बाँझो पाखामा अलैँची खेती

मधुसुधन तिमल्सिना

काभ्रे, साउन २६ गते । अलैँची खेतीतर्फ जिल्लाका किसानको आकर्षण बढ्दै गएको छ । राम्रो आम्दानी हुन थालेपछि बाँझा रहेका पाखा पखेरोदेखि धान मकै फल्ने खेतबारीमा समेत कृषकले अलैँचीखेती गर्न थालेका छन् ।
पनौती नगरपालिका–१ पर्खालचौरका विदुर सापकोटाले दुई वर्षदेखि अलैँची खेती सुरु गरेको बताउनुभयो । अरूले अलैँची खेती गरेर यसबाट राम्रो आम्दानी निकालेको देखेर नै खेती गर्न सुरुवात गरेको उहाँले बताउनुभयो । लामो समयदेखि साँढे दुई रोपनी क्षेत्रफलमा धान लगाउँदै आउनुभएको उहाँले अहिले त्यही जमिनमा अलैँची लगाएर मनग्य आम्दानी गरेको बताउनुहुन्छ । पहिला यही जमिनमा धान लगाउँदा वार्षिक ४० देखि ५० हजार मात्र आम्दानी गरिन्थ्यो तर अहिले अलैँची लगाउँदा वार्षिक एक लाखदेखि डेढ लाखसम्मको आम्दानी भएको छ । अरू बालीको तुलनामा अलैँचीमा बढी दुःख गर्नु नपर्ने र आम्दानी राम्रो हुने भएपछि धेरै कृषकको रोजाईँ अलैँची हुने गरेको छ । alaichi_1
त्यस्तै पनौती नगरपालिका–१ ¥यालेका उपेन्द्र तिमिल्सनाले विगत १३ वर्षदेखि अलैँची खेती गर्दै आउनुभएको छ । उहाँले अलैँची बिरुवाको नर्सरी पनि सञ्चालन गर्नुभएको छ । उहाँ आफ्नो खेर गइरहेको पाखाबारी र खेतबारीमा बगैँचा बनाएर वार्षिक पाँच लाख अलैँचीका बिरुवा उत्पादन गरेर बिक्री वितरण गर्दै आउनुभएको छ । गाउँमै पहिलोपल्ट अलैँची खेती सुरुवात गर्नुभएको तिमल्सिना अहिले बाहिरी जिल्लामा समेत बिरुवा उत्पादन गरेर बिक्री वितरण गर्दै आएको बताउनुहुन्छ । मैले सामान्य लगानीमा सुरु गरेको अलैँची खेती अहिले दस लाखदेखि १२ लाख रुपियाँसम्म आम्दानी लिन थालेको छु । उहाँका अनुसार बगैँचामा उत्पादित अलैँचीका बिरुवा छिमेकी जिल्ला दोलखा, सिन्धुपाल्चोक, गोरखा, चितवन, नुवाकोटलगायतका जिल्लामा निर्यात हुने गरेका छन् । गुणस्तरीय बिरुवा उत्पादन भएपछि अन्य जिल्लाको माग बढेको उहाँले बताउनुभयो । मिहिनेत र परिश्रम गर्ने हो भने अलैँची खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ । खासै ठूलो लगानी नचाहिने र खासै कुनै उत्पादन लिन नसकिने सेपिलो जमिनमा उत्पादन राम्रो हुने भएकाले धेरैको रोजाईँमा अलैँची खेती हुने गरेको तिमल्सिनाले बताउनुभयो । उहाँहरू मात्र होइन जिल्लाका अधिकांश कृषक धान र मकैले हरियो हुनुपर्ने खेतमा अहिले अलैँचीका हरिया बोट देखिन्छन् । उनीहरू गुणस्तरीय अलैँची उत्पादन गर्नुका साथै अलैँचीमा नै आत्मनिर्भर हुनको लागि घामपानी नभनी खटिरहेका छन् ।
आम्दानी राम्रो भए पनि कृषकहरू यतिबेला समस्यामा छन् । एकातिर अहिले अलैँचीको बजार भाउ राम्रो छैन भने अर्कोतिर गाउँमा कृषि प्राविधिक पुगेका छैनन् । एक वर्ष यता गाउँमा एकपटक पनि कृषि प्राविधिक नपुगेको कृषकहरूको गुनासो छ । हावापानीका हिसाबले अलैँची खेतीको लागि चिसो र ओसिलो ठाउँ निकै राम्रो मानिन्छ । काभ्रेको महेन्द्रज्योति, ¥याले, कुशादेवी, भूमिडाँडा, चलाल, बल्थली, महाँकालचौर, नयाँगाउँ, सिपाली, चौवास, दाप्चा, पोखरीचौरी, गैरीविसौना, च्याम्राङबेसी आदि स्थानमा अलैँची खेती हुँदै आएको छ ।
अलैँची खेतीमा सम्भावना बढेसँगै यस खेतीतर्फ किसानको आकर्षण बढेको छ । जिल्लामा अलैँची खेतीले कुल क्षेत्रफल ११८ हेक्टर ओगटेको भए पनि उत्पादनशील ८१ हेक्टर क्षेत्रफलबाट वार्षिक ७२.९ मेट्रिकटन अलैँची उत्पादन हुने गरेको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना