काँग्रेसको विधान संसोधन गर्न खड्काको संयोजकत्वमा समिति

नारद गौतम 

काठमाडौँ,  भदौ ८ गते । पार्टीको विधान संशोधन गर्न नेपाली काँग्रेसले महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा ११ सदस्यीय विधान संशोधन मस्यौदा समिति गठन गरेको छ । केन्द्रीय कार्यसमितिको २०७५ वैशाख १६ गतेको बैठकले विधान मस्यौदा समिति गठन गर्ने निर्णय गरेको झण्डै चार महिनापछि नामावली तय गरिएको हो ।
समितिको सदस्यमा डा. मीनेन्द्र रिजाल, फरमुल्लाह मंसुर, मानबहादुर विश्वकर्मा, दिलेन्द्रप्रसाद बडू, महालक्ष्मी उपाध्याय डिना, आनन्दप्रसाद ढुंगाना, नवीन्द्रराज जोशी, सीता गुरुङ, प्रदीप पौडेल र रमेश लेखक रहनुभएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।  th_4
पार्र्टी सभापतिसँग परामर्श गरी आफ्नो कार्यविधि आफंै तयार गरी लागू गर्न विधान मस्यौदा समितिलाई अधिकार दिइएको छ । त्यसैगरी समितिका संयोजकलाई आवश्यकता अनुसार विभिन्न व्यक्ति तथा संस्थालाई समितिमा आमन्त्रण गर्ने अधिकार पनि दिइएको पौडेलले जानकारी दिनुभयो । मुलुक संघीय संरचनामा गएको तीन वर्ष विते पनि कांग्रेसको भने पार्टी संरचना अझै पुरानै छ ।
महासमितिको मिति तोकिने
वैशाख १६ गतेको केन्द्रीय कार्य समितिको बैठकले महासमिति बैठक भदौमा गर्ने निर्णय गरे पनि मिति भने तोकेको थिएन । सभापति देउवाले शुक्रबार (भदौ ८ गते) बस्ने कार्यसमितिको बैठकमा महासमितिको मिति प्रस्ताव गर्नु हुने जानकारी एक पदाधिकारीले दिनुभयो ।
महासमितिको बैठक काठमाडौं वा पोखरा कहाँ गर्ने भन्ने विषयको टुङ्गो पनि बैठकले लगाउने छ । साथै सभापति देउवाको अध्यक्षतामा महासमिति मूल तयारी समिति, उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा राजनीतिक प्रस्ताव तयारी समिति गठन गरिने भएको छ ।
यसैगरी, महामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा सङ्गठन सुदृढीकरणसम्बन्धी प्रतिवेदन, कोषाध्यक्ष सीतादेवी यादवको संयोजकत्वमा आर्थिक समिति, केन्द्रीय सदस्य भीष्मराज आङदम्बेको संयोजकत्वमा अनुशासन समिति गठन गर्ने तयारी समेत भएको छ । त्यसैगरी सहमहामन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा समेत अर्को एउटा समिति गठन गर्ने तयारी भैरहेको छ ।
यसैगरी, शुक्रबार बस्ने बैठकले यसअघि गठन भएर विवादमा परेको २९ सदस्यीय कार्यसम्पादन समितिको टुङ्गो पनि लगाउने छ ।
महासमितिका विषयमा छलफल गर्न पार्टी सभापति देउवाको बूढानीलकण्ठस्थित निवासमा बिहीबार बिहान पदाधिकारी बैठक बसेको थियो । बैठकमा महासमितिलाई सफल बनाउने विषयमा गहन छलफल भएको नेताहरुले जानकारी दिनुभएको छ । बैठक लगत्तै विधान मस्यौदा समितिको नामावली सार्वजनिक गरिएको थियो ।
पदाधिकारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति निधि, महामन्त्रीद्वय कोइराला र खड्का, कोषाध्यक्ष यादव, सहमहामन्त्री महत, प्रवक्ता विश्वप्रकाश शर्मा सहभागी हुनुहुन्थ्यो । प्रवक्ता शर्माले पदाधिकारी बैठकमा महासमिति बैठक बोलाउने विषयमा छलफल केन्द्रित भएको जानकारी दिनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना