बहुआयामिक रक्षा बन्धन

ramesh bhattaraiरमेश भट्टराई ‘सहृदयी’

ऋषि तर्पणी/रक्षा बन्धन
नेपालमा बहुआयामिक धारमा मनाइने विविध पर्वमध्ये हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमा पनि एक हो । यस पर्वलाई ‘ऋषि तर्पणी’, ‘रक्षा बन्धन’ वा रक्षासूत्र पर्वजस्ता विभिन्न नामले चिनिन्छ । शास्त्रीय मान्यताअनुसार विशेष गरेर तागाधारी (ब्राह्मण, क्षेत्री, वैश्य) वर्गले वर्षदिन वेद पढ्नुपर्ने र त्यसको साङ्गे (समापन) गर्ने दिनको रूपमा जनै पूर्णिमालाई लिइन्छ । जनै लगाउनेहरूले स्नान गरी निर्मित जनै (यज्ञोपवित) लाई सप्तऋषिसहित ब्रह्मा, विष्णु, महेश्वरको पूजा गरेपश्चात् मन्त्रेर धारण गर्नुपर्ने वा नयाँ जनै लाउनुपर्ने परम्परा छ । जनैलाई ब्रह्मसूत्र अर्थात् वेद कर्म गर्न दिइने अधिकारको प्रमाण मानिन्छ । यस दिनलाई ‘अध्यायोपाकर्म’ वा ‘वेदोपाकर्म’ अथवा ‘वेदारम्भ कर्म’ गर्ने दिन मानिन्छ । धार्मिक कथनअनुसार यसै दिनमा महर्षि याज्ञवल्क्यले आदित्य ब्रह्म (सूर्य) बाट वेद प्राप्त गरेका थिए । यसैकारण यो दिनलाई ‘वेद जयन्ती’ का रूपमा पनि मनाइन्छ । यो दिनमा सप्तऋषि तथा पितृहरूको नाममा तिल, कुशसहित तर्पण दिइने भएकाले यो पर्वलाई ‘ऋषि तर्पणी’ वा ‘श्रावणी’ पनि भनिन्छ ।
सत्य युगमा दानवहरूले खेदाइएका देवगणलाई बचाउन गुरु वृहस्पतिले रक्षाबन्धन (डोरो) बाट दानव राजा बलिलाई बाँधेका प्रसङ्गअनुसार सो डोरोले रक्षा गर्ने जनविश्वास छ । पौराणिक इतिहासअनुसार इन्द्रदेवलाई दैत्य राजा वृत्तासुरले १२ वर्षसम्म युद्ध गरेर उनको राज्य वैभव आफ्नो हातमा पारेको थियो । राक्षसहरूले आफ्नो आसुरी शक्तिद्वारा युद्धमा परास्त गरेपछि इन्द्रदेवले संस्कार र अधिकारहित नतमस्तक भएर आफ्नो प्राण जोगाउँदै जङ्गल – जङ्गल घुमिरहनुप¥यो । अशान्त इन्द्रले राक्षस वृत्तासुरसँग अन्तिम युद्ध गर्ने निर्णय गरेपछि देवताका गुरु वृहस्पतिले विजयको कामना गरी श्रावण मासको शुक्ल पूर्णिमाको दिनमा शुभ मुहूर्त पारेर रक्षाबन्धन बाँधी इन्द्रलाई शक्ति प्रदान गरेका थिए । त्यसपछि उनकी पत्नी इन्द्राणीले भगवान्लाई साक्षी राखेर पवित्रताको प्रतीक रक्षासूत्र इन्द्रदेवलाई बाँधिदिइन् । त्यसैको प्रभावले उनले त्यो दानवी चरित्रलाई समाप्त पारेर पुनः आफ्नो राज्य वैभव प्राप्त गरे । यसर्थ दानवी शक्तिबाट सुरक्षित रहन रक्षाबन्धन अथवा ‘राखी’ बाँध्ने गरिन्छ । अर्थात् कुकर्म र कुबुद्धिबाट जोगाउने शक्ति आफ्नै घरका सदस्य त्यसमा पनि चेली हुन् भन्ने सन्देशलाई बोकेको पारिवारिक सहचार्यको भावलाई बोध गर्न सकिन्छ ।
विशेष गरेर ब्राह्मणहरूले यजमानलाई, दिदीबहिनीहरूले दाजुभाइलाई पवित्र धागो बाँधेर मनाइने रक्षाबन्धन पर्वको धार्मिक, आध्यात्मिक, सांस्कृतिक वा पौराणिक इतिहासले छुट्टै सामाजिक सम्बन्धको महìवलाई बोक्छ । यो पर्वले सामाजिक मर्यादालाई जीवन्त बनाउने शिक्षा दिन्छ । स्नेह भाव, सात्विक विचारको सम्बन्ध स्थापित गराएर पवित्र वातावरण बनाउने यो पर्वले वर्तमान समाजमा हराउँदै गइरहेको भ्रातृत्व र मानवताको सम्बन्धलाई बलियो बनाउन सिकाउँछ ।
यज्ञोपवित संरचना
ब्राह्मणबाट मन्त्र उच्चारण गरेर यज्ञोपवित वा जनै धारण गर्ने हिन्दू सनातनका मान्यताअनुसार जनैमा भएका नौ डोरा, तीन शिखाहरूले ईश्वरीय ज्ञान, जीवनचक्रबारे वास्तविक रहस्य बुझ्न मद्दत पुग्छ । ब्रह्मसूत्र वा जनैमा रहेका एउटाका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाका तीन डोरालाई कर्म, उपासना र ज्ञानका प्रतीकहरूको योग मानिन्छ । यसमा ५४ सरा धागोद्वारा ब्रह्म गाँठो बनाइएको हुन्छ । यजमानहरू गुरुद्वारा मन्त्रेर मात्र जनै लगाउँछन् । एक पटक मन्त्रेको जनैलाई वर्षदिनसम्मका लागि मात्र योग्य मानिन्छ । यस दिन नमन्त्रेको जनैलाई शुद्ध मानिदैन ।
राखीपर्व
विशेष गरेर तराई क्षेत्रमा दिदीबहिनीले सुस्वास्थ्य, उत्तरोत्तर प्रगतिको कामना गर्दै दाजुभाइको नाडीमा ‘राखी’ बाँध्ने गरेकाले यसलाई ‘राखी बाँध्ने पर्व’ समेत भन्ने गरेको पाइन्छ । रक्षाबन्धनकै प्रतिमाका रूपमा प्रतीकात्मक सूत्रबन्धन बाँध्ने चलन छ । अहिले राखी बाँध्ने चलनले पहाडी क्षेत्रमा समेत प्रभाव जमाउँदै गएको छ । शास्त्र कथनअनुसार यमदूतले आफ्नी बहिनी यमुनासँग राखी बाँध्ने क्रममा ‘जसले यस पवित्रताको प्रतीक राखी बाँध्छ ऊ यमदूतको सजाय वा भयबाट मुक्त हुन्छ’ भनेको हुनाले राखी बाँध्ने परम्परा बसिआएको पाइन्छ । सिद्धार्थ गौतम बुद्धले आजकै दिनमा काम शक्तिमाथि विजय प्राप्त गरेको मान्यताअनुरूप बौद्ध धर्मावलम्बीहरू विभिन्न तीर्थमा गई तिर्थाटन गर्ने गर्छन् ।
गुन्हु पुन्ही
नेवारी समुदायमा भने यस पर्वलाई ‘गुन्हु पुन्ही’ को नामले मनाइन्छ । यो दिनमा विभिन्न खाले आवाजबाट वर्षा र खेतीको कामको जानकारी दिने तथा गठेमङ्गलका दिन नरभक्षी घण्टासुरलाई बाटो भुलाएर धापमा जाकिदिएकाले भ्यागुताको पूजा गर्ने चलन छ । यसै दिनमा चना, मास, भटमास, केराउ, मुग, सिमी, बोडीलगायतका नौथरिका गेडागुडीलाई भिजाई टुसा उमारिएको र एकैठाउँमा पकाएर बनाइएको पौष्टिक तìवयुक्त ‘क्वाँटी’ खाने चलन छ । शरीरमा रोग नलाग्ने, पेट सफा पार्ने तथा वर्षा र चिसोका कारण तापसञ्चार गर्ने खाद्य परिकारको रूपमा क्वाँटी खाने गरिन्छ । यसका साथै विभिन्न जाति र सन्दर्भअनुसार कजरी पूर्णिमा, अवनि अवित्तम, नरियल पूर्णिमाजस्ता नामले पनि यो पर्वलाई चिनिन्छ ।
सामाजिक मर्यादा
आध्यात्मिक सुख र जीवनको रहस्यलाई बोध गरेर पारिवारिक सद्भाव र सहकार्यलाई बढाउन नरनारीको कल्याणकारी भावनामा समर्पित हुनु नै यो पर्वको सार्थकता हो । प्रकृति तथा स्वास्थ्यसम्मत महìव बोकेको यो पर्वले विभिन्न समुदायमा आ–आफ्नै धार्मिक सहिष्णुता तथा एकतालाई रहस्यात्मक ढङ्गले समेटेको बुझिन्छ । यो पर्वको अवसरमा काठमाडौँको पशुपतिनाथ, ललितपुर पाटनको कुम्भेश्वर, जनकपुरको धनुषसागर र गङ्गासागर, रसुवाको गोसाइँकुण्ड, नुवाकोटको देवीघाट तथा शैलुङ, कालिञ्चोक, हलेसी, नगरकोटलगायतका नेपाल तथा भारतका पनि विभिन्न धार्मिक स्थानहरूमा ठूलो मेला लाग्ने गर्छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना