फुर्सदिला साथी बन्दै सामाजिक सञ्जालमा

यलु जोशी

काठमाडौंँ, भदौ ७ गते । सामाजिक सञ्जाल मानिसलाई जोड्ने एउटा माध्यम मात्र नभएर युवादेखि ज्येष्ठ नागरिकका लागि समेत राम्रो साथी बनेसँगै नेपालमा यसको प्रयोग निकै बढेको छ । काममा व्यस्त मानिसलाई समाजिक गतिविधिसँग जोडिनेदेखि फुर्सदिला मानिसका लागि समय बिताउने राम्रो माध्यम बनेका छन् सोसल मिडिया ।
सामाजिक सञ्जाल प्रयोगकर्ताको तथ्याङ्क हेर्ने हो भने नेपालमा फेसबुकमात्र प्रयोग भएको ९५ लाख पुगिसकेको छ । त्यसमध्ये राजधानीमा मात्र ५४ लाख फेसबुक अडियन्स इनसाइटमा उल्लेख छ । त्यस्तै फेसबुक प्रयोगकर्ता महिलाको तुलनामा पुरुषको सङ्ख्या निकै बढी छ ।
सन् २०१८ अप्रिल १५ सम्म नेपालमा इन्स्टाग्राम १२ लाख जनाले प्रयोग गरेको पाइएको थियो भने ट्वीटर दुई लाख ३० हजार तथा युट्युव तीन लाख ८० हजार जनाले प्रयोग गर्ने गरेको पाइएको छ ।
नेपाल बैङ्क लिमिटेडबाट अबकास जीबन बिताउँदै गर्नुभएका राधिका जोशीको समय बिताउने तथा साथीभाइसँग कुरा गर्ने राम्रो माध्यम बनेको छ सामाजिक सञ्जाल । जोशी भन्नुहुन्छ,‘अहिले काम छैन् । छोरा बुहारी अफिस जान्छन् । घरमा एक्लै हुन्छु, त्यसैले फेसबुक तथा विभिन्न साइट चलाएर दिन बिताउँछु ।’
यस्ता समाजिक सञ्जालको माध्यमबाट धेरै कुराको ज्ञानको साथै साथी तथा परिवारको अरु सदस्य सँग राम्रो सम्बन्ध बनेको उहाँको अनुभव छ । उहाँ भन्नुहुन्छ, “यो सामाजिक सञ्जालकै कारण यस्तो बुढेसकालमा पनि ५० वर्ष पहिले स्कुल पढ्दाको साथीसँग कुरा भइरहेको छ ।” samajik-sanjal_2
काठमाडौँ विश्वविद्यालयमा पत्रकारितातर्फ अध्ययनरत श्रेया श्रेष्ठको लागि सामाजिक सञ्जाल ‘बेस्ट फ्रेन्ड’ बनेको छ । उहाँ आफ्ना भावनालाई सामाजिक सञ्जालमा पोख्ने गर्नुहुन्छ । रमाइला क्षणहरू सेयर गरेर खुसी बाँड्नेमात्र नभई दुःख बाँड्ने ठाउँ पनि बन्दैछ सामाजिक सञ्जाल ।
सामाजिक सञ्जाल ठूलाठूला राजनीतिक बहस गर्ने वा एजेन्डा सेट गर्ने ठाउँ त हुँदै हो, सूचनाको स्रोत पनि बनेको छ । यस्तै यो केही युवाका लागि अन्तरमनको साथी बनेको छ । श्रेया भन्नुहुन्छ, “कसैलाई रिस पोख्ने माध्यम पनि बनेको छ, कति कुराहरू सिधै भन्न सकिँदैन, सोसल मिडियाबाट भन्न सकिन्छ ।’
कसैसँग खुसी हुँदा धन्यवाद भन्न होस् वा कसैसँग रिस उठ्दा रिस पोख्न, सामाजिक सञ्जाल सहयोगी बनेको छ । एक्लै हुँदा पनि सामाजिक बन्न सघाउने साथी बनेको छ । कसैको प्रतिक्रिया आश गरेर केही कुरा ‘पोस्ट’ गर्दा कहिलेकाहीँ अलग प्रतिक्रिया भएको छ । तर प्रतिक्रिया आश नगर्ने हो भने कम्तीमा आफ्ना भावना पोखिसकेपछि एक किसिमको राहत महसुस हुने गरेको श्रेयाको अनुभव छ ।
फेसबुक, ट्वीटर, इन्स्टाग्राम युवाले बढी प्रयोग गर्ने सामाजिक सञ्जाल हुन् । सूचना प्रविधि विभागका महानिर्देशक लक्ष्मीप्रसाद यादवले २८ वटा कम्पनीबाट इन्टरनेट सेवा प्रदान भइरहेको जानकारी दिनुभयो ।
कम्प्युटर इञ्जिनियर स्वप्निलमान जोशी सामाजिक सञ्जाल सूचनाको स्रोत भएको बताउनुहुन्छ । उहाँ फेसबुक, इन्स्टाग्राम मार्फत पारिवारिक र साथीसँगका अनुभवहरू साट्ने गर्नुहुन्छ भने ट्वीटरमा राजनीतिक विचारहरू व्यक्त गर्ने गर्नुहुन्छ । आफ्नो दैनिकी, भावना, दुःखसुख ‘सेयर’ गर्न प्रायःले फेसबुक नै प्रयोग गर्छन ।
कामकाजी व्यक्तिका लागि बाहिरी दुनियाँ र साथीभाइसँग घुलमिल हुन समय अभाव हुन्छ । तर, ‘भर्चुअल वल्र्ड’ले एकै ठाउँमा बसेर पनि सामाजिक जीवनलाई सूचारु बनाइदिएको उहाँ बताउनुहुन्छ ।
द सोसल मिडिया टुडेका अनुसार सन् २०१८ अप्रिल १५ सम्म नेपालमा इन्स्टाग्राम १२ लाख जनाले प्रयोग गरेको उल्लेख छ भने ट्वीटर दुई लाख ३० हजार तथा युट्युव तीन लाख ८० हजार जनाले प्रयोग गर्ने गरेको उल्लेख गरिएको छ ।
यसैगरी फेसबुक अडियन्स इनसाइटका अनुसार बुटवल, पोखरा, भरतपुर, लुम्विनी, विराटनगरमा क्रमशः छ लाख ७० हजार, पाँच लाख ९० हजार, तीन लाख ५० हजार, छ लाख ९० हजार, दुई लाख १० हजार जनाले फेसबुक चलाउने उल्लेख गरिएको छ ।
त्यस्तै महिला भन्दा पुरुषले बढी मात्रामा फेसबुक चलाउने गरेको सो साइटमा उल्लेख गरिएको छ जसमा महिला ३८ प्रतिशत तथा पुरुष ६२ प्रतिशतले प्रयोग गर्छन् । सामाजिक सञ्जाल प्रयोगकर्तामा महिला तर्फ १८ देखि २४ वर्ष उमेरको ५४ प्रतिशत तथा पुरुषतर्फ ४६ प्रतिशत रहेका छन् ।
महिला तर्फ २५ देखि ३४ उमेरकाले ३५ प्रतिशत तथा पुरुषतर्फ ३८ प्रतिशतले प्रयोग गर्छन् भने ३५ देखि ६५ वर्षभन्दा बढी उमेरका महिलाले ११ प्रतिशत र पुरुषतर्फ १६ प्रतिशतले प्रयोग गर्ने उल्लेख गरिएको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना