मङ्सिरदेखि विद्युतीय बस


गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ ९ गते । मङ्सिरदेखि काठमाडौँ उपत्यकामा विद्युतीय (इलेक्ट्रिक) बस सञ्चालनमा आउने भएका छन् । चीनबाट ल्याउन लागिएका बसको खरिद प्रक्रिया सुरु भएको छ । गोर्खा इको प्यानलले त्यस्ता बस सञ्चालन गर्न लागेको हो ।
बस सञ्चालनका लागि प्यानलले सम्भावनाका बारेमा चीनको विद्युतीय बस निर्माण कम्पनीका प्रतिनिधिलाई नेपाल ल्याएर सडकको अध्ययन गराएको थियो । प्यानलका प्रमुख कार्यकारी अधिकृत कृष्णभक्त दुवालका अनुसार कम्पनीले सडकको अवस्था, घुम्ती, उकालो ओरालो तथा गतिको अध्ययन गरेका थिए । अध्यनपछि सडकमा पानी जम्मा हुने समस्या भने हटाउनुपर्ने सुझाव गरेका छन् ।
तर हाललाई चक्रपथ, भक्तपुर सूर्य विनायकदेखि कलङ्की, तीनकुने, बानेश्वर माइतीघर रत्नपार्कका रुटमा सञ्चालन गरिने दुवालले बताउनुभयो । रुटका लागि यातायात व्यवस्था विभागसँग समन्वय भइरहेको छ । विभागले रुट परमिट दिने
जनाएको छ । bus electric
हाल ठूलो र सानो गरी दुईवटा बस ल्याउन लागिएको छ । ४० सिट भएको तर उभिएर ९० जना यात्रा गर्नसक्ने क्षमताको बस ल्याउन लागिएको छ । सानोमा १५ सिट हुनेछ भने ३५ जनासम्मको क्षमता हुनेछ । प्रमुख कार्यकारी अधिकृत दुवालले आफूहरूले सीएमएसी ब्रान्डको बस ल्याउन लागेको बताउनुभयो ।
उहाँले भन्नुभयो, सबै कुरा भयो बैङ्किङ प्रोसेसमा छौँ, बैङ्किङ प्रोसेस जति छिटो भयो उति छिटो बस आउँछन् । दुईवटा बसलाई हामीले चार करोड रुपियाँ लगानी गरेको छौँ, बस सञ्चालन मात्र होइन इलेक्ट्रिक बसको आधिकारिक विक्रेता पनि हामी हुन्छौँ ।
हाललाई कम्पनीले नै चार्ज स्टेसन राख्ने छ । तीन घण्टा चार्ज गरेपछि पूरा चार्ज हुनेछ । पूरा चार्ज भएपछि २२० किलोमिटरसम्म गुड्ने दुवालले बताउनुभयो । उहाँका अनुसार इन्धनबाट चल्ने सवारीसाधनभन्दा तीन गुणा बढी लगानी लाग्छ तर मर्मत सम्भार भने सस्तो पर्दछ । लगानी बढी भएपछि यात्रुको भाडा भने चलेकै दरमा हुनेछ । हाललाई उपत्यकाका लागि मात्र सञ्चालन गरिने योजना रहेको बताइएको छ । ब्याट्री पाँच वर्षसम्म टिक्ने छ ।
गोर्खा इको प्यानलका अनुसार इलेक्ट्रिक बस पूर्ण वातावरणमैत्री हो । यसले ध्वनि प्रदूषण गर्दैन, इन्धन प्रयोग हुने सवारीले जस्तै धूवाँ पनि फाल्दैन । पेट्रोलियम इन्धनको विकल्पमा यसको प्रयोग गर्न लागिएको हो भने विद्युत्को खपत हुनेछ । आरामदायी र शान्तिपूर्ण तरिकाले यात्रुहरूले यात्रा गर्न सक्नेछन । यससँगै मयूर यातायात पनि इलेक्ट्रिक बस ल्याउने जनाएको छ । काठमाडौँ महानगरपालिकाले पनि विद्युतीय बस सञ्चालनका लागि तयारी गरिरहेको प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना