मार्सी धान उत्पादन बढाउन जुर्मुराए जुम्ली किसान

नेत्र शाही

खलङ्गा, साउन २० गते । राजनीति तरङ्ग ल्याएको जुम्लाको मार्सी धान अहिले जति चर्चामा छ, उत्तिकै बजारसमेत यसले पाउन थालेको छ । यो पटक मार्सी चामलको बजार बढेपछि गत वर्षको बचेको चामल जुम्लाबाट बाहिर गइरहेको छ ।
जिल्लाको तातोपानी गाउँपालिका वडा नं. १ लिताकोट गाउँबाट यो हप्तामा करिब आधा टन धान बिक्री भइसकेको स्थानीय रामकृष्ण न्यौपानले जानकारी दिनुभयो । आफूसँग भएको केही धान अहिले सुर्खेतमा बिक्री गरेको र अब उत्पादन धानमा जोड दिएको तातोपानी लिताकोट गाउँका किसान गौरीशङ्कर उपाध्यायले बताउनुभयो । marsi dhan
तर योभन्दा पनि कर्णालीको मार्सी धानको माग बढ्न थालेपछि अहिले जुम्ली किसानसमेत उत्पादन वृद्धिमा जुर्मुराएका छन् । किसानहे यस वर्ष लगाएको मार्सी सुरक्षित गर्न गोडमेल सुरु गर्नुका साथै गुणस्तरीय उत्पादन गरी बिक्रीको सोच बनाएका छन् । जुम्लामा जेठको अन्तिमदेखि असारको पहिलो सातामा रोपाइँ सकिन्छ र असारको दोस्रो सातादेखि साउनभर गोडमेल गरिन्छ ।
छुमचौर र सिँजामा वृद्धि :
नेपाली भाषाको उद्गमस्थल सिँजामा पनि मार्सी धान प्रशस्त हुने गर्दछ । यहाँ फल्ने मार्सी धान विशेष गरी राति मार्सी हो । यो मार्सीको चामल निकै रातो हुने गर्दछ । यस वर्ष मार्सीले बजार पायो भन्ने समाचारले यहाँका किसानले धानको वृद्धि गरेका छन् ।
यसैगरी मार्सी उत्पादन हुने सिँजा क्षेत्रका किसानले पनि यो वर्ष निकै चासो लिएका छन्् । यहाँका तीनवटा गाउँपालिका कनकासुन्दरी, सिँजा र हिमाका धान पकेट क्षेत्रमा विगतका वर्षभन्दा बढी नै राति मार्सी रोपिएको देखिन्छ ।
हिमा गाउँपालिका–१ देवारगाउँ ज्युलो, बड्की ज्युलोमा पनि सबैजसो राति मार्सी रोपिएको हिमा गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष वीरबहादुर शाहीले बताउनुभयोे । उहाँले मार्सी धान सभ्यतासँग जोडिएको हुनाले पनि कहिलै लोप हुन नहुने बताउनुभयो ।
विश्वकै अग्लो स्थानमा धान फल्ने स्थान जुम्लामै पर्दछ । जिल्लाको पातारासी गाउँपालिकाको छुमचौरमा पनि यो पटक प्रशस्त मार्सी रोपिएको छ । केही वर्ष रोप्न छोडिएको मार्सी यस वर्ष किसानले फेरि रोपेका छन् ।
‘मार्सी’ जोगाउन अर्गानिक जिल्ला :
जुम्ला नेपालको पहिलो कृषि अर्गानिक घोषित जिल्ला हो । यहाँ उत्पादन हुने सबै कृषि उपज र खाद्यान्नमा विषादी प्रयोग गर्न पाइँदैन तर अर्गानिक जिल्लाको आधार तयार नभएपछि अर्गानिक बाली उत्पादनमा चुनौतीसमेत देखिएको छ । अर्गानिक जिल्ला घोषणापछि मार्सी धानदेखि विभिन्न प्रकारका बाली घट्दैसमेत गइरहेको छ ।
जिल्ला कृषि विकास कार्यालयको पहलमा २०६४ सालमा १४औँ जिल्ला परिषद्बाट जुम्लालाई अर्गानिक जिल्ला घोषणा गरिएको थियो । यसमा पनि यहाँको मुख्य बाली राति मार्सी र काली मार्सी धान विभिन्न प्रकारका विषादीले सखाप पारेपछि जुम्लालाई सुरक्षित अर्गानिक जिल्ला घोषणा गरिएको थियो ।
विषादी प्रयोगले नोक्सान :
निकै पौष्टिक हुने यहाँको मार्सी धान पहिले पहिले जुम्लामा निकै धेरै हुने गर्दथ्यो । जुम्लामा मोेटरबाटो नपुग्दा जुम्लावासीले एक मार्सीको मात्र खेतीलाई प्राथमिकता थियो तर अघिल्लो दशकमा एकातिर ब्लास्ट नामक रोगका कारण धान बिग्रन थालेपछि यो नष्ट भयो ।
त्यसैगरी धानखेतीमा झारपात अत्यावश्यक कीरा मार्ने भन्दै ब्युटाकुलर नामक विषादी प्रयोग गरेपछि धान सखाप भएर उत्पादनमा व्यापक ह्रास भएको थियो । एक भातको खानाका रूपमा रहेको मार्सी उत्पादनमा ठूलो कमी आएपछि सो समयमा अर्गानिक जिल्लाको बहस सुरु भएको थियो ।
तत्कालीन समयमा जुम्लाका मानिसहरू व्यापार गर्न भारततिर जाने र सडक नखुल्दै धानका लागि औषधि भन्दै विषादी बोकेर प्रयोग गरेपछि मार्सी धान उत्पादनमा ह्रास आउनुका साथै खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा समेत समस्या आउने गरेको थियो । यसै कारणले धानसहित यहाँ उत्पादन हुने बालीहरू अर्गानिक हुनुपर्नेमा कृषि विज्ञहरूले सुझाव दिएका कारण जुम्लालाई अर्गानिक जिल्ला घोषणा गरिएको हो ।
जैविक मल कारखानाको माग :
जुम्लालाई अर्गानिक जिल्ला घोषणा गरेपछि यही जैविक मल पर्याप्त उत्पादन हुने पूर्वाधार तयार हुन सकेको छैन । अझै लुकिछिपी विषादी प्रयोग भइरहेको गुनासो आउने गर्दछ । जिल्ला कृषि विकास कार्यालयले व्यापक जनचेतना कार्यक्रम तथा विषादीको नियमन गरेका कारण पछिल्लो समयमा मार्सी धानमा विषादी छरिएको देखिँदैन ।
यसका साथै पछिल्लो समयमा धानसँगै यहाँ उत्पादन हुने स्याउलगायतका बाली पूर्ण रूपमा अर्गानिक उत्पादन हँुदै आएका छन् । जैविक मल जिल्ला कृषि विकास कार्यालयले बाहिरबाट ल्याई खरिद गर्ने विभिन्न प्याकेज कार्यक्रम पनि गरिरहेको थियो तर किसानको जोड जिल्लामै जैविक मलको कारखाना हुनुपर्ने माग रहेको छ ।
मार्सी धान उत्पादनमा भने निकै कठिनाइ भएको छ । संसारकै उचाइमा फल्ने यो धान निकै मिहिनेतका साथ जोगाउनु पर्दछ । यो धान काम अनुसारको अन्य धान बराबर उत्पादनमा कमी आउने भएकाले मार्सी रोप्ने किसान घट्दै गएका छन् ।
मार्सीको इतिहास : 
वि.सं. को १२औँ शताब्दीमा जुम्लाको तातोपानीमा पहिलोपटक यो धान रोपिएको बताइएको छ । कृषि अनुसन्धान केन्द्र जुम्लाका प्रमुख तथा वैज्ञानिक डा. श्रीप्रसाद विष्टले उच्च पहाडी भागमा हुने रैथाने जातको धान नै जुम्ली मार्सी भएको बताउनुभयो ।
उच्च पहाडको हावापानी हुने स्थानीय जातको धान एक हजार आठ सय मिटरभन्दा माथिको भू–भागमा पहाडी भेगमा फल्दछ । उहाँका अनुसार जुम्लासहित कर्णालीको यो उचाइमा मार्सी फल्ने गर्दछ । मार्सी धान संसारको उच्च धान फल्ने भाग छुमचौर (दुई हजार ७९० मिटर) सिँजा उपत्यका, तिला हिमा नदीको छेउमा फल्ने गर्दछ ।
वि.सं. १२औँ शताब्दीमा गुरु चन्दननाथ बाबाले भारतको कास्मिरबाट काली मार्सी धानको बीउ ल्याई तातोपानीको लाक्षु ज्युलामा लछालकृति पैकलालाई तालिम दिई लाछु ज्युलोमा धान खेती विस्तार गरेको इतिहास रहेको स्थानीय तथा तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताउनुभयो । उहाँका अनुसार तातोपानीमा एक सुपा धान हुने अहिले पनि खेत छ, त्यो अहिले पनि एक सुपो धान हुन्छ । पछिल्लो समयमा चन्दननाथ मन्दिरको शेरा ज्युलोमा खेती गर्ने चलन थियो । अहिले पनि मार्सी धानको चामल चन्दननाथ मन्दिरमा सिक दिने प्रचलन छ ।
कालान्तरमा जुम्ली किसानले उत्पादन गरेको मार्सी धानको चामल तत्कालीन राजा रजौटालाई हुलाकबाटै पठाउन थालिएको थियो ।
कसरी उमारिन्छ बीउ :
जुम्ली मार्सीको बीउ राख्दा निश्चित दिनबार नै तोकिएको हुन्छ जुन अहिलेसम्मको प्रचलनमा छ । हरेक वर्ष चैत १२ गते बीउ केलाउने र पानीमा भिजाउने, १६ गते निकालेर टुसा उमार्नका लागि तातो बनाउन ढाकेर राख्ने चलन ।
यसरी टुसा उमारेको बीउ चैत २० गते बीउ ब्याडमा छर्ने चलन छ । सोही दिन मार्सी छरिएकै कारण विसुवा पर्व पनि यहाँ मनाइन्छ । मार्सीका विकल्पमा बढी उत्पादन हुनसक्ने भन्दै कृषि अनुसन्धान केन्द्र जुम्लाले चन्दननाथ १ र ३ धान सुरु गरेको छ ।
मार्सी चामल राणा काल, राजा कालमा पनि सरकार प्रमुखले हुलाकबाटै काठमाडौँ झिकाएर खाने गरेको इतिहास यहाँका बूढापाकाले सुनाउने गरेका छन् ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना