भेडा पाल्न चरन क्षेत्र अभाव

चन्द्र पन्दाक

ताप्लेजुङ, भदौ ३ गते । ताप्लेजुङका युवा भेडापालन व्यवसायमा जुटेका छन् । हराउँदै गएको परम्परागत व्यवसायलाई कायम राख्न भन्दै यहाँका युवा भेडापालन व्यवसायमा जुटेका हुन् । पछिल्लो समय चरन क्षेत्रको अभावका कारण भेडापालन व्यवसाय सङ्कटमा पर्दै गएको छ ।
चरन क्षेत्रको अभावले भेडापालन व्यवसाय हराउँदै गएसँगै पुख्र्यौली पेसा नै लोप हुने अवस्थामा पुगेकाले पुख्र्यौली व्यवसायको संरक्षण गर्ने उद्देश्यले भेडापालन सुरु गरेको फुङ्लिङ नगरपालिका–११ फावाखोलाका स्थानीय युवा कमल विष्टले बताउनुभयो । पुख्र्यौली पेसाको संरक्षणसँगै राम्रो आम्दानी हुने भएकाले आफ्नै दाजु गोपाल विष्टसँग मिलेर भेडापालन व्यवसाय सुरु गरेको विष्टको भनाइ छ ।
विष्टले गएको हिउँद सिजनदेखि १५० वटा भेडा खरिद गरी व्यवसाय सुरु गरेको जानकारी दिनुभयो । व्यवसाय सुरु गरेसँगै आम्दानी राम्रै हुँदै आएको उहाँले बताउनुभयो । उहाँका अनुसार भेडाका बलेख्रा(पाठा) बिक्री गरेर सबैभन्दा बढी आम्दानी हुने गरेको छ । बलेख्रा जन्मेको एक महिनापछि प्रतिगोटा नौ हजार रुपियाँसम्ममा बिक्री हुने गरेको उहाँले बताउनुभयो । charan
यस्तै भेडाको घ्यू र ऊनबाट राम्रै आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ । घ्यू प्रतिकेजी चार हजार रुपियाँ र ऊन प्रतिधार्नी पाँच सय रुपियाँमा बिक्री हुने गरेको छ । हिजोआज भेडाको घ्यूको माग उच्च छ । औषधिका रूपमा घ्यूको प्रयोग गरिने भएकाले माग बढी रहेको उहाँको भनाइ छ । उहाँका अनुसार डढेको घाउमा घ्यू लगाउँदा दाग नबस्ने, अन्य घाउ÷चोट लागिहालेमा घ्यू लगाउँदा छिटो निको हुने गर्दछ । अनुहारमा निस्कने डण्डिफोरको दागजस्ता समस्या हटाउनमा भेडाको घ्यू प्रभावकारी हुने पाइएपछि पछिल्लो समय ब्युटिपार्लरहरूमा समेत घ्यूको माग हुन थालेको उहाँले बताउनुभयो । औषधिजन्य उपयोगका लागि भेडाको घ्यू जति पूरानो भयो, उतिनै राम्रो हुने पनि उहाँको भनाइ छ ।
भेडापालन व्यवसायमा एकाघरका विष्ट दाजुभाइ मात्र नभई फावाखोलाकै स्थानीय पूर्णबहादुर विष्ट, ठाकुरसिंह विष्ट, कुलबहादुर विष्ट र चतुरमान इजम (लिम्बू) व्यवसायमा संलग्न हुनुहुन्छ । पाथीभरा याङ्वरक गाउँपालिका–२ थेचम्बूका कर्ण कटुवालले भेडापालन व्यवसाय गर्दै आउनुभएको छ । यता भेडापालन व्यवसाय अँगाल्नलाई केही चुनौती रहे पनि पुख्र्यौली पेसाको संरक्षणसँगै आम्दानीको माध्यमका रूपमा लिएको व्यवसायीहरू बताउँछन् । वैदेशिक रोजगारमा जाने युवालाई स्वदेशमै कुनै न कुनै व्यवसाय अँगालेर स्वरोजगार बन्न सकिन्छ भन्ने सन्देश दिनलाई पनि भेडापालन व्यवसाय सुरु गरेको उहाँहरूको भनाइ छ ।
केही वर्ष अघिसम्म ताप्लेजुङमा भेडापालक किसानको सङ्ख्या उल्लेख्य रहेको थियो । पछिल्लो समय चरन क्षेत्रको अभाव खड्किएको भन्दै भेडापालक किसानले व्यवसाय छाड्दै गएका हुन् । चरन क्षेत्रकै कारण भेडापालन व्यवसायमा भविष्य नदेखेपछि व्यवसायबाट पलायन हुनुपरेको कतिपय किसानको भनाइ छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना