अठार अर्बभन्दा बढीको बिजुली आयात


लक्ष्मीप्रसाद उपाध्याय

काठमाडौँ, भदौ १ गते । आन्तरिक खपतका लागि नेपाल विद्युत् प्राधिकरणले गत वर्ष भारतबाट १८ अर्ब रुपियाँभन्दा बढीको बिजुली आयात गरेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार लोडसेडिङको समस्या समाधान गर्न भारतबाट यति ठूलो मात्रामा बिजुली आयात गर्नु परेको हो ।
प्राधिकरणले विहार, उत्तर प्रदेशबाट र थोरै मात्रामा उत्तराखण्डबाट बिजुली आयात गर्ने गरेको छ । भारतबाट द्विदेशीय सम्झौताबाट पनि नेपालले निःशुल्क बिजुली पाउने गरेको छ ।
प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार गत असार मसान्तसम्ममा भारतबाट १८ अर्ब ३७ करोड रुपियाँको बिजुली आयात गरिएको छ । अघिल्ला वर्षभन्दा यो परिमाण १८.७ प्रतिशतले बढी आयात भएको हो । महाकाली सन्धि अनुसार नेपाल सरकारले पाउने वार्षिक सात करोड युनिटलाई पनि प्राधिकरणले सरकारसँग खरिद गर्ने गरेको छ । नेपाल सरकारसँग प्राधिकरणले प्रतियुनिट ४.७५ पैसाका दरले खरिद गर्ने गरेको प्रवक्ता अधिकारीले बताउनुभयो ।
अघिल्लो वर्ष भारतबाट १६ अर्ब रुपियाँ जतिको बिजुली आयात गरिएको थियो, जुन बेला दैनिक चारदेखि छ घण्टासम्म लोडसेडिङ हुने गरेको थियो । लोडसेडिङ व्यवस्थापन गर्न आन्तरिक उत्पादनले नहुने भएर भारतबाट आयात गर्नुपरेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । उहाँले भन्नुभयो, भारतबाट ल्याउनु हाम्रो बाध्यता हो, माग अनुसार आन्तरिक उत्पादन नभएपछि भारतबाट ल्याउनु परेको हो । भारतले मूल्य वृद्धि गर्ने प्रस्ताव ल्याएको थियो, हामीले त्यसलाई स्वीकार गरेका छैनौँ । trans
भारतले आफ्नो देशभित्रका एउटा राज्यले अर्काे राज्यलाई बिक्री गरेको मूल्यभन्दा पनि नेपाललाई सस्तो दिएको दाबी प्राधिकरणको छ ।
गत वर्ष सात रुपियाँ ४७ पैसाका दरले दुई अर्ब ५८ करोड युनिट बिजुली नेपालले आयात गरेको छ । अघिल्लो वर्ष भने दुई अर्ब १७ करोड युनिट बिजुली आयात गरिएको प्राधिकरणले जनाएको छ ।
नेपालले विशेष गरेर हिउँदे याममा भारतबाट बिजुली आयात गर्ने गरेको छ । यो गत वर्षबाट सुख्खायाममा विभिन्न नाकाबाट पाँच सय मेगावाट बिजुली आयात गरिएको छ । बर्खा लागेपछि भने प्राधिकरणले आयातको मात्रा कम गर्ने गरेको छ ।
यो हिउँदमा ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाले उत्पादन दिएपछि भारतबाट आयातको मात्रा केही कम भएको हो । कुलेखानी तेस्रो निर्धारित समयमै आएको भए, भारतबाट अझ कम आयात गर्न पथ्र्याे होला तर यो आयोजना आउने छाँटकाँट देखिएको छैन ।
आगामी वर्ष ४५६ मेगावाटको माथिल्लो तामाकोसीले उत्पादन दिन थालेपछि हिउँदका समयमा केही मात्रामा भारतबाट बिजुली आयात गर्नुपरे पनि बर्खाका बेला भने आयात गर्न नपर्ने स्थितिको आँकलन प्राधिकरणले गरेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, आउँदो वर्षमा निजी क्षेत्रका केही साना जलविद्युत् आयोजना पनि सम्पन्न भएमा हिउँदमा पनि त्यति लोड व्यवस्थापनको समस्या पर्ने देखिँदैन ।
पन्ध्र प्रतिशत वैकल्पिक ऊर्जाका आयोजना
सरकारले जडित क्षमताको कम्तीमा १५ प्रतिशत जलविद्युत्बाहेकका अन्य वैकल्पिक ऊर्जाका आयोजना विकास गर्ने लक्ष्य लिएको छ ।
जलविद्युत्बाहेक अन्य वैकल्पिक ऊर्जाको विकासका लागि सरकारले सौर्य ऊर्जाका सम्भावित क्षेत्रमा निजी क्षेत्रलाई आकर्षित गर्ने योजना बनाएको छ । यसैबीच विद्युत् विकास विभागले २०० मेगावाट सौर्य उत्पादन गर्नका लागि विभिन्न कम्पनीलाई अध्ययन अनुमति दिएको जनाएको छ ।
विभागका अनुसार सुनसरी, रूपन्देही, कैलाली, दाङ, धनुषा, मोरङ, नुवाकोट, नवलपरासी, सिराह, मकवानपुर, धादिङलगायतका जिल्लामा सौर्य ऊर्जाका लागि अध्ययन अनुमति दिइएको विभागले जनाएको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना