दिगो विकासका सम्भावना

puskar raj prasaiपुस्कर प्रसाई

 

दिगो विकासको मतलव प्रकृतिले उपलब्ध गराएको स्रोत र साधनलाई उपयोग गर्दा विवेकशील भई दीर्घकालीन र सन्तुलित दृष्टिकोण राखी गर्नुपर्ने भनी बुझ्न सकिन्छ, जसले मानव क्रियाकलापबाट प्रकृतिमाथि हुने क्षतिलाई न्यून र फाइदालाई अधिक गर्न सकियोस् ।
विश्वमा अहिले करिब ७४५ करोड मानिस बसोबास गर्छन् र १० करोड मानिस घरवारविहीन छन् भन्ने तथ्यांक पाइन्छ । प्रतिदिन करिब तीन लाख जना थपिन्छन् भनिन्छ । जनसंख्या वृद्धि दर यही रहेमा आठ सय वर्षपछि प्रति व्यक्ति एकवर्ग फिट मात्र भूभाग रहन्छ । एउटा स्वस्थ मानिसको लागि प्रतिदिन १६ केजी अक्सिजन ग्यास आवश्यक पर्छ जसको लागि १२ वटा सल्लाका रूख चाहिन्छ भनिन्छ । तर वन विनाश भइरहेको छ । सन् २१००मा हिमनदीहरूको बहावमा ४० प्रतिशत कमी आउने अनौपचारिक अनुमान पनि गरिंदैछ । यति मात्र होइन, जमिनमुनिको पानी लगायत प्राकृतिक भण्डार पनि रित्तिंदैछ । जैविक विविधता, वनविनाश, नदी कटान, भूक्षय, ग्रीनहाउस असर र जलवायु परिवर्तन समस्या विस्तारित हुन पुगेको छ । यसले विकासविद् र वातावरण अधिकारकर्मीहरूलाई यस विषयप्रति चासो दिन बाध्य बनाएर विकास व्यवस्थापनमा नयाँ दृष्टिकोण र मान्यता स्थापित गराएको छ, जसलाई नै अहिले हामी दिगो विकास भन्ने गर्दछौं ।
दिगो विकास गतिशील अवधारणा हो । यसलाई ८० को दशकसम्म विकास र वातावरणबीचको सहसम्बन्धको रूपमा मात्र हेरिने गरेकोमा पछिल्ला दिनमा वातावरणीय पक्ष, सामाजिक सांस्कृतिक आयाम, शासकीय आयाम र संस्थागत पक्ष, संरचनागत क्षमता, आर्थिक तथा वित्तीय आयामबाट समेत मापन गर्न थालिएको छ जुन कारणबाट दिगो विकासको व्यवस्थापनमा व्यापकता आएको देखिन्छ । यस हिसाबले अब विकासलाई दिगो बनाउन प्रकृति र मानवबीच उपयुक्त सम्बन्ध स्थापना गर्दै संस्थागत क्षमता र विकासबीच उपयुक्त सम्बन्ध स्थापित हुनु पर्दछ । वित्तीय साधन र स्रोतले त्यसलाई निरन्तर भरणपोषण गर्न सक्नुपर्दछ । शासकीय अभ्यास र स्रोत अनि शक्ति र साधनका साथै सामाजिक मूल्य संस्कृति र विकासबीच तादात्म्य स्थापित हुनुपर्ने समेत यसको मापन हो । त्यसैगरी वातावरणको संरक्षण गर्ने, साधन परिचालनमा समन्यायिकता ल्याउने, प्राकृतिक साधनको दुरुपयोगमा कमी ल्याउने, भविष्यलाई सोचेर मात्र वर्तमानमा उपयोग गर्ने, मानिस र वातवरणबीच सांकेतिक सम्बन्ध राख्ने, जनसंख्या वृद्धि र प्रकृतिको भारवहन क्षमताबीच सामञ्जस्य राख्ने, उत्पादनमा कार्बन उत्सर्जनलाई न्यून पार्ने, प्रकृतिलाई संरक्षण गर्ने, र यी कुरा प्राप्त गर्न संस्थागत क्षमता र मानव विकासमा ध्यान दिने जस्ता कुरालाई यसका मार्गदर्शक सिद्धान्त मानिन्छ । यसको उद्देश्य मानवीय विकाससहित प्रगति गर्ने, वातावरणको प्रभावकारी संरक्षण गर्ने, स्रोत साधनको सावधानीपूर्वक प्रयोग, उच्च, स्थिर र दिगो आर्थिक वृद्धि हासिल गर्ने हो । तर नेपालमा जनसंख्या वृद्धि, अव्यवस्थित बसोबास र आर्थिक क्रियाकलापबीच समन्वय हुन नसकी विकास व्यवस्थापनलाई कसरी दिगो बनाउने भन्ने समस्या देखिएको छ । जथाभावी सडक निर्माण – विस्तार, वन विनाश, भूक्षय, वायु तथा जलप्रदूषण, असमान भूमि वितरण र अनुपयुक्त खेती प्रणालीको विस्तार लगायतले प्राकृतिक प्रकोप बढाइ धनजनको क्षति, जैविक विविधताको विनाश र स्वास्थ्य जोखिमलाई बढाइरहेको छ ।
यस्तो अवस्था रहेको नेपालमा नेपालको कम्युनिष्ट एकतापछि लोकतान्त्रिक माध्यमबाट विकास सम्भव छ भनी प्रमाणित गर्नुपर्ने जिम्मेवारी जनताले प्रधानमन्त्री के.पी. ओलीको काँधमा सुम्पेको छ । सोही अनुसार सरकारको तर्फबाट प्रस्तुत बजेटमा दिगो फराकिलो समन्यायिक र उच्च आर्थिक वृद्धि दर हासिल गर्न कृषि, जलस्रोत, पर्यटन लगायतका क्षेत्रमा पुँजी, प्रविधि र अन्वेषणको विकास भनी प्राथमिकतामा समेटिएको पाइन्छ । यसको साथै सार्वजनिक सेवा प्रवाहको गुणस्तर, आर्थिक वृद्धि तथा नागरिकलाई अनुभूति हुने प्रकारको सुशासन दिने भनिएको छ । अब यसको सफल कार्यान्वयन हुन जरुरी छ । यसको सफल कार्यान्वयन हुनको निमित्त राजनीतिक र नीतिगत स्थिरता र कर्मचारीमा सिर्जनात्मक क्षमतासहितको देशभक्तिपूर्ण भावना आवश्यक हुन्छ । वर्तमान अवस्थामा राजनीतिक स्थिरता र स्थिर सरकार सुनिश्चित भइसकेकोले अब कर्मचारीमा रहेको निर्देशित मानसिकता र पुरानो शैली संस्कार त्याग्नु जरुरी हुन्छ । यसो भएमा आन्तरिक प्रशासन चुस्त दुरुस्त भई दक्षतापूर्वक राज्य प्रशासन सञ्चालन भई सेवा सुविधासहित घोषित दिगो विकास निर्माणका लक्ष्य समयमा नै पूरा गराउन सकिन्छ ।
छिमेकी देशहरूसँगको सम्बन्ध पनि राष्ट्रिय हित अनुकूल प्रवद्र्धन भएको, वैदेशिक सहायता र लगानीको सम्भावना बढाएको, अब कुनै पनि बहानामा विकास निर्माणको काम गर्न नसकिएको भन्न छुट पाउने बहाना सत्तापक्षलाई उपलब्ध नभएको र अहिलेको अवसरले कम्युनिष्ट राजनीतिको भविष्यलाई जोडिदिएको समेत कटु सत्यलाई सत्तारुढ दलले राम्ररी बुझेको छ । त्यसैले दृढ इच्छाशक्तिका साथ लागेमा दिगो विकाससहितको समृद्धि सम्भव छ । राजनीतिक परिस्थिति लगायत अन्य प्राकृतिक स्रोतसाधन, मानवीय संसाधनले पनि सम्भावनाको पक्ष बलियो बनाएको पाइन्छ । जस्तै, नेपालको अर्थतन्त्र मूलतः पुनर्प्रयोज्य ऊर्जामा आधारित छ । अपार जलस्रोत नै सफा ऊर्जाको आधार हो, जुन दिगो विकासको पनि आधार हो । जनसंख्या वृद्धि दर चुनौतिपूर्ण भइसकेको छैन, यसलाई व्यवस्थित गर्न सकिने अवस्था अझै छ । उपलब्ध साधनको अधिकतम प्रयोग भइसकेको छैन, जस्तो भूमि, जल, वन साधनको व्यवस्थित उपयोग गर्न सकिएमा केही दशकको माग स्वतः धान्न सकिने सम्भावना छ । वातावरणमैत्री पर्यटन विकासको सम्भावना पनि प्रशस्त देखिएको छ । यो रोजगारी र आर्थिक विकासको आधार बन्न सक्छ ।
नेपाल अहिले पनि कम कार्वन उत्पादन गर्ने मुलुकको रूपमा रहेको छ । प्रतिव्यक्ति ० दशमलव ०१ किलोग्राम कार्बन मात्र उत्पादन भएको र स्वच्छ विकास संयन्त्र प्रयोग भइरहेकोले कार्बन व्यापारमार्फत बढी कार्बन उत्पादक राष्ट्रबाट साधन प्राप्त गरी दिगो विकासका सन्दर्भमा उपयोग गर्न सकिने सम्भावना प्रशस्त छ । महिला समूहको वातावरणीय संवेदनशीलताको स्तर महिला सशक्तिकरणको गतिसँगै अगाडि बढिरहेको छ । विकेन्द्रीकरण र स्थानीय स्वायत्त शासनको माध्यमबाट स्थानीय सरोकारका विषयमा नागरिक स्वामित्व विस्तार भएको छ, जसले आफ्नो भविष्यप्रति जनता आफैं जागरुक हुने अवस्था विकसित हुँदैछ । जनसंख्या व्यवस्थापन र विकास क्रियाकलाप वातावरण व्यवस्थापनको क्रियाकलापबीच सन्तुलन ल्याउने संस्थागत प्रक्रिया व्यवस्थित हुँदैछ । व्यवस्थित परिवार प्रोत्साहन, महिला साक्षरता र शिक्षा स्वास्थ्य जनसंख्या नियन्त्रण कार्यक्रम, विवाह र जन्म मृत्यु व्यवस्थित गर्ने कार्र्य, विकास आयोजनामा वातावरणीय प्रभावको मूल्याकन, शहरी व्यवस्थापन (तेह्रौं योजनादेखि हरित अर्थतन्त्रको कार्यखाकालाई अबलम्बन गर्न थालिएको) र सहश्राब्दी विकास लक्ष्यको प्रमुख आधार नै दिगो विकास र वातावरणबीच सन्तुलनको सुनिश्चिता भन्ने रहेको पाइन्छ ।
यी तथ्य आधारबाट दिगो विकासका चुनौती र अवसर दुवै रहेको देख्न सकिन्छ । अतः यसको लागि जीवन प्रणालीका हरेक क्षेत्र र शैलीमा सावधानी र अग्रसरतापूर्ण प्रयासको आवश्यक्ता पर्ने प्रस्ट छ । भविष्यदर्शी दृष्टिकोण नराख्ने हो भने आउने दिन प्रत्येकका लागि कष्टकर हुनेछन् । गरिब तथा विपन्नको विस्तार हुनेछ । त्यसैले प्रत्येक व्यक्ति प्रत्येकको लागि र प्रत्येक क्षण अर्काे क्षणप्रति संवेदनशील जवाफदेहिता देखाउन आवश्यक छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना