गढवा आधुनिक सहर बन्दै

देउखुरी समाचारदाता

देउखुरी, भदौ ६ गते । दाङको गढवा गाउँपालिकालाई आधुनिक व्यवस्थित सहर बनाउने उद्देश्यका साथ गुरुयोजना निर्माण सुरु गरिएको छ । सहरी विकास मन्त्रालयवाट देशभरका १५ वटा तराई मधेस हुलाकी लोकमार्गअन्तर्गत पर्ने सहरलाई आधुनिक सहर निर्माण कार्यक्रममा गढवा गाउँपालिका पनि छनोटमा परेको छ । सोही कार्यक्रम अनुसार सहरी विकास मन्त्रालयकै पहलमा एकीकृत ग्रामीण विकास योजनाको काम सुरु भएको हो । आधुनिक सहर निर्माणका लागि मन्त्रालयबाटै आफूहरूको गाउँपालिका छनोट परेको भन्दै स्थानीय खुसी भएका छन् । गढवा उद्योग वाणिज्य सङ्घका अध्यक्ष रवि आचार्यले सरकारले गढवा गाउँपालिकालाई आधुनिक सहर निर्माणका लागि छनोट गरेकोमा खुसी व्यक्त गर्नुभयो । यस्तै जनता मावि गढवाका प्रधानाध्यापक रामसुरत यादवले आधुनिक सहर निर्माण कार्यबाट गाउँपालिकामा शिक्षा क्षेत्रमा धेरै परिवर्तन हुने विश्वास व्यक्त गर्नुभयो । गढवा गाउँपालिका अध्यक्ष सहजराम यादवले गढवा गाउँपालिकलाई आधुनिक सहर निर्माणमा छनोट गरेकोमा सरकारलाई धन्यवाद दिनुभयो ।
गढवा गाउँपालिकाको कोइलावास नाका व्यवस्थापन गरे मात्रै धेरै राजस्व सङ्कलन गर्न सकिने सम्भावना रहेको उहाँले बताउनुभयो । वडा नम्बर ६ नयाँ सहर बनाउने कार्य सुरु भइसकेको जानकरी दिँदै यादवले सबैको सहयोगबाट सबै विषयवस्तुलाई गुरुयोजनामा समेटेर क्रमशः काम गर्दै जाने जानकरी दिनुभयो ।
यसैबीच कार्ड एडीसी एन्ड डीभीसी जेभी नामक संस्थाले गाउँपालिकालाई आधुनिक सहर निर्माण गर्न बृहत् गुरुयोजनाको अभिमुखीकरण गरेको छ । गाउँपालिकाका सरोकारवाला निकायको सहभागितामा आधुनिक सहरको नमुना र गुरुयोजनामा समेट्नुपर्ने योजनाका बारेमा जानकारी दिने उद्देश्यका साथ अभिमुखीकरण कार्यक्रम गरेको हो । चारवटा योजनाको सम्भाव्यता अध्यन गरी दुईवटा मुख्य योजनाको डीपीआर निर्माण गरिने सहरी योजनाविद् मिता सुवालले जानकारी दिनुभयो । एकमहिनाको अवधिमा स्थलगत प्रतिवेदन दुई महिनामा मस्यौदा प्रतिवेदन गरी थप दुई महिनापछि अन्तिम प्रतिवेदन तयार गरी बुझाउने सहरी योजनाविद्
सुवालले बताउनुभयो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना