बिम्स्टेक शिखर सम्मेलनको अन्तिम तयारी पूरा

गोरखापत्र समाचारदाता 

काठमाडौँ भदौ, ९ गते । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)को काठमाडाँैंमा हुन लागेको चौथो शिखर सम्मेलनको अन्तिम तयारी पूरा भएको छ ।
यही भदौ १४ र १५ गते दुई दिनसम्म काठमाडौँमा हुनेशिखर सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नु हुनेछ । सम्मेलनमा द्विपक्षीय भेटघाट तथा सहमतिहरू हुने परराष्ट्र मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो  bimstec_1
सम्मेलनका क्रममा भदौ १५ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेट हुनुका साथै रक्सौल–काठमाडौँ रेलवे सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुनेछ । त्यस्तै, म्यानमारका राष्ट्रपति विन मिन्थसँग १३ गते र श्रीलङ्काका राष्ट्रपति मैत्रिपाल सिरिसेनासँग १६ गते द्विपक्षीय भेट हुनुका साथै उहाँहरूले भदौ १६ गते भगवान बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्नु हुनेछ ।
शिखर सम्मेलनको उद्घाटनपछि सदस्य राष्ट्रका सरकार प्रमुख वा राष्ट्र प्रमुखले सम्बोधन गर्नु हुने कार्यक्रम रहेको परराष्टमन्त्री प्रदीप ज्ञवालीले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।
त्यस अवसरमा मन्त्री ज्ञवलीले भारतीय प्रम मोदीले पशुपतिको तिलगङ्गामा भारतीय सहयोगमा निमार्ण भएको धर्मशालको उद्घाटन गर्नुका साथै उक्त धर्मशाला नेपाललाई हस्तान्तरण हुने कार्यक्रम रहेको जानकारी गराउनुभयो ।
उहाँले सम्मेलनका अन्तिम तयारी पूरा भएको र सम्मेलनका क्रममा सदस्य देशहरूबीच विद्युत् प्रसारण लाइन (पावर ग्रीड) निर्माण गर्ने विषयमा सम्झौता हुने छ । त्यसबाट सातवटै सदस्य राष्ट्रबीच विद्युत् व्यापारमा सहज हुने विश्वास गरिएको जानकारी गराइयो ।
बिम्स्टेकका १६ वटा प्राथमिकता क्षेत्र निर्धारण गरिएको भए पनि त्यो अलि विस्तृत भएकाले त्यसलाई अहिले मुख्य पाँच क्षेत्रलाई प्रथमिकतामा राखिएको जसमा पहिलो ‘कनेक्टिभिटी’ रहेको र त्यस अन्तर्गत रेलवे, सडक, विद्युत् प्रसारण लाइन, सूचना प्रविधिका लागि अप्टिकल फाइवर विछ्याउने तथा हवाई सम्पर्क जस्ता विषय रहेको जनाइको छ ।
दोस्रोमा गरिबी निवारण रहेको र यो क्षेत्र आर्थिक रूपमा अन्त्यन्त अवसरयुक्त (भाइब्रेन्ट)भएर पनि २० प्रतिशत मानिस गरिबको रेखामुनि रहेकाले यसलाई दोस्रो प्राथमिकतामा राखिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
तेस्रोमा अन्तर क्षेत्रीय व्यापार, लगानी, पर्यटन प्रवद्र्धनलाई समेटिएको बताउँदै मन्त्री ज्ञवालीले यस क्षेत्रका सदस्य मुलुकबीच मुस्किलले पाँच÷छ प्रतिशत मात्र व्यापार हुनु राम्रो नभएकोले यसमा जोड दिइने बताउनुभयो ।
चौथो र पाँचौमा जलवायु परिवर्तन यसले पार्ने असर तथा अन्तरदेशीय अपराध नियन्त्रण जस्ता विषयलाई समेटिएको जानकारी गराइयो । सम्मेलनमा यस क्षेत्रमा बुद्धिष्ट सर्किट निर्माण लगायतका विषयमा पनि छलफल हुने र बिम्स्टेकको बडापत्र (चार्टर ) अहिलेसम्म नभएकालेर सो तयार गर्ने विषयमा पनि छलफल हुने मन्त्री ज्ञवालीले बताउनुभयो ।
पत्रकार सम्मेलनमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को शिखर सम्मेलन ओझेलमा परेको विषयमा पत्रकारहरूले सोधेको प्रश्नको जवाफमा परराष्ट्रमन्त्री ज्ञवलीले सरकारले सार्कलाई पनि उत्तिकै महत्व दिएको र यसलाई सक्रिय बनाउने विषयमा प्रयास भइरहेको बताउनुभयो ।
सम्मेलनका क्रममा भदौ १२ गते वरिष्ठ अधिकारीहरूको बैठक हुनेछ । त्यसमा प्राविधिक विषयमा छलफल हुने र भदौ १३ भने सातै देशका परराष्ट्रमन्त्री स्तरीयत बैठक काठमाडौँमा भई तयारीलाई अन्तिम रूप दिइने छ ।
प्रधानमन्त्री ओलीले १४ गते होटल हायात रिजेन्सीमा रात्रिभोजको आयोजना गर्नुृ हुनेछ भने सम्मेलनको सम्पूर्ण कार्यक्रम सोल्टी होटलमा हुनेछ ।
२१ वर्ष अघि सन् १९९७ मा बिम्स्टेक स्थापना भएको भए पनि नेपाल र भूटान भने सन् २००४ मा सदस्य भएका हुन् । बिम्स्टेकको पहिलो सम्मेलन थाइल्यान्डमा सन् २००४ मा भएको थियो । दोस्रो २००८ मा भारतमा र तेस्रो सन् २०१४ मा म्यानमारमा भएको थियो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना