बिमस्टेकका लागि काठमाडौंमा विशेष सफाई सुरु

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौँ ११ गते । बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि वङ्गाल खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनलाई ध्यानमा राखेर काठमाडौंमा विशेष सरसफाई अभियान सुरू भएको छ ।
काठमाडौँ महानगरपालिकाका अनुसार विदेशी पाहुना यात्रा गर्ने मुख्य–मुख्य सडक, सांस्कृतिक तथा पुरातात्विक स्थललाई लक्ष्य गरेर विशेष सरसफाई अभियान सञ्चालन गरिएको हो । त्यसका लागि तीन सिफ्टमा सफाइ कर्मचारीको व्यवस्थापन गरिएको महानगरपालिकाले जानकारी दिएको छ ।
फोहोर व्यवस्थापन अध्ययन समितिका संयोजक एवम् कामपाका सहसचिव ईश्वरचन्द्र मरहठ्ठाले लगातारको वर्षाका कारण ल्याण्डफिल्ड साइटमा उत्पन्न समस्याका कारण उपत्यकाका ठाउँ–ठाउँमा फोहोर व्यवस्थापन गर्न कठिन भएको बताउनुभयो । महानगरको सरसफाईमा कार्यरत कर्मचारीलाई तीन सिफट्मा विभाजन गरेर सरसफाई थालिएको उहाँले जानकारी दिनुभयो ।
बल्झिएकै हो समस्या ?
बिमस्टेक सम्मेलनका लागि सरसफाइमा विशेष पहल गरिए पनि फोहरको समस्या भने जटिल बन्दै गएको छ । केही वर्षदेखि ठिकठाक देखिएको उपत्यकाको फोहर व्यबस्थापन गर्ने ल्याण्ड फिल्ड साइटका कारण समस्या बल्झिएको हो । लगातारको वर्षाका कारण सिसडोलस्थित ल्याण्डफिल्ड साइट हिलाम्य भएकोले राजधानीको फोहर व्यबस्थापन असहज भएको कामनपाका अधिकारीहरूको भनाइ छ ।
सिसडालले छ महिनाभन्दा बढिको फोहोर धान्ने अवस्था नभएको समेत मरहठ्ठाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सिस्डोलपछि कुन ठाउँ भन्ने पनि टुङ्गो लागेको छैन ।’ फोहर व्यबस्थानको जिम्मा स्थानीय तहको हो र विगतमा यसको व्यबस्थापनमा ललितपुर महानगरले थोरै सहयोग गरेको भए पनि बाँकी सबै काम काठमाडौं महानगपालिका एक्लैले गरिरहेको उहाँले जानकारी दिनुभयो ।
कामनपासहित धेरै स्थानीय तहले फोहोर फाल्ने भनेकै महानगरकै व्यवस्थापनमा हो । फोहोर व्यवस्थापन अध्ययन समितिका संयोजक मरहठ्ठाले भन्नुभयो, २२ स्थानीय तहले फोहोर फाल्ने तर व्यवस्थापन र खर्च भने कामनपाले मात्रै बेहोरिरहेको छ । उहाँले भन्नुभयो, अझ फोहोर व्यवस्थापन हुन नसक्दा कामनपामाथि नै दोष लाग्ने गरेको छ, यो ठिक होइन ।
सडकमै एक लाख खर्च
महानगरपालिकाले सडक मर्मतमै ठूलो खर्च गरिरहनु परेको छ । मरहठ्ठाका अनुसार कामपाले अहिले वर्षात्को समयमा सिसडोल ल्यान्डफिल्ड साइटसम्म पुग्न सडक मर्मतका लागि दैनिक एक लाख रूपियाँ खर्च गरिरहेको । उहाँले भन्नुभयो, अब सबै स्थानीय तहले फोहोर व्यवस्थापन गर्दा लाग्ने सम्पूर्ण हिस्सा बराबरी बेर्होनुपर्छ ।
दीर्घकालीन अध्ययन
संयोजक महरठ्ठाकोको नेतृत्वमा गठन गरिएको समितिले उपत्यकाको फोहोरको अल्पकालीन र दीर्घकालीन व्यवस्थापनका विषयमा अध्ययन सुरू गरेको छ । समितिले अहिले फोहोर व्यवस्थापनका लागि अर्को वैकल्पिक ल्याण्डफिल्ड साइटको खोजी गर्र्दैछ ।
फोहोरको दिर्घकालीन समाधानका लागि अब बञ्चरे डाँडामा ल्याण्डफिल्ड साइट बनाउनुपर्छ, त्यसका लागि समितिले क–कसको सहभागितामा कस्तो पूर्वाधार कसरी निर्माण गर्न सकिन्छ भन्ने विषयमा समितिले सिफारिस गर्नेछ । ल्यान्डफिड साइटमा समस्या भएका कारण अहिले करिव दैनिक चार सय मेट्रिक टन फोहोर मात्रै व्यवस्थापन हुने गरेको छ । कामपासहित उपत्यकाका स्थानीय तहले दैनिक एक हजार मेट्रिकटनको हारहारिमा फोहोर संकलन गर्ने गरेका छन् ।
सिसडोलको समयसीमा
जापान सहयोग नियोग (जाइका) को सहयोगमा २०६२ सालमा निर्माण गरिएको नुवाकोटस्थित सिसडोल ल्यान्डफिड साइटको क्षमता अन्तिम अवस्थामा पुगेको छ । दुई वर्षको क्षमता रहने गरी निर्माण गरिएको यो ल्यान्डफिल्ड साइटको विकल्पमा रूपमा बञ्चरे डाँडालाई लिइको थियो तर त्यसको काम अहिलेसम्म सुरू भएको छैन । बञ्जरे डाँडामा ल्याण्डफिल्ड साइट निर्माण गर्न कम्तिमा पनि तीन वर्ष लाग्ने भएकाले तत्काल विकल्प खोज्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना