मह बेचेर राम्रो आम्दानी

भैरहवा समाचारदाता

भैरहवा, भदौ ९ गते । रूपन्देहीको मानमटेरियाका सेतवन पालले सुरु गरेको मौरीपालनबाट पारिवारको जीवनस्तर फेरिएको छ । सुरुमा तरकारी खेती गर्नुभएका उहाँले राम्रो आम्दानी नभएपछि मौरीपालन व्यवसाय रोज्नुभएको हो ।
अहिले घरमै बसेर सेतवनले वार्षिक आठ लाख रुपियाँ आम्दानी गर्न सफल हुनुभएको छ । २०५७ सालमा जिल्ला कृषि विकास कार्यालयले दिएको एक घारबाट मौरीपालन सुरु गर्नुभएका सेतवनसँग अहिले १४० घार मौरी छन् । अघिल्लो वर्षसम्म ६० घार मौरी पाल्नुभएका पालले यो वर्ष बढाएर १४० पु¥याउनुभएको छ । अब आम्दानी दोब्बर पार्ने उहाँको योजना छ ।
दूधराक्ष–५, रामापुरका फर्शुराम अधिकारीले १४ वर्षअघि मौरी पाल्दा यस्तो सफलता पाइएला भन्ने सोच्नुभएकै थिएन । यो वर्ष उहाँले नयाँ किसानलाई दुई सय घार मौरी बेच्नुभयो । घार बेचेर मात्रै आठ लाख रुपियाँ आम्दानी गर्नुभयो । अहिले उहाँसँग ६० घार मौरी छन् । नेपाल मौरीपालक किसान महासङ्घका केन्द्रीय सदस्यसमेत रहनुभएका अधिकारीले भन्नुभयो, मह बेचेर मात्रै बर्सेनि आठ लाख रुपियाँ आम्दानी गर्छु ।
मौरी पालेर अधिकारीले छोराछोरीलाई क्याम्पस पढाउनुभयो, पक्की घर बनाउनुभयो । बिरामी पर्दा वा घरमा कुनै समस्या पर्दा पैसाको समस्या छैन, केही रुपियाँ बैङ्कमा बचत पनि गरेको छु, उहाँले सुनाउनुभयो ।
सेतवनको पनि मौरी पाल्नुअघि कच्ची घर थियो । मौरी पालेर राम्रो आम्दानी गर्न थालेपछि चार वर्षअघि उहाँले छ कोठे पक्की घर बनाउनुभयो । अहिले छोराछोरीको पढाइ पनि राम्रो छ, आम्दानी भएपछि घरपरिवारमा राम्रो वातावरण बनेको छ, उहाँले भन्नुभयो । maha_1
रूपन्देहीमा मौरीपालनको सम्भावना राम्रो देखिएपछि जिल्ला कृषि विकास कार्यालयले किसानलाई मौरीपालनको लागि प्रोत्साहन गरेको छ । जिल्लाका देवदह, पर्रोहा, दूधराक्ष, सालझण्डी र मैनहियालाई पकेट क्षेत्र बनाएर युवा स्वरोजगार कार्यक्रम अन्तर्गत ४० जना किसानलाई २० घारका दरले ७२ लाख रुपियाँ अनुदान दिइएको कृषि विकास कार्यालयका बाली विकास अधिकृत रामबहादुर खत्रीले बताउनुभयो ।
अगुवा किसान सेतवनकाअनुसार राम्रो मौसम भए एक वर्षमा एक घारबाट छ पटकसम्म मह काढ्न मिल्छ । छ पटक काढ्दा डेढ क्विन्टल मह हुन्छ । यो वर्ष मौसम राम्रो नभएकाले किसानले चार पटकसम्म मह निकाले । चार पटकमा एक क्विन्टल निस्किएको सेतवनको भनाइ छ । स्वरोजगारको राम्रो माध्यम मौरीपालनमा किसानको अझै सहभागिता बढाउन सरकारले विभिन्न कार्यक्रम अघि सारेको कृषि विकास कार्यालय रूपन्देहीका प्रमुख भोजराज सापकोटाले बताउनुभयो ।
अहिले जिल्लामा पाँच दर्जनले मौरी पालिरहेका छन् । मौरीपालन गरेर राम्रो आम्दानी गर्न सकिने सम्भावना भए पनि चरनको समस्या बढ्दै गएको किसानको भनाइ छ । मौरी चराउन विभिन्न ठाउँमा लैजानुपर्छ, त्यतिखेर ठाउँ–ठाउँमा अवरोध हुन्छ, दयानगरका अगुवा किसान धु्रव ज्ञवालीले भन्नुभयो । मौरीपालनका लागि किसानलाई प्रोत्साहित गर्न चरनमा सरकारी सहयोग आवश्यक रहेको ज्ञवालीको भनाइ छ ।
मौरी चराउँदा अन्य बोट–बिरुवालाई कुनै नोक्सानी हुँदैन । बरु तिनीहरूको परागसेचन बढ्छ तर जनचेतनाको कमीले किसानले धेरै झमेला व्यहोर्नुपरेको अधिकारीले सुनाउनुभयो । रूपन्देहीको मर्चवारमा तोरी फुल्ने बेला चराउन जाँदा किसानलाई बुझाउनै कठिन भएको मौरीपालक किसानको भनाइ छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना