बीपीको समाजवादमाथि दमन

avaya shrestha   अभय श्रेष्ठ

बीपी कोइरालाको जन्मजयन्ती र स्मृतिमा नेपाली काँग्रेसले बर्सेनि प्रजातान्त्रिक समाजवादको ससम्मान चर्चा गर्छ । त्यसपछि भुसुक्कै बिर्सन्छ । स्वाभाविक हो, ऐनमौकामा उसको सपना र जपनामा आइरहनुहुन्छ ‘महामानव बीपी’ । कुनै समय उहाँ नेपाली जनताका लागि वीर विश्वेश्वरप्रसाद कोइराला । त्यो रूपक अब खासै उच्चारित हुँदैन । सपना र जपनामा जति आए पनि जी.पी. हुँदै सुशील र शेरबहादुर देउवाको नेतृत्वमा बी.पी. र उहाँको सपनामाथि निर्दयतापूर्वक दमन जारी छ ।
प्रजातान्त्रिक समाजवाद
अङ्ग्रेजको चाकरीका भरमा देश लुटिरहेको क्रूर राणाशाहीलाई धुलो चटाउन बी.पी.को नेतृत्वमा काँग्रेसको लडाइँ युगान्तकारी क्रान्ति थियो । यो गौरवमय इतिहासलाई सिँच्न बी.पी.ले प्रजातान्त्रिक समाजवादको सपना देख्नुभएको थियो । उहाँ हरेक नेपालीका घरमा एउटा दुहुनो गाई, एक हल गोरु, गरिखान पुग्ने जमिन, ओषधिमूलो गर्न र सन्तानलाई शिक्षा दिन सक्ने अवस्था होस् भन्ने चाहनुहुन्थ्यो । हलो जोतिरहेको किसानको तस्वीर हेरेर योजना बनाउनू भन्ने उहाँको निर्देशनको अर्थ थियो, नेपाली जनसाधारणको मर्म र हितलाई सर्वोपरी राख्नु ।
बी.पी.को प्रजातान्त्रिक समाजवाद क्रूर पुँजीवादलाई मानवीय अनुहार प्रदान गर्ने प्रयास थियो । चरम पुँजीवाद भन्नुस् वा नवउदारवाद अथवा खुलाबजार अर्थतन्त्रमा धन हुनेलाई स्वर्गको सुख यहीँ प्राप्त हुन्छ । अपराधबाट समेत मुक्ति मिल्छ । कानुनी राज्यमा कानुनतः बाँच्न पाउने अधिकार सबैलाई हुन्छ तर धन नहुनेलाई जीवनको क्रूर रङ्गमञ्चमा बाँच्ने अधिकारसमेत हुँदैन ! पैसा छैन त बाँच र बचाऊ भन्ने मानवीय मन्त्र पुस्तकका पाना र गीत–सङ्गीतमा सीमित हुन्छ । पैसाको अभावमा विगतमा कति होनहारले क्यान्सर, मिर्गौला वा मुटु रोगबाट अकालमै ज्यान गुमाएका छन् । अस्पतालहरू मानवताविहीन विश्वबजारका नाफाखोर साहुजीमा परिणत भइदिन्छन् । स्वास्थ्य क्षेत्रमा मात्र होइन, नाफाखोर साहुजीहरू हाम्रो जीवनका हरेक मोडमा छन् ।
मानवीय गरिमासाथ बाँच्न पाउने जनताको मौलिक हक, शिक्षा, स्वास्थ्य र रोजगारको हक पूरा गर्न राज्यले नै दायित्व लिनुपर्छ भनिएको त्यसै होइन । तब मात्र पुँजीवादलाई मानवीय अनुहार दिन सकिन्छ । यही अभ्यास अहिले नर्वे, डेनमार्क, फिनल्यान्डजस्ता स्कान्डिनेभियन देशहरूमा भइरहेको छ तर नेपालमा के भइरहेको छ ? शक्तिमा हुनेहरू राज्यको खर्चमा विदेशमा महँगो उपचार गराउन पाउँछन् । गरिब जनताले जीवनजल समेत नपाएर ज्यान गुमाउनुपर्छ । गम्भीर रोग लाग्दा त तिनको हालत बताइनसक्नु हुन्छ । क्रूर पुँजीवादको चरित्र नै यही हो । दुई वर्षअघि हेमोडाइलासिस गर्न हप्तामा तीन हजार रुपियाँ जुटाउन नसक्दा दोलखा मालुका मिर्गौला पीडित विजय खड्काले १९ वर्षको रहरलाग्दो उमेरमै अस्पतालको छतबाट हाम फालेर आत्महत्या गर्नुपरेको एउटा त्यस्तै हृदयविदारक घटना थियो ।
गम्भीर प्रकृतिका केही रोगको उपचारमा सरकारले थोरै भए पनि जनसाधारणलाई अनुदान राहत नदिएको होइन । पहिलोपल्ट प्रधानमन्त्री हुँदा के.पी. ओलीको सरकारले मिर्गौला रोगीको निःशुल्क हेमोडाइलासिसको सुविधा दिएर प्रशंसनीय काम गरेकै हो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारका स्वास्थ्यमन्त्री गगन थापाले त्यसभन्दा अगाडि बढेर मिर्गौला प्रत्यारोपण र बाथ मुटु रोगको निःशुल्क उपचारलगायत क्रान्तिकारी निर्णय गरेकै हो । त्यो प्रक्रिया कहाँ पुग्यो ? गरिब जनतालाई थाहा छैन । किनभने तिनले अझै त्यो सुविधा उपभोग गर्न पाएका छैनन् । गरिब जनसाधारण त सामान्य खर्च पनि जुटाउन सक्दैनन् । यसरी फेरि पनि तिनले अकालमै ज्यान गुमाउनुपर्छ ।
बी.पी.ले आफ्नो आदर्श साकार पार्न भरिसक्य प्रयास अवश्य गर्नुभयो । २०१२ सालमा वीरगञ्जमा सम्पन्न काँग्रेसको महाधिवेशनले बी.पी.को प्रजातान्त्रिक समाजवादलाई आधारभूत निर्देशक सिद्धान्त मानेको थियो । २०१५ सालको आमनिर्वाचनमा काँग्रेसले पूर्ण बहुमत पाएपछि २०१६ जेठ १३ गते बी.पी.को नेतृत्वमा नयाँ सरकार गठन भयो । महाधिवेशनले पारित गरेको सिद्धान्त कार्यान्वयन गर्ने प्रारम्भिक प्रयासस्वरूप उसले २०१६ सालमा बिर्ता तथा राजारजौटा उन्मूलन ग¥यो । कर्मचारीको तलब बढायो तर मन्त्रीहरूको घटायो । उसले प्रधानमन्त्रीको तलब २५ सयबाट १५ सय, मन्त्रीको १५ सयबाट एक हजार र सहायक मन्त्रीको १२ सयबाट आठ सयमा झारेको थियो । वनको राष्ट्रियकरण, मोही हक रक्षा, भूमिहीनलाई बसोबासको व्यवस्था, भूमिसुधार, छुवाछूत अन्त्यलगायत सामाजिक आर्थिक परिवर्तनको रेखा को¥यो तर त्यसले आकार लिन नपाउँदै तत्कालीन राजा महेन्द्रले ‘कु’ गरेर देशमा फेरि निरङ्कुश हावा फर्काए ।
बी.पी.को देवत्वकरण
काँग्रेस लोकतन्त्रप्रति ‘सबैभन्दा प्रतिबद्ध’ पार्टी हो । यसकै कारण उसलाई अन्तर्राष्ट्रिय मान्यता र विश्वास प्राप्त छ तर उसका लागि आवधिक निर्वाचन, बहुमतको सरकार, अल्पमतको प्रतिपक्ष रहने संसदीय व्यवस्था, प्रेस स्वतन्त्रता, मानवअधिकारको व्यवस्था नै लोकतन्त्र हो । काँग्रेस गणतन्त्र र सङ्घीयतामा थेगिनसक्नु जनदबाबले मात्र पुगेको हो । आर्थिक क्रान्ति, सामाजिक र सांस्कृतिक परिवर्तनका लागि ऊसँग खास एजेन्डा छैन । बी.पी.को सपनालाई त जी.पी.को नेतृत्व र डा. रामशरण महतको डिजाइनमा २७ वर्षअघि नै वनबास पठाइएको हो । हवाई यातायातजस्ता अर्थतन्त्रका कतिपय क्षेत्र निजी क्षेत्रका लागि खोल्नमा महतले भूमिका खेल्नुभयो । नोक्सानमा गएका र जान लागेका सरकारी संस्थालाई कौडीको मूल्यमा निजीकरण गरिए । विदेशी सहयोगको प्रतिबद्धतालाई आर्थिक नीतिको सफलता मान्ने परिपाटीको सुरुवात पनि उहाँकै नेतृत्वमा भयो । बुझ्नेहरू भन्छन्, आज भारतमाथि नेपालको पूर्ण निर्भरता महतकै नीतिहरूको परिणाम हो ।
तथापि, आज पनि काँग्रेसमा बी.पी. र उहाँको प्रजातान्त्रिक समाजवादको उच्चारण भइरहन्छ । शब्दमा महामानव भनेर बी.पी.लाई ईश्वरजस्तै मानिन्छ । सायद त्यहाँ ईश्वर र उहाँको आदर्र्श अनुशरण गर्नु जरुरी छैन । तिनलाई धूलो चटाए पनि हुन्छ । आलोचना चाहिँ कहीँ कतैबाट हुनुहुँदैन ।
बी.पी.का कतिपय पक्ष आलोच्य नभएका होइनन् । उहाँसँग अपेक्षित राजनीतिक दूरदृष्टि थिएन । उहाँ कम्युनिस्टलाई अछूतजस्तै व्यवहार गर्ने । गणेशराज शर्माद्वारा सम्पादित आत्मकथामा बी.पी.ले कम्युनिस्टप्रति व्यक्त गरेका असहिष्णु शब्द अगणित छन् । पञ्चायतविरुद्ध संयुक्त सङ्घर्ष गर्न पुष्पलाल श्रेष्ठले गरेको प्रस्तावलाई उहाँले सधैँ अस्वीकार गर्नुभयो । उहाँको यस्तो हठलाई खण्डन गरेर अगाडि बढ्न बरु गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई सफल हुनुभयो । फलस्वरूप ०४६ सालमा प्रजातन्त्र पुनःस्थापनाको आन्दोलन सफल भयो । पहिले बी.पी.कै जस्तो हठ गर्ने गिरिजाप्रसादले पनि कम्युनिस्टसँग सहकार्यमा दोस्रो जनआन्दोलनको सफल नेतृत्व गर्नुभयो । गणतन्त्र स्थापना र संविधानसभा चुनाव पनि त्यसबाटै सम्भव भयो । त्यसैलाई सुशील कोइरालाले निरन्तरता दिँदा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भयो । बी.पी.ले त्यो हठ नगरेको भए उहाँकै जीवनकालमा प्रजातन्त्र पुनःस्थापना सम्भव हुने थियो ।
राजनीतिशास्त्री लोकराज बरालका अनुसार राजा महेन्द्रको ‘कु’पछि कति मामलामा बी.पी.ले द्वैध चरित्र देखाउनुभयो । बरालका अनुसार ०१७ सालपछि सुवर्ण शमशेरको पत्रका आधारमा बी.पी. जेलबाट छुट्नुभएको थियो । पत्रमा ‘राजालाई सहयोग गर्ने संविधानको विकास गर्न’ उल्लेख थियो । प्रजातन्त्रवादी भएकैले जेल पर्नुभएका बी.पी. यसरी छुट्नु उहाँको द्वैध चरित्र थियो । जेलबाट छुटेको एक महिनापछि उहाँले फेरि विराटनगरमा ‘जेल जान तयार छु’ भनेर भाषण गर्नुभयो तर पक्राउबाट बच्न बनारस पुग्नुभयो । त्यहाँ सशस्त्र सङ्घर्षदेखि ‘हाइज्याकिङ’को योजना बनाउनुभयो । सन् १९७५ मा भारतमा सिक्किम विलयपछि इन्दिरा गान्धीले सङ्कटकाल लगाउनुभयो । अनि त्यहाँ टिक्न नसकी उहाँ राष्ट्रियता खतरामा प¥यो भन्दै नेपाल आएर भन्नुभयोे, ‘राजासँग मेरो घाँटी जोडिएको छ । ’ बी.पी.ले काँग्रेसले उठाउँदै आएको संविधानसभाको नारा छाडेकै कारण राजाले त्यसलाई लत्याएर आम निर्वाचन गराएका थिए ।
अन्त्यमा
स्वास्थ्य क्षेत्रमा समाजवादी प्रावधान लागू गर्न डा. गोविन्द के.सी.ले गरेको अनशनलाई २७ दिनसम्म राजनीतिकरण गरी आफूलाई समाजवाद पक्षधर देखाउन काँग्रेस सफल भयो । सरकारले के.सी.का माग पूरा गरेसँगै काँग्रेस फेरि बेरोजगार भएको छ । खासमा प्रजातन्त्र पुनःस्थापनापछि समाजवाद काँग्रेसको ध्येयमा कहिल्यै थिएन । होइन भने, उसले प्रजातान्त्रिक समाजवादलाई पनि आत्मसात् गर्नु जरुरी थियो । के.सी.का माग लागू गर्न पछिसम्म उसले दिने साथमै उसको पछिल्लो राजनीतिको असली परीक्षा हुनेछ । होइन, महतको खुला बजार अर्थतन्त्र ठीक हो भने उसले बी.पी.को प्रजातान्त्रिक समाजवाद र के.सी.का एजेन्डा गलत थिए भन्ने आँट गर्नु नै राम्रो हुन्छ ।

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना