नाकमा ठोक्किएको राजनीति

devraj gurungदेवराज गुरूङ

नाक मानव शरीरको एक महत्त्वपूर्ण अङ्ग हो जसले सुँघ्ने र सास फेर्ने काम गर्दछ । यसले अनुहारमा सौन्दर्य पनि थप्छ । नाकको बनावट मानवैपिच्छे फरक हुनु कुनै नौलो कुरा होइन । अर्काेतर्फ सामान्य भाषामा राजनीति भन्नाले राज्यको मूल नीति भन्ने बुझिन्छ । राजनीति भनेको दर्शन र विचार हो । नाक र राजनीतिको सम्बन्ध कुनै पनि दृष्टिकोणबाट निकट छैन । कताको नाक कताको राजनीति ? तर पछिल्लो समय नेपाली राजनीतिमा नाक र राजनीतिको सम्बन्धलाई अनौठौ तरिकाले जोडिएको या जोडाइएको छ । विशेष गरेर आफूलाई राजनीतिका अगुवा ठान्नेहरूले राजनीतिलाई शरीरको अबोध अङ्ग नाकसम्म ठोक्याउन पुगेका छन् । केही मानिसहरू पछिल्लो समय विशेषतः देशमा गणतन्त्रको स्थापना पश्चात् नाकको राजनीति गर्न पल्केका छन् ।
विशेष गरेर नेपालमा दुई खाले नश्लका मानिस छन्– आर्यन नश्ल र मङ्गोल । यी दुई नश्लका शरीरको बनावट पनि केही मात्रामा फरक छ । सामान्यतः आर्यनहरूको नाकको आकार चुच्चो र लामो हुने गर्दछ भने मङ्गोलहरूको थेप्चो र छोटो । तर नाक जस्तो भए पनि काम एउटै हो । २१ औं शताब्दमा नश्ल, नाक छोटोे, लामो, थेप्चो र चुच्चो हुनुले खास महìव राख्दैन । महìव त्यसले राख्दछ, जसको सोच, विचार, दर्शन, भावना अब्बल हुने गर्दछ ।
देशमा गणतन्त्रको स्थापना भएको पनि दशक पुगिसक्यो । तर जनता देशको राजनीतिप्रति तदर्थवादी नै छन् । भलै स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनपछि बनेको स्थायी सरकारप्रति भने जनता केही आशावादी पक्कै छन् । केन्द्रदेखि स्थानीय तहसम्मका तीन सरकारले जनताका एजेण्डालाई कति स्थापित गर्न सक्छन् त्यो भने हेर्न बाँकी छ । हरेक राजनीतिक व्यवस्था वा सरकार परिवर्तन पश्चात् आर्थिक समृद्धिको कुरा निकै गरियो । तर सरकारका योजना, राजनीतिक दलका सिद्धान्त र तिनका घोषणपत्रका अधिकांश योजना कागजमा मात्रै सीमित बन्न पुगे ।
यही अवस्थालाई उपयोग गर्ने नियतमा देशमा एकथरी मानिस नाकको राजनीति गर्न पल्किए । देशको सङ्क्रमणकालीन अवस्थामा तिनले आफू अनुकूल नाक र त्यसकै आधारको पहिचानलाई भ¥याङ बनाए । एक हिसाबले उनीहरू नाकको राजनीतिमा सफल समेत बने । नाक भनेको पहिचान हो भन्दै कराउँदै समेत हिँड्न पछि परेनन् । सदिँयौदेखि मिलेर बसेको देशमा गणतन्त्रको स्थापना पश्चात् पहिचान र परिवर्तनको सन्दर्भमा नाक जोडिनुले नेपाली राजनीतिको खिल्ली मात्रै उडाइएन, राजनीतिक अस्थिरता समेत थप्यो ।
विडम्बना ! राजनीतिका लागि नाकको समेत प्रयोग गरियो । सदियौदेखि विविध जातजाति, भाषा, धर्म, संस्कार र संस्कृति रहेको मुलुकमा परिवर्तन र पहिचानको नाममा नाक जोडिए । नाक लामो हुनेले थेप्चेको पहिचान खोेसे भन्दै हिँड्न पनि पछि परेनन् । खासमा, आफूलाई पहिचानवादीको अगुवा ठान्नेहरूले एक दशकसम्म पहिचानको परिभाषा र व्याख्या नै बुझ्न सकेनन् । आफ्नो समुदायलाई बुझाउने कुरा त झन् टाढाको कुरा । पहिचानवादी अगुवाहरूको सोचमा पहिचान भनेको नश्ल हो भन्ने बुझाइ नै सबैभन्दा गलत साबित हुनपुग्यो । कथित पहिचानवादी अगुवाहरू आफ्नो विचार बोक्ने पार्टी सत्तामा हँुदा हात बाँधेर बसेको पनि देखियो । पार्टी सत्ताबाट निस्किएपछि फेरि नाक देखाउँदै राजनीति गर्न थाले ।
देशमा गणतन्त्रको स्थापना पश्चात् सबै जातजातिका मानिसलाई राज्यको मूलधारमा ल्याउनको लागि समावेशिताको प्रयोग गरिएको छ । त्यसैको उपज आज देशको हरेक अङ्गहरूमा समावेशी सहभागिता छ । हिजो समाजमा हेपिएका, थिचोमिचोमा परिएका भनिएका समुदायका मानिसहरूको आज राज्यका हरेक अङ्गमा सहभागिता हुनु नै सबैभन्दा ठूलो पहिचान, अस्तित्व र उपलब्धि हो । त्यसैले नाकको राजनीति गर्नेहरूले यतिबेला प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्दै राज्यको हरेक अङ्गहरूमा आफ्नो समुदायका मानिसको पहुँच र सङ्ख्या वृद्धि गर्नु बुद्धिमानी हुनेछ ।
गणतन्त्रको स्थापना पश्चात् एकथरि मानिसहरू जातीयताको नाममा राजनीतिक दल खोल्न पनि पछि परेनन् । राजनीतिक स्वतन्त्रताको नाममा जातीय
पार्टी ? त्यो पार्टीले आफ्नो जातको भन्दा अन्य जातको हित गर्ला ? त्यस्ता पार्टीका नेताहरूले हरेक सार्वजनिक कार्यक्रममा नाकको राजनीति र विरोध बाहेक अरु कुनै नयाँ शब्दको उच्चारण गर्न सकेनन् । कुनै जाति विशेषलाई गाली गरेर आफ्नो पार्टी बलियो
बन्छ ? राजनीतिक दलभित्र त विचार र दर्शनको विकास पो गर्नुपर्छ । नाक र जातीयताको भावना विकास गर्ने हो ? व्यक्ति, जातिभन्दा माथि उठ्ने प्रयास कहिले
गर्ने ? राजनीति भनेको दर्शन हो, विचार हो । तर एक समुदायले अर्काे समुदायलाई गालीगलौज गर्ने पार्टी कहिल्यै राजनीतिक दल बन्न सक्दैन । त्यो त सिधै जातिवादी झुण्ड हुन्छ । राजनीति र जाति फरक हो भनेर ठम्याउन नसक्नेहरूले किन राजनीति गर्ने ? किन अगुवा बन्ने ? अगुवा भनेको त सही पथप्रदर्शक पो हुनुपर्छ । पहिचान भन्दै उल्टो दिशातिर बगिदिने अगुवाले सबैलाई बगाइदिन्छन् ।
हुनसक्छ, देशमा एकथरि विभेद । जातिजातिहरूको बीचमा होइन, विभेद सम्बन्धित समुदायभित्रै छ । जनजातिहरूले भन्ने गरेको उपल्लो जातिभित्र पनि त्यो समस्या छ । जनजाति र दलित समुदायभित्र आ–आफैंमा विभेद छ । सबै जाति समुदायभित्र विकसित (सम्पन्न, बुझक्कड) शासक हुने गर्दछ । त्यही विकसित शासकले शासन गर्नु कुनै नौलो कुरा होइन । त्यो संसारभरिको परिपार्टी हो । जस्तै बाहुन समुदायभित्र उपाध्यायले जैसीलाई विभेद गर्नु, जनजातिहरूभित्र विशेष गरेर गुरुङहरूभित्र चार जात र १६ जातको समस्या, किराँतहरूभित्र उपल्लो, पल्लो र माझ किरात, दलितहरूभित्र आ–आफैंमा पानी नचल्नु यसको उदाहरण हो । आफैंलाई कमजोर बनाइरहेका यस्ता समस्यालाई समाधान गर्नु मुख्य चुनौती हो । तर नेताहरूले भने जस्तो जातजाति, भाषा, धर्म र संस्कृतिको समस्या चाहिँ पक्कै छैन ।
तर विचारणीय समस्या, देशकै सबैभन्दा निष्पक्ष संस्था मानिएको लोक सेवा आयोगमा जनजाति र दलितहरूको उपस्थिति कस्तो छ ? चार पाना पल्टाउँदा समेत नाम थर भेटिँदैन । राज्यले जनजाति र दलितहरूले लोक सेवामा सहभागिता जनाउन पाउँदैन भनेको त छैन ! त्यसैले आफूलाई पहिचानको अगुवा भन्नेहरूले जाति विशेषको पार्टी खोल्नुभन्दा राजनीति र लोक सेवाजस्ता क्षेत्रमा आफ्नो समुदायको पहुँच अभिवृद्धि गर्नतर्फ उन्मुख हुन जरुरी छ । नाक देखाएर राजनीति गर्ने होइन, पहँुच र क्षमता देखाएर राजनीति गर्न सिक्नु पर्दछ । सधैँ समावेशीको नाममा आरक्षण खोज्ने प्रवृत्तिले पनि अल्छी मानसिकताको विकास गर्दछ । योग्यता, क्षमताको विकासमा चासो दिँदैन । त्यसैले अब पहिचानवादीहरूले यतिबेला अरुले बुनेको जालले होइन, आफैंले बुनेको जालले माछा मारेर खाने समय आएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना