नेकपाको भ्रातृ सङ्गठन एकता लम्बिँदै

सुरेशकुमार यादव

काठमाडौँ भदौं २ गते । तत्कालीन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भए पनि त्यसका भ्रातृ संगठन, मोर्चा, विभाग, जिल्ला, स्थानीय, नगर र प्रदेश समिति बीचको एकता अझै टुङ्गो लागेको छैन ।मोर्चा, विभाग तथा तल्ला समितिबीच एकीकरण गर्नका लागि गठन भएको कार्यदलको म्याद सकिसकेको छ तर एकताको टुङ्गो भने अझै लागेको छैन । तत्लो तहका कमिटी र जनवर्गीय संगठनको एकताका लागि ३० वटा भन्दा बढी कार्यदल गठन गरिएको छ । Nepal-Communist-Party
नेकपाका स्थायी समिति सदस्य वेदुराम भुसालले भन्नुभयो, ‘म्याद सकिए पनि दुईचार दिन तलमाथि हुनसक्छ । त्यसमा केही फरक पर्दैन प्रतिवेदनहरू आउँदैछन् सायद अब चाँडै टुङ्गो लाग्न सक्छ ।’
जेठ ६ गते बसेको नेकपाको सचिवालय बैठकले तीन महिनाभित्र सम्पूर्ण भ्रातृ संगठन तथा तल्ला कमिटीहरूको बीचमा चाँडै टुङ्गो लगाउने निर्णय भएको थियो । साउनको अन्तिम साता बसेको पार्टी सचिवालयको बैठकले साउनभित्र सम्पूर्ण कार्यदलले आआफ्नो प्रतिवेदन बुझाउने र भदौं ५ गतेभित्र सम्पूर्ण एकता प्रक्रियाको टुङ्गो लगाउने निर्णय गरेको थियो । र, सो निर्णयको बारेमा सम्पूर्ण कार्यदललाई जानकारी पनि पठाइएको थियो ।
नेकपा पार्टी कार्यालय धुम्वाराही स्रोतका अनुसार हालसम्म कर्णाली प्रदेश र प्रदेश ५ ले मात्र प्रतिवेदन बुझाएका छन् । प्रदेश ५ मा २०३ सदस्यीय प्रदेश समिति रहनेछ । समितिमा तत्कालीन एमालेका १०६ र तत्कालीन माओवादी केन्द्रका ९७ जना रहने छन् । कर्णाली प्रदेशमा १७५ सदस्यीय समिति रहनेछ । जसमा तत्कालीन एमालेबाट ८७ जना र तत्कालिन माओवादी केन्द्रबाट ८८ जना रहने छन् । यो प्रदेशमा १० जिल्ला रहेका छन् ।
कतिपय प्रदेश तथा जिल्लामा नेतृत्वमा विवाद देखिएको छ । विवादका कारण प्रतिवेदनमा ढिलाइ भइरहेको कार्यदलका एक सदस्यले जानकारी दिनुभयो । लगभग धेरै कुराको टुङ्गो लागिसकेको छ तर कतिपय ठाउँमा नेतृत्वमै विवाद देखिएको छ ।
प्रदेश २ को हालसम्म बैठक पनि बसेको छैन । कार्यदलका नेतृत्व गर्नुभएका दुईजना मातृकाप्रसाद यादव र रघुवीर महासेठ मन्त्री भएका कारणले बैठक बस्न सकिरहेको छैन । कार्यदलका सदस्य रामकुमार शर्माले भन्नुभयो, ‘कार्यदल गठन भएदेखि यता बैठक पनि बसेको छैन तर अब बैठक बसेर चाँडै टुङ्गो लगाउँछौं ।’
प्रदेश ७ को प्रतिवेदनमा टुङ्गो लागेको छ । प्रदेश ७ का कार्यदल अनुसार प्रदेश समितिमा १८३ सदस्य रहेका छन् । जसमा तत्कालीन एमालेबाट एक सय र तत्कालीन माओवादी केन्द्रबाट ८३ जना सदस्य रहनेका छन् । यो प्रदेशमा नौवटा जिल्ला रहेका छन् ।
प्रदेश १ मा प्रदेशको नेतृत्व तत्कालीन एमालले गर्ने लगभग सहमति भएको छ । तर, अन्य विषयमा टुङ्गो लागेको छैन । जुन पार्टीले अध्यक्ष पाउँछ, त्यसमा अर्को पार्टीले सचिव पाउने प्रावधान रहेको छ ।
प्रदेश ३ को प्रतिवेदनमा लगभग टुङ्गो लागेको स्रोतले जनाएको छ । आइतबारसम्म प्रतिवेदन बुझाउने तयारी भइरहेको छ । प्रदेश ३ मा २१७ सदस्यीय प्रदेश कमिटी रहने छ । प्रदेश समितिमा टुङ्गो लागे पनि कतिपय जिल्लामा विवाद रहेको बताइएको छ । प्रदेश ४ को सबै जिल्लाको संख्यामा बाँडफाँड भइसकेको छ तर नेतृत्व टुङ्गिन बाँकी रहेको पार्टी स्रोतले जनाएको छ । यो प्रदेशमा ११ वटा जिल्ला रहेका छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना