गाईजात्राको चलन

trichandra pratiksyaत्रिचन्द्र प्रतीक्षा

 

हामी संस्कार र संस्कृतिमा एकदमै धनी छौँ, हाम्रो रीतिरिवाजमा विविधता छन् । गाईजात्रा धार्मिक, सामाजिक, ऐतिहासिक, सांस्कृतिक रूपले महìवले भरिपूर्ण रमाइलो जात्रा पनि हो ।
जनैपूर्णिमाको भोलिपल्ट अर्थात् श्रावण शुक्ल प्रतिपदाका दिन यो पर्व मानिन्छ । गाई वा गाईको रूपमा मानिसलाई सिँगारेर नगर परिक्रमा गरी मनाइने यो पर्वको बारेमा १५ औँ शताब्दीको गोपालराज वंशावली र मल्लकालमा लेखिएको ‘ठ्यासफू’ मा समेत ‘सायात’ शब्दको उल्लेख भएबाट प्राचीन कालदेखि नै यो पर्व मनाउँदै आएको प्रमाणित हुन आउँछ । नेपाल भाषाको ‘सायात’ (सापारु) शब्दको अर्थ नेपालीमा
‘गाईजात्रा’ लगाइन्छ ।
शास्त्रीय मान्यताअनुसार मानिसले मरेपछि स्वर्ग जाने बाटोमा पर्ने वैतरणी नदी तर्नुपर्छ । वैतरणी तर्न गाईको पुच्छर समातेर मात्र सकिन्छ र त्यसपछि मात्र स्वर्ग पुगिन्छ भन्ने हिन्दूहरूको जनविश्वास छ । यसरी मृतआत्माले यमलोक प्रवेश पाई मुक्ति पाउने गरुड पुराणमा उल्लेख गरिएको पाइन्छ भने यस पर्वका बारेमा पद्मपुराणमा समेत उल्लेख छ । सांस्कृतिक जीवनका प्राचीन कालदेखि चल्दै आएका गाईसम्बन्धी अनेकन् धार्मिक आस्था, निष्ठा र उपयोगितामा ‘गाईजात्रा’ को जन्म भएको देखिन्छ ।
यो दिन माता र पृथ्वीको रूपमा हिन्दू संस्कारमा पूजनीय गाईको जात्रा पनि हो । जात्रा निकाल्ने चलन कहिलेदेखि सुरु भयो भन्ने तिथिमिति निश्चित नभए तापनि एक भनाइअनुसार राजा प्रताप मल्लको समय ने.सं. ५७५ (वि.सं. १५१२) मा उपत्यकामा बिफरको महामारी फैलियो । त्यसै महामारीले धेरै जनताको मृत्यु हुनाका साथै प्रताप मल्लका कान्छा छोरा चक्रवर्तेन्द्र मल्लको पनि मृत्यु भयो । प्यारो छोराको मृत्युको शोकमा व्याकुल रानीलाई ‘मानिसहरू अन्यत्र पनि मरेका छन् र मर्छन्’ भनी देखाएर चित्त बुझाउने प्रयास स्वरूप राजाले देशवासीलाई वर्ष दिनभित्र मृत्यु भएकाहरूको नाउँमा आफन्तले गाईजात्रा निकाली नगर परिक्रमा गराउन हुकुम जारी गरेका थिए ।
उता भक्तपुरमा गाईजात्रा निकाल्ने परम्परा गोपालराज वंशावलीअनुसार राजा जयस्थिति मल्लको शासनकालमा ने.सं. ५०० (वि.सं. १४३७) मा नै सुरु भइसकेको देखिन्छ । ललितपुरमा भने बौद्ध परम्पराअनुसार दिवङ्गत आफन्तहरूको नाममा गाईजात्राको भोलिपल्ट निस्कने मतयाः जात्रा राजा गुणकामदेवको राज्यकालमा नै सुरु भइसकेको देखिन्छ ।
संस्कृतकर्मी प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठ गाईजात्राबारेमा बताउनुहुन्छ, राजा प्रताप मल्लले गाईजात्रा पर्व चलाएको किंवदन्ती भए पनि नेवार समुदायबाहेकले गाईजात्रा गर्ने प्रचलन रहेको पाइँदैन । मल्लकालमा नेपाल मण्डल विशेषगरी काठमाडौँ उपत्यकामा नेवार समुदायको मात्र बसोबास भएको स्थान भएकाले गाईजात्रा नेवार समुदायले मात्र मनाउने पर्वका रूपमा विकास भएको पाइन्छ ।
बौद्ध साहित्यको ललितविस्तरमा गाईजात्राबारे केही प्रसङ्ग लेखिएको पाइन्छ । ललितविस्तरका आधारमा गाईजात्राको परम्परा पुरानो हो भन्ने बुझिन्छ तर मध्यकालमा यसको स्वरूपमा परिवर्तन आएको हुनसक्छ । यस्तै लिच्छविकालको अभिलेखमा गौ युद्ध उत्सव भनी लेखिएको पाइएकाले लिच्छविकालमा पनि गाईजात्रा मनाइन्थ्यो भन्ने केही इतिहासविद्को भनाइ छ ।
इतिहासविद्का अनुसार काठमाडौँमा भन्दा पहिले भक्तपुरमा गाईजात्रा पर्व मनाउने गरेको भनाइ देखिन्छ । यो जात्रा भक्तपुरमा आठ दिनसम्म मनाइने परम्परा छ । विशेषगरी घिन्ताङकिसीमा बकेटाकेटी र युवायुवतीको समूह मिलेर हातमा काठको ज्यावल लिई त्यसलाई आपसमा ठोक्काउँदै अनौठो र रमाइलो किसिमले नाच्दै नगर परिक्रमा गर्छन् । यस्तै, हरियो करिब १५ फिट लामा चारवटा बाँसलाई ठाडो पारेर आयाताकारमा बाँधेर त्यसलाई कपडाले बेरेर तहामचा बनाइन्छ । तहामचाको शिरमा गाईको चित्र, परालको सिङ राख्ने साथै मृतकको तस्वीरसमेत राखेर छाता ओढाइन्छ । तहामचालाई बाँसको नोल लगाएर मृतकका आफन्तले काँधमा बोकेर नगर परिक्रमा गराइन्छ । संस्कृतिकर्मी प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार भक्तपुरकै तालाकोस्थित कुमालेले मृतात्माको शान्तिका लागि माटोको गाई बनाएर नगर परिक्रमा गराउँछन् । गाईसँगै मृतकको स्मृति झल्काउने करुण रसप्रधान गीति लीला, रामायण र श्रीकृष्ण लीलासमेत प्रदर्शन गरिन्छ ।
कीर्तिपुरमा मनाइने गाईजात्रा अन्यत्रको भन्दा अलि भिन्न पाइन्छ । यहाँको गाईजात्राको मुख्य विशेषता अथवा भिन्नता भन्नु सुकेको छालालाई गोलाकार बनाई घिसारेर ल्याउने गरिन्छ, जसलाई धाकः लुइगु भनिन्छ । यस कार्यमा अग्रपङ्क्तिमा विभिन्न मुखुन्डो लगाएका मानिसहरूको नाचलाई लगिन्छ । यसलाई स्थानीयहरू धेँधँपापा नाच भन्छन् । यसरी मृत्यु भएको परिवारका सदस्यले सहभागिता जनाएर नगर परिक्रमा गरिन्छ । अन्यत्र मनाएजस्तै पशुपति देवपत्तनमा पनि गाईजात्रा मनाइन्छ । यहाँ तीन दिनसम्म लगाएर जात्रा मनाउने यो एक ठाउँ मात्र हो ।
आजभोलि नेवार समुदायमा मात्र सीमित नभई अरू जातिले पनि विविध कार्यक्रम गरेर गाईजात्रा मनाउँदै आइरहेका छन् । जस्तैः व्यङ्ग्यात्मक, हास्यव्यङ्ग्य, नाटक मञ्चन, प्रहर्सन, गाईजात्रे पत्रिका समेत प्रकाशित भएको हुन्छ । गाईजात्राको अर्थ दिवङ्गतको नाममा खुसी मनाएको अर्थात् जात्रा गरिएको होइन । त्यसैले यस्तो संवेदनशील विषयलाई अर्थका अनर्थ लाग्ने गरी गरिएको नामाकरणप्रति समयमै सजग एवं सचेत हुनुपर्ने देखिन्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना