पेट्रोलियम आयात : परिमाण वृद्धिभन्दा आयात मूल्य दोब्बर

लक्ष्मण दर्नाल

काठमाडौँ, साउन २८ गते । पेट्रोलियम पदार्थको आयात प्रतिशत वृद्धिको तुलनामा आयात गर्दाको मूल्य भने दोब्बरभन्दा बढी हुने गरेको छ । पेट्रोलियम पदार्थको आयात वार्षिक २० प्रतिशतका दरले बढ्दा आयात गर्दाको रकम भने वार्षिक ४८ प्रतिशतका दरले बढेको छ ।  निगमका अनुसार आर्थिक वर्ष २०७४/७५ मा १६० अर्बको पेट्रोलियम पदार्थ आयात गरिएको छ । आगामी पाँच वर्षमा यो परिणाम दोब्बरले बढ्ने निश्चित छ । २०७३/७४मा १०८ अर्ब रुपियाँको पेट्रोलियम पदार्थ आयात गरिएको थियो ।
निगमका प्रवक्ता वीरेन्द्र गोइतले भन्नुभयो, हरेक वर्ष एभरेजमा २० प्रतिशतका दरले आयात बढिरहेको छ र हरेक पाँच वर्षको तथ्याङ्क हेर्दा दोब्बर भएको छ । उहाँका अनुसार पाँच वर्षअघि महिनामा ७० हजार किलोलिटर डिजल ल्याउँदा हुन्थ्यो अहिले एक लाख ६० हजार किलोलिटर ल्याउनुपरेको छ अरुमा पनि यसरी नै बढेको छ । petroliam
पेट्रोलियम पदार्थको आयात तथा कारोबार वृद्धि भएपछि चालू आर्थिक वर्षमा विगतभन्दा २० प्रतिशतले नै बढी राजस्व पनि निगमले बुझाएको छ । आर्थिक वर्ष २०७४÷७५ मा ५५ अर्ब रुपियाँ राजस्व बुझाएको छ भने अघिल्लो वर्ष ४७ अर्ब रुपियाँ बुझाएको थियो । निगमले भारतीय आयल कर्पोरेसनसँग पेट्रोलियम पदार्थ खरिद गरी बिक्री गरेबापतको राजस्व बुझाएको हो ।
गत वर्षको तुलनामा यस वर्ष आठ अर्ब रुपियाँ बढी राजस्व बुझाएको छ । निगमले आर्थिक वर्ष २०७१÷७२ मा २६ अर्ब ६६ करोड, २०७२÷७३ मा २३ अर्ब ५४ करोड र २०७३÷७४ मा ४७ अर्ब रुपियाँ राजस्व बुझाएको छ । आर्थिक वर्ष २०७१÷७२ को तुलनामा २०७२÷७३ मा झण्डै साढे तीन अर्ब रुपियाँ राजस्व घटेको थियो । यो अवधिमा भारतको नाकाबन्दी भएको थियो तर त्यसपछि भने पेट्रोलियम पदार्थको कारोबार निरन्तर वृद्धि भइरहेको छ ।
पेट्रोलियम पदार्थको कारोबार बढेसँगै निगमले विभिन्न शीर्षकमा उठाउँदै आएको राजस्वको पनि वृद्धि भएको छ । निगमले सडक मर्मत, वातावरण प्रदूषण, पूर्वाधार विकास लगायतका शुल्क उठाउँदैआएको छ । चालू आर्थिक वर्षमा सडक मर्मत शुल्क वापत पाँच अर्ब १० करोड ५६ लाख रुपियाँ उठाएको छ । त्यस्तै वातावरण प्रदूषण शुल्क एक अर्ब ३२ करोड रुपियाँ सङ्कलन गरेको छ ।
बूढीगण्डकी आयोजना निर्माणका लागि २२ अर्ब रुपियाँ सङ्कलन भएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षसम्म बूढीगण्डकी जलविद्युत् आयोजना भनेर राजस्व सङ्कलन गरिए पनि अहिले भने पूर्वाधार विकास भनेर सङ्कलन गरिएको छ ।
हाल पूर्वाधार विकासमा पेट्रोल डिजल र हवाई इन्धनबाट प्रतिलिटर पाँच रुपियाँ सङ्कलन गरिएको छ । प्रदूषण शुल्क वापत पेट्रोल र डिजेलमा प्रतिलिटर ५० पैसाका दरले सङ्कलन गरिएको निगमले जनाएको छ । प्रवक्ता गोइतले विकासले गति लिएपछि इन्धनको खपत बढ्दा यो क्रम अझै बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना