आर्थिक कूटनीतिको अवसर


Junar_babuजुनारबाबु बस्नेत

राजधानी काठमाडौँ अहिले पाहुनाको स्वागतमा एकलव्य हुँदै छ । नयाँ संविधान आएपछि अझ खासगरी नयाँ संविधानअनुसार निर्वाचित वर्तमान सरकार आएपछि नेपालमा पहिलोपटक ठूलो महायज्ञ आयोजना हुँदै छ । विशिष्ट विदेशी पाहुनाहरू एकैपटक काठमाडौँ आउँदै छन् ।
बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गाल खाडीको सहयोग (बिमस्टेक) को चौथो शिखर सम्मेलन यही बिहीबार र शुक्रबार (१४ र १५ भदौ, २०७५) हुँदै छ । नेपालसँगै बङ्गलादेश, भारत, भुटान, म्यान्मार, श्रीलङ्का र थाइल्यान्डका कार्यकारी प्रमुखलाई नेपालले स्वागत गर्ने अवसर हो यो । पछिल्लो सार्क सम्मेलनपछि यति ठूलो अवसर विगतमा आएको पनि थिएन ।
बिमस्टेकमा नेपालसँगै भारत, बङ्गलादेश, भुटान, श्रीलङ्का, म्यानमार र थाइल्यान्ड सदस्य रहेका छन् । आर्थिक सहयोगमा आधारित यो सङ्गठनको मूलभूत विशेषता भन्नु नै दक्षिण एसियालाई दक्षिण–पूर्वी एसियासित जोड्नु हो । बङ्गालको खाडीवरपरका सात देशका लागि बङ्गाल खाडीको जल नै जीवन हो । नेपाल र भुटान प्रत्यक्ष बङ्गाल खाडीको समुद्रसित नजोडिए पनि बङ्गालको खाडीमा उत्पन्न हुने जलवाष्प हिमालका शिखरमा चिसिएर बर्सिने वर्षा नै बङ्गालको खाडीको पानीको मूल स्रोत हो । अझ हिन्दमहासागरलाई जल आपूर्ति गर्ने प्रमुख स्रोत नै हिमालमा उत्पन्न हुने नदी हुन् । विशिष्ट पर्याचक्र छ । विश्वको सर्वोच्च शिखर सगरमाथादेखि बङ्गालको खाडीको गहिराइसम्म फैलिएका यी देशमा एक अर्ब ७० करोड आवादी रहेको छ । यो आवादी विश्वको एक पञ्चांश मानिसको अंश हो तर प्रचुर अवसर हुँदाहुँदै पनि गरिबी र अभावमा बस्न बाध्य करोडौँ (कुल आवादीको २५ प्रतिशत) अर्थात् ४५ करोड हाराहारी मानिसका लागि बिमस्टेक नयाँ आशा र भरोसा हो, हुनुपर्छ ।
नेपालका लागि यो आँगनमै आएको ठूलो कूटनीतिक अवसर हो । अझ भनौँ आर्थिक कूटनीतिको अवसर हो । वास्तवमा कूटनीति भन्नु शान्तिपूर्ण तवरले देशको वृहत् स्वार्थलाई सम्हाल्दै सकारात्मक दिशातिर अग्रसर हुनु हो । देशलाई समृद्धितिर लैजानु हो । सार्वभौमसत्ताको रक्षा, राष्ट्रियताको संरक्षण, सम्बन्धको व्यवस्थापनदेखि प्रत्येक नागरिकको हितमा कूटनीतिले काम गर्न सक्नुपर्छ । कूटनीतिमा पनि नागरिकको जीवनमा परिवर्तन ल्याउन अहिले आर्थिक कूटनीतिक विशेष महŒव छ । आर्थिक कूटनीतिभन्दा कतिपयले विदेशीको दान वा सहयोगको कुरामात्र पनि बुझ्ने गर्छन् । त्यो अपुरो बुझाइ हो । आर्थिक कूटनीतिको मियो लगानीमा आधारित छ । लगानीविना कुनै पनि देशले आर्थिक विकास गर्न सक्दैन । नेपालजस्तो विकासशील अर्थात् समृद्धितिर जान अपरिहार्य भएको मुलुकका लागि अब लगानी नै आर्थिक विकासको मूल आधार हो । देशभित्र पर्याप्त लगानी गर्न सक्ने स्रोत छैन । त्यसका लागि विदेशी लगानी अपरिहार्य छ । बिमस्टेक लगानी प्रवद्र्धन गर्नका लागि नेपालको शुभ अवसर हो ।
विदेशी लगानी किन जरुरी छ ? इतिहासको कालखण्डमा धेरै मुलुकले विदेशी लगानीमै आकार सिर्जना गरेका छन् । देङ सियाओ पिङले सन् १९७६ मा चीनको अर्थतन्त्र खुला गर्दा विदेशी लगानीलाई स्वागत गरिएको थियो । डा. मनमोहन सिंहले सन् १९९० पछि भारतमा विदेशी लगानी खुला गरेपछि नै भारतीय अर्थतन्त्रले दोहोरो आर्थिक वृद्धिदर हासिल गर्न सक्यो । चीन त्यसअघि नै दोहारो आर्थिक वृद्धिदरमा पुगिसकेको थियो । दक्षिण कोरिया, मलेसिया, भियतनामा आदि मुलुकहरूले विदेशी लगानीले नै अर्थतन्त्रमा कायाकल्प गरेका छन् । नेपालको विशाल व्यापार घाटा (वार्षिक १२ खर्ब रुपियाँ) अब विदेशी लगानीको प्रवद्र्धनविना प्रायः असम्भव नै छ ।
विदेशी लगानीले दुईवटा फाइदा गर्छ । पहिलो देशभित्र लगानीसँगै उन्नत प्रविधि, सीप र दक्षता स्वदेश प्रवेश गर्छ । त्यसले अर्थतन्त्रमा नयाँ ऊर्जा प्रसार गर्छ । लगानी बढाउँछ । आय र उत्पादन बढाउँछ । रोजगारी सिर्जना गर्छ । सरकारी राजस्वमा योगदान गर्छ । साथसाथै, विदेशी लगानी आउँदा विदेशी मुद्रामा लगानी आउँछ । मूलभूत रूपमा अमेरिकी डलरमा लगानी आउँछ । डलरमा आउने लगानी डलर नै यहाँ खर्च गरिने होइन । त्यो डलरलाई नेपाली मुद्रामा रूपान्तरण गरिन्छ । लगानी नेपाली रुपियाँमा खर्च गरिने हो तर सरकारको ट्रेजरीमा विदेशी मुद्रा सञ्चिति भई भुक्तानी असन्तुलनलाई न्यूनीकरण गर्न सहयोग पुग्छ । भुक्तानी असन्तुलन हाम्रो ठूलो समस्या भइसकेको छ ।
नेपालको ठूलो व्यापार घाटा त बिमस्टेकका मुलुकहरूसितै रहेको छ । भारतसित कुल व्यापारको दुईतिहाइ व्यापार निर्भर छ । व्यापार घाटा पनि त्यत्तिकै विशाल छ । भारतलगायत बिमस्टेकका अन्य देशहरूको लगानी ल्याई यहाँ उत्पादन भएका वस्तु निर्यात गर्न सक्दामात्र नेपालको व्यापार घाटा न्यून हुन्छ । समृद्धि भाषण र आरोपले आउने होइन, लगानी ल्याउन सक्ने आर्थिक कूटनीतिमा मात्र सम्भव छ । नीतिगत रूपमै यो दिशामा गम्भीर हुनैपर्छ । विकल्प छैन ।
यथार्थमा भन्नुपर्दा ठूला देशको समकालीन विदेशनीति आर्थिक कूटनीतिले निर्देशित गरिरहेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो कार्यकालका साढे चार वर्ष आर्थिक कूटनीतिका लागि अन्तर्राष्ट्रिय समुदायसितको संवादमै ठूलो ऊर्जा र समय खर्च गर्नुभएको छ । चीन र अमेरिकाबीचको अहिलेको व्यापार युद्ध आर्थिक कूटनीतिका लागि दबाब सिर्जना गर्नका लागि केन्द्रित छन् । चीनको बेल्ट एन्ड रोड योजना वृहत् आर्थिक कूटनीतिकको आयाम नै हो । आफ्नो देशअनुसारको प्रयासमा अग्रता दिन नेपाल अहिले चुक्नुहुन्न, बिमस्टेक शिखर सम्मेलनमा यो सन्देश दिन सक्नुपर्नेछ ।
नेपालको जलस्रोतलाई बिमस्टेक मुलुक सबैको हितमा प्रयोग गर्न सक्नेगरी लगानी ल्याउँदा नेपालसँगै साझा क्षेत्रीय हितमा काम गर्न सकिन्छ । नेपालको पर्यटनलाई आर्थिक कूटनीतिको कोणबाट विकास गर्न सकिन्छ । सगरमाथा वा लुम्बिनी अनि पशुपति, सबै अब्बल पर्यटीय गन्तव्य हुन् तर छिमेकमै राम्रो प्रसार छैन । पर्यटकीय पूर्वाधारमा अझै पनि नेपाललाई विदेशी लगानीको जरुरी छ । दुई वर्षपछि मनाउन लागिएको पर्यटन वर्षमा २० लाख पर्यटक ल्याउने योजनाका लागि थप प्रसारमात्र होइन, थप लगानीको पनि आवश्यकता छ । त्यसका लागि बिमस्टेकको यो शिखर सम्मेलनले ठूलो योगदान दिन सक्छ ।
नेपाल अहिले बिमस्ेटको अध्यक्षमात्र छैन, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को पनि अध्यक्ष रहेको छ । केही वर्षदेखि सार्क प्रक्रियामा शिथिलता आएको छ । भारतपछि पाकिस्तानमा दुई वर्षअगावै हुनुपर्ने शिखर सम्मेलन हुन सकेको छैन । भारत र पाकिस्तानबीचको दुईपक्षीय मामिलाले सार्क प्रक्रियामै अवरोध आइरहेको छ । कतिपयले बिमस्टेकलाई सार्ककै विकल्पका रूपमा हेर्ने गरेको पनि पाइन्छ । सार्कको विकल्पका रूपमा बिमस्टेक होइन भन्ने कुरालाई अध्यक्षका नाताले नेपालले चिर्नुपर्छ । नेपालका लागि सार्क र बिमस्टेक उत्तिकै महŒवपूर्ण छन् ।
सार्क र बिमस्टेक दुवै आर्थिक, सामाजिक तथा व्यापारिक सहयोगमा आधारित क्षेत्रीय सङ्गठन हुन् । पाकिस्तानमा भर्खरैको निर्वाचनबाट इमरान खान प्रधानमन्त्री बन्नुभएको छ । उहाँले आन्तरिक मामिलामा सुशासनको प्रत्याभूति दिनेगरी काम थाल्नुभएको छ भने विदेश नीतिमा पनि आयाम परिवर्तन गर्ने उद्घोषण गर्नुभएको छ । पूर्वप्रधानमन्त्री सुशील कोइरालासित मर्ने बेलामा दुईवटा मोबाइलमात्रै भएको उदाहरण दिँदै खानले सरकारी आवासको सुविधा नलिनेदेखि सादगीपनको अभ्यासलाई जोडबल दिनुभएको छ । यो उदाहरण नेपालका लागि सम्पत्ति हो । भारतसितको तनावपूर्ण सम्बन्धमा सुधार ल्याई सार्क प्रक्रियालाई अगाडि बढाउने पाकनेता खानको प्रयासलाई नेपालले साथ दिनुपर्छ । सार्कले साथ दिनुपर्छ । सार्क र बिमस्टेक दुवै मञ्चलाई नेपालले आर्थिक कूटनीतिक बढोत्तरीको साधकका रूपमा लिनु वाञ्छनीय छ । त्यसका लागि सरकार र निजी क्षेत्रका तमाम अवयवलाई आर्थिक कूटनीतिमैत्री र क्रियाशील बनाउनुपर्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना