बिमस्टेक बिकास कोष बन्ने

राधा चालिसे

काठमाडौँ, साउन २७ गते । बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)ले स्थापना भएको २२ वर्षपछि बिमस्टेक बिकास कोष र बिम्स्टेक पूर्वाधार लगानी बैङ्क स्थापना हुने भएको छ ।
समान लक्ष्य र उद्देश्य भएका क्षेत्रीय र अन्तर्राष्ट्रिय संगठनसँगको सहकार्यमा कोष स्थापना हुनेछ । त्यसका लागि भदौ १२ देखि १५ गतेसम्म नेपालमा बिमस्टेकको चौथो सम्मेलन आयोजना हुँदैछ ।
शनिबार काठमाडौंमा भएको बिम्स्टेकका सदस्य राष्ट्रहरुका उच्चस्तरीय पदाधिकारीहरूको बैठकले सम्मेलनका लागि तयारी गरेको परराष्ट्र सचिब शंकरदास बैरागीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाँले सम्मेलनको तयारीको लागि आयोजित बैठकमा बिमस्टेक सम्मेलनमा भएको समझदारी, सम्झौता र निर्णय ब्यवस्थित तरिकाले अगाडि बढाउन बडापत्र तयार गर्ने सम्बन्धमा पनि छलफल भएको बताउनुभयो ।
बैठकले आगामी सम्मेलनका लागि बंगालको खाडी क्षेत्रको शान्तिपूर्ण, समृद्ध र दिगो विकास भन्ने विषय तय गरेको छ । बैठकले बिमस्टेकको लोगो र झण्डा परिवर्तन गर्ने बारेमा भने कुनै टुङ्गो नलगाएको सचिब वैरागीले बताउनुभयो ।
सम्मेलनको उद्घाटन मन्तव्य नेपालका उच्च पदस्थ अधिकारीले गर्नु हुनेछ भने बिमस्टेकका महासचिबले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । सम्मेलनपछि जारी हुने काठमाडौं घोषणापत्रको मस्यौदाका बारेमा पनि उच्च पदाधिकारीवीच छलफल भएको सचिब बैरागीले जानकारी दिनुभयो ।bimsteck
सम्मेलनमा बिमस्टेकको संस्थागत संरचनालाई थप प्रभाबकारी बनाउने, सचिवालयलाई सुदृढीकरण गर्ने, यसले तय गरेको १४ वटा विषयगत क्षेत्रहरूलाई पुनसंरचना गर्दै युक्तिसंगत बनाउने विषयमा पनि बैठकले छलफल गरेको छ ।
यस अघि सन् २००४ मा बिमस्टेक स्वतन्त्र ब्यापार क्षेत्र सरलीकरण गर्ने सम्बन्धी सम्झौता भएको थियो । त्यस्तै, सन् २००९ मा अन्तर्राष्ट्रिय प्रतिआतङ्कबाद, अन्तर्राष्ट्रिय संगठित अपराध र अवैध लागू औषध तस्करी रोक्ने सम्बन्धी सहकार्य गर्ने विषयमा सहमती भएको थियो ।
अब हुने सम्मेलनमा प्रविधि हस्तान्तरणमा सदस्य राष्ट्रले सहजीकरण गर्ने, सदस्य राष्ट्रहरुबीच विद्युत् प्रशारण लाइनको विस्तार गर्ने, कुटनीतिक प्राज्ञिक तथा तालिमका लागि संस्थागत संरचना निर्माण गर्ने विषयमा छलफल हुनेछ ।
त्यस्तै बिमस्टेकको स्थायी प्रकृतिको कार्यसमिति स्थापना गर्ने, नयाँ सदस्य र पर्यवेक्षकका लागि मापदण्ड तयार गर्ने, विमस्टेक प्रवुद्ध ब्यक्तिहरुको समूहको कार्यादेश तयार गर्ने विषयमा पनि सम्मेलनमा छलफल हुनेछ ।
बिमस्टेकको प्रभावकारिता स्थापित गर्न संगठनको नाम, प्रतिक चिन्ह, झण्डाका बारेमा पनि सम्मेलनमा छलफल हुनेछ । त्यस्तै सदस्य राष्ट्रहरूवीच बिजनेश भिसा योजना ल्याउने, सांस्कृतिक सद्भावनादूतहरू राख्न सकिने, विमस्टेक सासंदहरूको फोरम गठन गर्ने, विश्वविद्यालयवीच सञ्जाल विस्तार गर्ने विषयलाई पनि अगाडि सारिएको छ ।
नेपालले अध्यक्षता गर्ने बिम्स्टेक सम्मेलनमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकहरू भारत, बङ्गलादेश, श्रीलङ्का र भुटानका साथै दक्षिण पूर्वी एसियाली राष्ट्रहरू (आसियान)बाट थाइल्यान्ड र म्यानमारका सरकार प्रमुखहरु, परराष्ट्र मन्त्रीलगायत उच्च पदस्थ अधिकारीहरु नेपाल आउँदै हुनुहुन्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना