छोरी बुहारीलाई गाउँमै उच्च शिक्षा

गाईघाट समाचारदाता

गाईघाट, साउन २७ गते । उदयपुरको रौतामाई गाउँपालिकाका छोरी बुहारी लगायतका सबै विद्यार्थीले अबदेखि उच्च शिक्षा हासिल गर्न घर छाडेर टाढा जानुपर्ने बाध्यता हटेर गएको छ । सो गाउँपालिकाभित्र उच्च शिक्षाको गन्तव्य स्थल बनाउने उद्देश्यले वडा नं. ७ को मुर्कुची बजारस्थित राजाबासमा रौता जनता क्याम्पस सञ्चालनमा आएपछि गाउँका छोरी बुहारीले समेत उच्च शिक्षा हासिल गर्न घर छाड्नुपर्ने बाध्यता हटेर गएको हो ।
अघिल्लो वर्षसम्म गाउँकै माध्यमिक विद्यालयबाट कक्षा १२ सम्मको अध्ययन पूरा गरेर स्नातक तहको अध्ययन गर्न २ घण्टाको सवारी यात्रापछि सदरमुकाम गाईघाट धाउनुपर्ने बाध्यताको यस वर्षबाट अन्त्य भएको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष अम्बरबहादुर रायमाझीले बताउनुभयो ।
स्थानीय स्तरमा क्याम्पस सञ्चालन भएकाले आफ्नै घरमा बसेर सानोतिनो काम गरेरसमेत क्याम्पस जान सकिने भएको छ । विशेषगरी छोरी र बुहारीलाई उच्च शिक्षा अध्ययनका लागि क्याम्पस स्थापना हुनुले ठूलो अवसर मिलेको उहाँकोे भनाइ छ ।
घर छाडेर जाँदा बसाइँको असहज, पारिवारिक कलह लगायतका अनेक समस्या टरेको र हाल सो क्याम्पसमा शिक्षा शास्त्र सङ्काय तर्फका सबै विषयको अध्ययन हुनेगरेको छ । यसका साथै प्राविधिक, व्यावहारिक र रोजगारमूलक शिक्षा विषय ल्याउने तयारीसमेत भइरहेको व्यवस्थापन समितिका अध्यक्ष रायमाझीले बताउनुभयो ।
हाल मुर्कुची माध्यमिक विद्यालयसँगै सञ्चालनमा रहेको क्याम्पसका निम्ति भौतिक संरचना निर्माण गरिँदै गरेको रायमाझीले बताउनुभयो । स्थानीय नवज्योति सामुदायिक वन उपभोक्ता समूहको करिब पाँच बिघा क्षेत्रफलको खाली जग्गामा तीन वर्ष यता विस्तारै निर्माणको कार्य गरिँदै लगिएको अध्यक्ष रायमाझीको भनाइ छ ।
सुरुका वर्षमा आर्थिक स्थिति निकै कमजोर भएकाले चुनौती थपिएको क्याम्पसलाई उदयपुर क्षेत्र नं. २ का तत्कालीन सांसद मञ्जुकुमारी चौधरीले दुई आर्थिक वर्षमा गरी २० लाख रकम संसदीय कोषबाट उपलब्ध गराएपछि अहिले क्याम्पस सञ्चालनमा आर्थिक सहज भएको रौतामाई गाउँपालिकाका प्रमुख गजेन्द्रबहादुर खड्काले बताउनुभयो ।  
स्थानीय शिक्षाप्रेमीको पहल र सक्रियतामा दुईवटा ब्लक (भवन) निर्माण गरिसकिएको यस वर्ष थप अरू भवन निर्माणको काम धमाधम भइरहेको अध्यक्ष रायमाझीले बताउनुभयो । पुरुष र महिलाको छुट्टाछुट्टै प्रयोग गर्ने गरी शौचालय पनि निर्माण गरिसकिएको छ ।
तत्कालीन सांसद चौधरीको २० लाख, शान्ति मन्त्रालयको एक लाख, सडक निर्माणका लागि सहरी विकास तथा भवन निर्माण कार्यालयको चार लाख, खेल मैदान सम्याउन उदयपुर सिमेन्ट उद्योगको निःशुल्क स्काभेटर प्रयोग गरी क्याम्पसको भवन तथा सडक निर्माण गरिएको उहाँले बताउनुभयो ।
शान्त, एकान्त र चारैपट्टि मनोरम प्राकृतिक वातावरणले सजिएको ठाउँमा निर्माण हुँदै गरेको क्याम्पसको संरचना निर्माण कार्य पूरा भएपछि आफ्नै भवनमा सारेर सञ्चालन गरिने बताइएको छ । जुन उच्च शिक्षाको गन्तव्यस्थल बन्ने विश्वास स्थानीयवासीले लिएका छन् । क्याम्पसलाई विशेष गरी पहिलो प्रशासनिक, दोस्रो खेल मैदान र तेस्रो स्टेपमा छात्रावास रहने परिकल्पना गरेर योजना अगाडि बढाइएको अध्यक्ष रायमाझीले बताउनुभयो ।
भविष्यका कर्णधार उत्पादन हुने थलोको विकासका लागि राजनीति पूर्वाग्रह नराखी सबै पक्षलाई समेटेर अगाडि बढ्ने भन्दै अध्यक्ष रायमाझीले– यो राजनीतिक गर्ने थलो होइन भविष्यका कर्णधार निर्माण गर्ने थलो भएकाले विकास निर्माणमा सबै पक्षको सहयोगको खाँचो रहेको बताउनुभयो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना