनुका साथै गाउँगाउँसम्म मानव बेचबिखनविरुद्ध जनचेतना फैलाउने, सीमा क्षेत्रमा निगरानी बढाउने, जोखिममा रहेका समूहमा जनचेतना अभिवृद्धि गराउने, पीडितलाई परामर्श, पुनःस्थाना, हराएकाको खोजीमा प्रभावकारिता ल्याउनु आवश्यक छ ।

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना