शिक्षा नीतिको नयाँ उचाइ

pradip nepalप्रदीप नेपाल

 

नेपालमा मास्टर, (एम.ए. बराबर) पढेको मान्छेले ‘फलानो पदमा मन्त्रीजीलाई भन्दिनुस् न’ भन्ने धेरै सुनेको थिएँ । यसपालि पी.एच.डी. गरेको मानिसले समेत हजुरले फलानो मन्त्रीलाई भनिदिनुस् भनेपछि नेपालको शिक्षाले पोल्यो मलाई । उहाँलाई त सजिलो गरी जवाफ दिएँ मैले– पी.एच.डी. गरेको मान्छेले सरकारको नोकर हुन सुहाउँदैन । आफैँ केही परियोजना थाल्नुस् । आफ्नो मालिक आफैँ हुनुहोस् । ’
नेपालको शिक्षा प्रणालीमा त्रुटि कहाँँ छ ? काठमाडौँमा बसेर पढेका, युरोप अमेरिकातिर गएर डिग्री लिएका शिक्षा नीतिको टाउकोमा बसुञ्जेल यस्तै भइरहने छ । हामीले दिने शिक्षा कस्तो हुनुपर्छ ? अहिलेजस्तै पढालेखालाई युरोप, अमेरिका पठाउने ? अथवा अलिक कम पढालेखालाई कोरिया, मलेसिया अथवा अरब पठाउने ?
नेपालको शिक्षा प्रणालीका आधार बेलायती प्रणालीसँग जोडियो । नेपालसँग जोडिने प्रणालीलाई बेलायती–भारत र स्वाधीन भारतले जरैदेखि उखेलेर फ्याँकिदिए । अलि तङ्ग्रिन खोजेको बेला फ्याट्ट आइपुग्यो– अमेरिकी चारपाते क्लब । जसले ‘कलेज’ लाई क्याम्पस बनाएर, ‘स्कुल’ लाई विद्यालय बनाएर हाम्रो रहेसहेको नेपालीपनलाई पनि एटलाण्टिक महासागरको गहिराइमा लगेर फ्याँकिदियो । विडम्बना कस्तो रह्यो भने, हाम्रो इतिहास पनि युरोपियनहरूले नै लेखिदिनुपर्ने भयो । त्यसको खण्डन गर्ने असभ्य र मुर्ख भयो । सामान्य शिक्षाको कुरो त ठीकै रह्यो तर प्राविधिक शिक्षा पनि कक्षा कोठाको ‘ब्ल्याक’ या ‘ह्वाइट बोर्ड’ मा टाँसिएर बस्ने भयो ।
हाम्रा शिक्षाविद्हरूले कहिल्यै नेपाल बुझेर नीति बनाउन सकेनन् । पुरानो पञ्चायतको कुरो छोडिदिउँ तर जनताको सरकार आएपछि पनि हामीले नेपाल चिनेर शिक्षाको नीति बनाउन सकेनौँ । नेपाल दक्षिण एसियाको सबैभन्दा प्राचीन सभ्यता भएको देश हो । नेपाल कहिल्यै कसैको उपनिवेश नभएको देश हो । नेपालको यति परिचय पाएपछि हामीले किन अरूको सभ्यता सिक्न जानुप¥यो ?!
अहिले पनि अमेरिकालाई महान् प्रजातन्त्र मान्ने शिक्षाविद्को बहुमत छ नेपालमा । अध्ययन र अनुसन्धान इतिहासको विषय भइसके । हाम्रा शिक्षाविद्ले गल्ती कहाँ गरे ? काठमाडौँमा बसेर नीति बनाउनेले शिक्षाको सबैभन्दा ठूलो पाटो श्रम र स्वाभिमानलाई देख्न सकेनन् । कुनै बेला नेपाल चामल निर्यात गथ्र्यो । अहिले आयात गर्छ । नेपाल कुनै पनि उत्पादनमा आत्मनिर्भर छैन । सुकुलगुण्डे सभ्यताको जगेर्ना गर्ने शिक्षा नीति हाम्रो देशमा ‘सम्माननीय’ भयो । यसैले गर्दा नेपालमा गरिखाने साना, सुतिखाने ठूला भए । कमाइ खाने साना, धम्क्याइ खाने ठूला भए । नेपाल यतिसम्म तल झ¥यो कि दश कक्षा पढेकोले गोबर छुन लाज मान्ने परिस्थिति जन्मियो । यो असाध्यै काम नलाग्ने शिक्षा हो । यसलाई समूल नष्ट नगरेसम्म हाम्रो शिक्षा प्रणालीले गरी खाने मान्छे उत्पादन गर्न सक्दैन । काम गर्ने ठूलो, काम नगर्ने ठालु, भन्ने चेतना प्रत्येक नेपालीसम्म पु¥याउन सकिएन भने पुस्तक फेरेर, कक्षा कोठाभित्र तरकारी बहादुर र भात बहादुरको तस्बिर टाँसेर हामी सही शिक्षा पद्धतिलाई अङ्गीकार गर्नै सक्दैनौँ ।
जुन मुलुकको स्वाभिमान मरेको छ– त्यसको स्वतन्त्रताको गीत गाउनुहुँदैन । जुन मान्छे कसैको मानसिक दास भएको छ, त्यसले पनि स्वतन्त्रताको गीत गाउनुहुँदैन । २०२८ साल यताका शिक्षाविद्हरूले अमेरिकी शिक्षा प्रणाली लागू गरेर गल्ती गरे । त्यही गल्तीले ‘ब्रेनड्रेन’ (बौद्धिक पलायन) शब्द जन्मायो । अमेरिकाले नेपालको सस्तो श्रम देखेर आफ्नो नीति लागू ग¥यो । त्यसैले हामीले नेपाली दक्ष प्राविधिक होइन, अमेरिकाको दक्ष प्राविधिक उत्पादन गरिरहेका छौँ ।
हाम्रो जस्तो चेतना छ, जस्तो आर्थिक अवस्था छ, त्यसको अध्ययन गरेर प्राविधिक जनशक्ति उत्पादन गर्ने हो भने अहिले पनि अनमी, सिएमए, ल्याब टेक्निसियन, बढीमा हेल्थ एड र स्टाफ नर्स हाम्रो देशका लागि उपयुक्त जनशक्ति हो । एम.बी.बी.एस. गरेको कुन डाक्टर जान्छ गाउँमा ? एकाध दिन गएर रमझम गर्नु एउटा कुरा हो तर एउटा डाक्टर एक वर्ष पनि बस्दैन दुर्गमा क्षेत्रको सदरमुकाममा पनि तर हामीलाई चाहिन्छ एम.बी.बी.एस. उत्पादन गर्ने कारखाना । हामीले फालिदियौँ ओभरसियर, अनमी, सिएमए, अहेव, हेल्थएड । जो चाहिएको थियो त्यसलाई हामीले फ्याँकिदियौँ । जो अहिलेका लागि त्यत्ति जरुरी थिएन, त्यसलाई छ्यालब्याल पारिदियौँ । एम.बी.बी.एस, एम.डी., डि.एम. पढाई गर्नुहुँदैन भनेको होइन मैले । आवश्यकताको आधारमा तिनीहरूको पनि उत्पादन गर्नुपर्छ । अहिले भएका बग्रेल्ती खुलेका मेडिकल कलेज, व्यापारीहरूको पहिलो खेती थियो भारत । नेपालको दक्षिणी सिमाना सबैको लक्ष्य हुनुका पछाडि यही सोचले काम गरेको थियो । भारतले चिकित्सा शिक्षालाई खुला बजारमा फालिदिएपछि नेपाली सिमानाका कलेजहरू पनि बिस्तारै विद्यार्थी सङ्कटमा पर्दैछन् । कुनै दिन यिनीहरू बन्द भए भने हामीले छक्क पर्नुपर्ने छैन ।
सरकारले मेडिकल कलेजप्रति अहिले चासो नदेओस् । त्यो व्यापार हो । व्यापारमा घाटा लाग्ने हुनाले नै अहिले सरकार र डा. गोविन्द के.सी. को त्यान–त्यान चलेको हो । चालीस पचास लाख रुपियाँ तिरेर डाक्टर भएको कुन चाहिँ डाक्टर पाँचथर जान्छ ? उसको पहिलो लक्ष्य हुन्छ अमेरिका नभए अस्ट्रेलिया । त्यस्ता महँगा डाक्टर उत्पादन हाम्रो प्राथमिकता होइन । हाम्रो प्राथमिकता हो– मध्यमस्तरीय दक्ष जनशक्तिको उत्पादन । जो गाउँमा गएर रमाउन सक्छ । जो सधैँभरि नेपाली नै रहिरहन्छ ।
नेपालमा एउटा संस्था छ– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्र (सीटीइभीटी) । कुरो नबुझ्दा म पनि त्यसलाई प्राविधिक विश्वविद्यालय बनाउने पक्षमा थिएँ । यतिबेला मैले बुझ्न थालेको छु– प्राविधिक शिक्षा पढाउने पुल्चोक क्याम्पस, महाराजगन्ज क्याम्पस, थापाथली क्याम्पस आदि इत्यादि छँदैछन् । त्यसमाथि अर्को मिर्गौला किन प्रत्यारोपण गर्ने ? महाराजगन्ज क्याम्पसले डी.एम. सम्मको शिक्षा देओस् । पुल्चोक क्याम्पसले पनि स्नातकोत्तरभन्दा माथिको शिक्षा देओस् । मध्यमस्तरीय दक्ष प्राविधिकका लागि प्रत्येक प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र खोलियुन् । आफ्नो गाउँ आफैँ बनाऔँ नाराले विदेशी डिग्रीधारी पी.एच.डी. साहेवहरूलाई क्रुद्ध बनाएको थियो तर त्यही नाराले आज मध्यपहाडी लोकमार्गको ७० प्रतिशतभन्दा बढी बोझ बोकेको छ ।
आजभोलि ठूलाबडाको भाषा बनेको छ– शैक्षिक प्रमाणपत्र । कोही आठ कक्षा पढेका छन् । कोही दश कक्षा पढेका छन् । त्यसैले प्रदीप नेपालले डाक्टर उत्पादन गर्न दिँदैन भन्ने आलुचना (आलोचना होइन) पनि आउँछ होला । मैले त्यसको चासो राखेको छैन । म स्वास्थ्यमन्त्री भएको छु । शिक्षामन्त्री पनि भएको छु । एक जना डाक्टरलाई छात्रवृत्तिमा एम.डी. पढाउने वचन दिएर मैलै एक वर्षका लागि जुम्ला पठाएको थिएँ । सरकारले कति दिन गर्न सक्छ यस्तो काम ?
सुकुलगुण्डे नेपाली शिक्षा प्रणालीलाई कर्ममुखी बनाउनु अबको दायित्व हो । यो अत्यन्तै गाह्रो काम हो तर सानैदेखि व्यावहारिक प्रशिक्षण नदिने हो भने नेपालको स्वाभिमान फर्किदैन । हामी गर्वले नेपाली हौँ भन्न त सकौँला तर हाम्रो यो भनाइ आफैँप्रतिको व्यङ्ग्य हुन्छ । प्राविधिक शिक्षाका सबै स्कुलमा ‘श्रमलाई सम्मान गरौँ’ को बोर्ड टाँसिनुपर्छ । ‘बसिखाने होइन, गरिखाने ठूलो हुन्छ’ भन्ने नाराले त्यसको परिसर गुञ्जायमान हुनुपर्छ । अर्थात् हाम्रा विद्यार्थीले सानैदेखि श्रमको मूल्य बुझ्नुपर्छ । हिलो माटो मुछ्न मात्र होइन, गोबर उठाएर फ्याँक्न पनि उसले लाज मान्नुहुँदैन ।
अहिले सबैलाई पीडा दिइरहेको मुद्दा हो कति मेडिकल कलेजको सञ्चालन गर्ने । त्यसको समाधान हो अस्पतालसहित चलेका सबै मेडिकल कलेजलाई सम्बन्धन दिउँ । उसै पनि ती विद्यार्थी नेपाल रुँगेर बसिरहँदैनन् । फी (शुल्क) मा कडाइ गरिनुपर्छ । बीस लाख जती पर्ला । मेरो यो अनुमानित आँकलन मेरी छोरी पढेको काठमाडाँै मेडिकल कलेजमा हामीले तिरेको फीको आधार हो । व्यापारी सञ्चालकहरू मान्दैनन् भने तिनको सम्बन्धन खारिज गर्नुपर्छ ।
‘हामी पढ्छौँ, सँगसँगै कमाउँछौँ पनि । राज्यले त्यस्तो व्यवस्था गरिदेओस् । ’ यो अहिलेको राज्यको शिक्षा नीति हुनुपर्छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना