सामुदायिक वनबाट वार्षिक दस अर्ब आम्दानी

लक्ष्मीप्रसाद उपाध्याय

काठमाडौँ, भदौ ४ गते । सामुदायिक वनबाट बर्सेनि दस अर्ब रुपियाँ बराबरको आम्दानी हुने गरेको छ । तीसको दशकबाट नेपालमा सुरु भएको नेपालको सामुदायिक वन संरक्षणको पद्धति मौलिक मानिन्छ र संसारका अरू देशले पनि यसको अनुशरण गर्ने गरेका छन् ।
सामुदायिक वनबाट आर्जन हुने रकम वनहरूबाट नै खर्च हुने गरेको छ तर त्यसको कार्ययोजना भने सम्बन्धित जिल्ला वन कार्यालयले स्वीकृत गर्नुपर्ने प्रावधान छ ।
आम्दानीको ४० प्रतिशत अर्थात् चार अर्ब रुपियाँ स्थानीय भौतिक पूर्वाधार, ३५ प्रतिशत अर्थात् तीन अर्ब ५० करोड रुपियाँ गरिबी निवारणका कार्यक्रम र २५ प्रतिशत अर्थात् दुई अर्ब ५० करोड रुपियाँ वन विकासमा लगानी गर्ने प्रावधान अनुसार खर्च गरिने गरिएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । forest_1
स्थानीय तहमा गाउँपालिका तथा नगरपालिकाले बजेट विनियोजन गर्न नसकेको क्षेत्रमा पुल पुलेसा, कल्भर्ट, बाटोघाटो, खानेपानी, सिँचाइ आयोजना, लघु जलविद्युत्, सोलार पम्प, विद्यालय निर्माण, सामुदायिक भवन निर्माणलगायतका भौतिक पूर्वाधार क्षेत्रमा खर्च गर्ने गरिएको छ । जीविकोपार्जनतर्फ दुग्ध, कृषि तथा पशुपालन सहकारी सञ्चालन, माछा पालन, मौरीपालन, भेडा, बाख्रापालन तथा पसल व्यवसाय सञ्चालनका लागि अनुदान तथा ऋण प्रदान गर्ने गरेको छ ।
वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीका अनुसार स्थानीय तहमा रोजगारी सिर्जना गर्नमा पनि सामुदायिक वनको महìवपूर्ण भूमिका हुने गरेको छ । हाल नेपालमा २२ हजार २६६ सामुदायिक वन हस्तान्तरण गरिएका छन् ।
तर कुल गार्हस्थ उत्पादनमा वन क्षेत्रको मात्र गणना गर्ने गरिएको छैन । संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनको एक अध्ययन अनुसार कुल गार्हस्थ उत्पादनमा कृषि र वन क्षेत्रको योगदान ३९ प्रतिशत रहेको छ । सचिव डा. ओलीले यस हिसाबले हेर्दा कुल गार्हस्थ उत्पादनमा वन क्षेत्रको योगदान निकै माथि रहेको दाबी गर्नुभयो ।
वन तथा भूसंरक्षण विभागका महानिर्देशक डा. रामप्रसाद लम्सालका अनुसार हाल हस्तान्तरण गरिएका सामुदायिक वनबाट कम्तीमा १२ हजार व्यक्तिलाई पूर्ण रोजगारी उपलब्ध भएको छ भने वैज्ञानिक वन व्यवस्थापन, वृक्ष उत्पादन तथा वृक्षरोपण, वन पैदावारमा आधारित उद्यममा गरी देशभरिमा कम्तीमा ६० हजार व्यक्तिले रोजगारी पाएका छन् । हाल ४० जिल्लाका २८५ सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन लागू भइरहेको छ ।
ती सामुदायिक वनको कुल ४५ हजार हेक्टर जमिनमा वैज्ञानिव वन व्यवस्थापनको कार्य भइरहँदा प्रतिहेक्टर ४० जनाको दरले रोजगारी सिर्जना हुने गरेको तथ्याङ्क विभागसँग रहेको छ ।
त्यसैगरी सामुदायिक वनलगायतका क्षेत्रबाट गत वर्ष एक करोड ५५ लाख ५८ हजार १७१ किलो जडीबुटी सङ्कलन भएको छ । सामुदायिक वनभित्र अलैँची, अम्रिसो, जटामसी, टिमुर, बेसारलगायतका व्यावसायिक प्रयोजनका जडीबुटीको खेती गरेर जीविकोपार्जनका गतिविधि सञ्चालन भइरहेको छ ।
नेपालका सामुदायिक वनले ५९ हजार मेट्रिक टन कार्बन सञ्चिति गरेका छन् । रेड कार्यान्वायन केन्द्रका पूर्वप्रमुख डा. सिन्धुप्रसाद ढुङ्गानाका अनुसार आगामी दस वर्षभित्र तीन करोड ४० लाख मेट्रिक टन कार्बन नेपालका वन क्षेत्रमा सञ्चिति गर्ने लक्ष्य राखिएको छ । यो कार्बन सञ्चितिको मात्रालाई कार्बनका व्यापारका रूपमा नेपालले बेच्ने कार्ययोजना बनाएको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना