अझै व्यवस्थित भएन सेमेस्टर प्रणाली

मीना घोरसाइने

काठमाडौँ, भदौ ११ गते । पर्वतका मनहरी शर्मा सेमेस्टर प्रणाली अन्तर्गत त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा पढ्न थालेको तीन वर्ष पुग्न लाग्यो । दुई वर्षमा सकिने भनेको स्नातकोत्तर तहको अध्ययन अहिलेसम्म नसकिँदा उहाँ निकै चिन्तित हुनुुहुन्छ । हाल उहाँ अंग्रेजी विषयमा स्नातकोत्तर गर्दै हुुनुहुन्छ । शुरुमा भर्ना हुँदा उहाँमा ठूलो उमंग र उत्साह थियो, अहिले छैन । छ महिनामा एउटा सेमेस्टर सकिने भनिए पनि दश महिना कुर्नुपरेको उहाँको गुनासो छ । सेमेस्टर प्रणालीले विद्यार्थीको भविष्य सुनिश्चित गर्नुभन्दा झनै अन्योल बनाएको उहाँ ठान्नुहुन्छ । TU
उहाँको प्रश्न छ, “त्रिविले समयमा परीक्षा गर्न सक्दैन, नतिजा निकाल्न सक्दैन भने सेमेस्टर प्रणाली लागू गर्नुको के अर्थ ?”  सेमेस्टर प्रणालीमा छ महिनाभित्रै पढाइ सकिएर नतिजा प्रकाशन भइसक्नुपर्ने हो तर, नेपालमा भने बल्लतल्ल छ महिनामा परीक्षासम्म लिने काम हुन्छ । एक्काइसौं शताब्दी आइसक्दा पनि विद्यार्थीले डिजिटल प्रणालीमार्फत पढ्न पाउने व्यवस्था अँग्रेजी विभागमा हुनसकेको छैन ।
दाङकी मञ्जु खनाल पनि हाल विश्वविद्यालयमा अँग्रेजी विषयमा स्नातकोत्तर तहको अध्ययन गर्दै हुनुहुन्छ । विश्वविद्यालयमा अन्य कलेजको दाँजोमा नयाँ प्रविधिबाट अध्ययन अध्यापन हुनुपर्ने उहाँको बुझाइ छ ।
“भनेको बेला पानीसमेत पिउन नपाइने यहाँ आधुनिक प्रविधिअनुसारको शिक्षाको अपेक्षा कसरी गर्नु ?” आक्रोश पोख्दै मञ्जुले भन्नुभयो । वार्षिक प्रणालीमा भन्दा बढी शुल्क उठाएर पनि विद्यार्थीको अपेक्षा अनुरुप त्रिविमा पठनपाठन हुन नसकेको मञ्जुको ठम्याइ छ । विश्वविद्यालयमा सेमेस्टर प्रणाली लागू भइसकेपछि विद्यार्थीलाई वार्षिक प्रणालीमा जस्तो पढ्दै काम गर्ने सुविधा छैन तर पढाइमै एकाग्र हुन्छु भन्ने वातावरण पनि विश्वविद्यालयले दिएको छैन ।
सेमेस्टर प्रणालीमा हरेक विद्यार्थीले ८० प्रतिशत हाजिरी अनिवार्य रूपमा पु¥याउनुपर्छ, तब मात्र परीक्षामा बस्न पाउँछ ।
विभागले परीक्षा लिन र नतीजा निकाल्न गर्दैआएकोे ढिलासुस्तीले पाँच वर्षमा पनि पढाइ सकिने हो कि होइन भन्ने द्विविधामा विद्यार्थीहरूलाई पारिदिएको छ । कहिले परीक्षा लिने, कहिले नतीजा प्रकाशन गर्ने भन्ने तालिकासहितको शैक्षिक पात्रो विश्वविद्यालयसँग छ तर लागू हुन सकेको छैन । सेमेस्टर प्रणालीमा पनि शिक्षकहरूले वार्षिक शैक्षिक प्रणालीकै शैलीमा अध्यापन गराइरहेको यस विभागमा अध्ययनरत विद्यार्थी भोजराज तिवारी बताउनुहुन्छ । केन्द्रमै यस्ता खालका समस्या भएपछि यसअन्तर्गतका अन्य आंगिक क्याम्पसमा समस्या नहुने कुरै भएन ।
केन्द्रीय विभागको व्यवस्थापनका लागि राखिएका कर्मचारीहरूले समयमा आफ्नो जिम्मेवारी पूरा नगरिदिँदा समस्या आएको त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका प्राचार्य कृष्णप्रसाद आचार्यले बताउनुहुन्छ । “क्याम्पसको व्यवस्थापन पक्ष कमजोर भएर नै समस्या आएको हो,” आचार्यले भन्नुभयो ।
कर्मचारीको व्यवस्थापन गर्ने जिम्मा त्रिवि कर्मचारी व्यवस्थापन विभागले गर्दै आएको छ । विश्वविद्यालयलाई जति जना कर्मचारीको आवश्यकता पर्छ, त्योभन्दा बढी दरबन्दी दिएको उहाँ बताउनुहुन्छ । तर काम भने त्यो अनुपात भएको देखिँदैन र त्यसको निगरानी पनि भएको पाइँदैन ।
सेमेस्टर प्रणालीमा गएसँगै अंग्रेजी भाषालाई अनिवार्य गरिँदा अनुत्तीर्ण हुने विद्यार्थीको संख्या बढेको पाइन्छ । स्नातक तहसम्म नेपाली भाषामै परीक्षा दिँदै आए पनि स्नातकोत्तर तहमा आइपुग्दा अचानक अंग्रेजी भाषामा परीक्षा दिनुपर्दा समस्या हुने गरेको पत्रकारिता विषय अध्ययन गर्दै आउनुभएका छात्रा पुजन लिम्बुले बताउनुभयो ।
विश्वविद्यालयको २०७५ को साउनमा प्रकाशित तथ्याँक अनुसार शिक्षा शास्त्र संकायमा हाल २४ हजार ७०३, व्यवस्थापन संकायमा २२ हजार ६०९, मानविकी तथा सामाजिकशास्त्र संकायमा १४ हजार २१५ र कानून संकायमा एक हजार ३५० विद्याथी अध्ययनरत छन् । यसैगरी विज्ञान तथा प्रविधितर्फ पाँच हजार ९५५, इन्जिनीयरिङतर्फ दुई हजार ७१२, चिकित्साशास्त्रतर्फ एक हजार ८२१, कृषि तथा पशु विज्ञानतर्फ ३२६ र वन विज्ञानतर्फ २१० विद्यार्थी अध्ययनरत छन् । प्राविधिकतर्फ गत वर्षको तुलनामा एक दशमलव १५ प्रतिशतले विद्यार्थीको संख्यामा वृद्धि भई १४.९१ प्रतिशत पुगेको छ ।
सेमेस्टर परीक्षामा सामेल विद्यार्थीहरूमध्ये ७३ हजार ९०१ जनाले ट्रान्सक्रिप्ट लिइसकेको त्रिविले जनाएको छ ।
विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय रूपमै प्रतिस्पर्धा गर्नसक्ने बनाउन अँग्रेजी भाषालाई अनिवार्य बनाइएको केन्द्रीय आमसञ्चार तथा पत्रकारिता विभागका प्रमुख चिरञ्जिवी खनाल बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “अंग्रेजी भाषाको व्यापकता र उपयोगितालाई हेरेर यसलाई अनिवार्य बनाइएको हो ।”
सेमेस्टर प्रणालीको अवलम्बनले विद्यार्थीलाई नयाँ कुराको खोजी गर्न अग्रसर गर्नुका साथै विश्वविद्यालयको शिक्षालाई अन्तर्राष्ट्रिय हैसियत दिलाउने उहाँको भनाइ छ ।
त्रिविले केही समयअघि मात्र ३ जिपिए नल्याए विद्यार्थीहरू उत्तीर्ण नहुने नीति ल्याएको छ । विसं २०७० सालदेखि शुरु भएको सेमेस्टर प्रणालीमा उत्तीर्ण हुन २.७ जिपिए आए पुग्ने व्यवस्था थियो । सोही अनुरुप ३ जिपिए नल्याएका कतिपय विद्यार्थी ट्रान्सक्रिप्ट लिई छात्रवृत्तिमार्फत संयुक्त राज्य अमेरिका तथा अष्ट्रेलिया पढ्न गएपनि उनीहरू फर्किन परेको बताइन्छ ।
विश्वविद्यालयका अनुसार ३ जिपिए भन्दा कम आउने विद्यार्थीले फेरि परीक्षामा सामेल भई बढी अंक ल्याउन सक्नुुपर्छ । विद्यार्थी संगठनहरू शैक्षिक सुधारको मागलाई चर्काउन गरे पनि परीक्षा र नतीजा प्रकाशनको ढिलाइमा खासै बोल्ने गरेको पाइँदैन ।
त्रिविमा विश्वका अन्य विश्वविद्यालयको तुलनामा धेरै विषयको अध्यापन गराइने भएकाले व्यवस्थापनमा समस्या भएको त्रिविका उपकुलपति प्रा डा तीर्थ खनियाँ बताउनुहुन्छ ।
“सेमेस्टर प्रणालीलाई व्यवस्थित गर्न अझै केही समय लाग्छ,” उहाँले भन्नुभयो । त्रिविमा हाल ३९ वटा विषयमा सेमेस्टर प्रणाली लागू छ र यस प्रणालीअन्तर्गत कुल ७३ हजार ९०१ विद्यार्थी अध्ययनरत छन् ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना