प्रधानमन्त्रीको साहसी ‘एक्सन’

GOPAL SHOWAKOTIप्रा.डा.गोपाल शिवाकोटी

 छ महिना अगाडि समाजवाद उन्मुख राज्यको निर्माण तथा जनताको सुख समृद्धि सुशासनको उद्देश्य लिएर गठन भएको वामपन्थीको सरकारले छ महिनामा समृद्धिको आधार प्रदान गरेको छ । यी लक्ष्य प्राप्तिका लागि अग्रसर हुने घोषणा गरेको छ । समृद्धि, सुशासन र स्थायित्वको उद्देश्य प्राप्त गर्नका लागि सत्तापक्ष र प्रतिपक्ष एक भएर अगाडि बढ्ने प्रयास गरेको छ । दुई तिहाई बहुमत प्राप्त शक्तिशाली यो सरकारले अहिलेसम्म गति लिन नसकेको र अल्मलिएको अवस्थामा रहेको भनी आलोचना भइरहेको सन्दर्भमा अब आफ्नो उद्देश्य प्राप्तिका लागि प्रधानमन्त्री स्वयंले समृद्धिको यात्रामा साहसी निर्णय गरी कार्यान्वयनका लागि अग्रसर हुनुपर्ने आवश्यकता पनि महसुस गरिएको छ । 

सरकारले संविधानको कार्यान्वयनलाई प्राथमिकतामा राखेको र समृद्धिका लागि अग्रसर भए पनि यो सरकार सानोतिनो कुरामा अल्मलिएर आफ्नो गतिबाट विचलित भएको, सामाजिक रूपान्तरणको अभियानमा पछाडि परिरहेको आशङ्का जनतामा छ । शक्तिशाली प्रधानमन्त्री के.पी. ओलीको नेतृत्वको सरकारलाई मुलुकको समृद्धि र खुलापनयुक्त अग्रगमनमा जानबाट विरोधीले प्रचार गरेको वाम अधिनायकवादको धङ्धङीले रोकेको हो भन्ने बुझाइ छ तर यो छ महिनाको क्रियाकलापले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा समेत वाम अधिनायकवादी सत्ता लागू गर्नु समृद्धिका लागि आवश्यक लगानी र पुँजी असुरक्षित हुन सक्दछ भन्ने बुझेर त्यो प्रचारलाई खण्डित गरिसकेको देखिन्छ । प्रतिपक्षहरू लगायतको अधिनायकवाद र राष्ट्रियकरणको हौवा अनि देशी, विदेशी लगानीलाई असुरक्षित हुन्छ भन्ने प्रचारलाई पनि चिरिएकोले अब ‘रुमलिएको’ अवस्था लगभग अन्त्य भइसकेको छ । देशको विकास तथा समृद्धिको यात्रामा नअल्मलिई अगाडि बढ्ने स्थिति तयार भएको छ । यसै अवधिमा ३० प्रतिशतले वैदेशिक लगानीमा विस्तारसमेत हुन पुगेको छ । विश्व बैङ्कले समेत करिब ११ खर्ब रुपियाँ लगानी सहयोग गर्ने भएको छ । गतवर्ष १७ अर्ब ५१ करोडको लागानी नेपाल भित्रिएको थियो । लगानीको वातावरण बन्दै गएपछि विदेशी लगानीकर्ताको मनोवलसमेत बढेको सूचक हो यो । २०७४ असारसम्म विदेशी प्रत्यक्ष लगानी १३ अर्ब ५० करोड थियो । एफडीआईमा भएको प्रत्यक्ष असर शोधानान्तर स्थितिमा समेत देखिएको छ ।
नेपाल तीव्र परिवर्तनको सङ्क्रमणकालमा रहेको छ । पुरानो अवस्था अन्त भई नयाँ स्थिति बन्दै गएको छ । विभिन्न राजनीतिक कारणले विभाजित बनेका दलहरू कमजोर हुँदै गएका छन् र एकताको धार बलियो बन्दैछ । देश अब अर्को परिवर्तनको सङ्क्रमणमा रहेको छ । यसलाई इमानदारीसाथ सबै पक्ष मिलेर एकआपसमा सहयोग गरी अगाडि बढेमा मात्र मुलुकले अग्रगामी छलाङ मार्नेछ । यसका लागि एकता र सहकार्य अझ चर्को महसुस भएकोले स्रोतको परिचालन गरी समृद्धिको यात्रामा अगाडि बढ्न आवश्यक छ ।
अहिले वामपन्थी सरकार बारेमा आलोचना र टिप्पणी, षड्यन्त्र, प्रतिष्पर्धा र सत्ताको सङ्घर्ष हुन सक्छ भन्ने अनुमान गरिँदैछ । यी अवस्था र टिप्पणीहरू सही होइनन् । अहिलेको वाम सरकारले उठाएको समृद्धि, विकास र स्थीरता भने सबैका लागि होस् भन्ने जनताको अपेक्षा रहेको छ । राजनीतिक दलहरूले यसलाई उपेक्षा गरेमा उनीहरूको अस्तित्व पनि सङ्कटमा पर्न सक्ने छ । सरकारको आधारभूत सिद्धान्त समाजवाद हो । यही सैद्धान्तिक आधारमा वर्तमान सरकारले समाजवादी समाजमा रूपान्तरण हुन चाहेको छ । पुँजीवादीहरूले मात्र खुला समाज र विकास गर्न सक्छन् भन्ने कुरालाई गलत साबित गरिदिएको छ । नेपालमा शास्त्रीय सामाजवाद विरोधी चिन्तकहरूले भन्ने गरेको वाम सरकार अधिनायकवादी हुन्छ, राष्ट्रियताको विकास र जनतासँग सहकार्य गर्न सक्दैन भन्ने कुरालाई यो सरकारले व्यवहारबाटै जवाफ दिने काम गरेको छ ।
वामपन्थी सरकारले मुलुकलाई समृद्धि, विकास र स्थायित्व प्रदान गर्ने भने पनि सानातिना कुरामा अल्झेर रुमलिएको भनेर जनतालाई दिग्भ्रमित पार्न प्रयास भइरहेको सन्दर्भमा प्रधानमन्त्री ओलीले सरकार नअलमलिएको र वातावरण बनाउने मात्र कार्यमा रहेको भन्ने अभिव्यक्ति दिनुभएको छ । उहाँको यो अभिव्यक्तिले अब सरकारले साहसिक ‘एक्सन’ मा उत्रने सङ्केत दिएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को उद्देश्य अन्तर्गत राजनीतिक स्थायित्व, दीर्घकालीन योजना, पाँच वर्षे लक्ष्य निर्धारण गरी अगाडि बढेको सरकारलाई विरोधमार्फत अल्झाउने प्रयास भएको देखिन्छ । यो अस्थिरता उत्पन्न गरी सरकारलाई लक्ष्यबाट विचलन गराउने राजनीतिक खेल पनि हुन सक्छ ।
केन्द्रीकृत शासन व्यवस्थाबाट सङ्घीय व्यवस्थामा गएको अवस्थामा यसलाई संस्थागत गर्ने कुरामा समेत अवरोधहरू उत्पन्न भएका छन् । केन्द्रीय मानसिकतामा रहेको कर्मचारी यन्त्र तथा राजनीतिक नेतृत्वहरूका कार्यले गर्दा र जनताको सेवाभन्दा आफ्नो सुविधा बढाउने मानसिकताले गर्दा सङ्घीयता र राजनीतिक जनप्रतिनिधिमाथिको विश्वासमै सङ्कटको स्थिति पनि उत्पन्न भएको छ । समयमा कर्मचारी व्यवस्थापन हुन नसक्नु, भौतिक र स्रोतको पहिचान हुन नसक्नु, ऐन कानुन समयमा नै तर्जुमा हुन नसक्नुजस्ता समस्या पनि छन् । यस्तै कारण सरकार आफ्नो प्राथमिकतामा अगाडि बढ्न नसके पनि छ महिनाको प्रतिकूल परिस्थितिमा समेत भएका उपलब्धिले समृद्धिका आधार तयार भएको विश्वास गरिन्छ । सिन्डिकेट अन्त्य, अनावश्यक विदेश भ्रमणमा रोक, मितव्ययिता र प्रभावकारिता, सामाजिक सुरक्षा भत्तामा विद्युतीय कारोबार, स्वास्थ्य बीमा, सुरक्षाकर्मीलाई घरेलु काममा लगाउन रोक, पर्यटन भिसा वितरणमा विद्युतीय टोकन, अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालन, छिमेक सम्बन्धमा नयाँ उचाइ, सडक र रेलमार्ग निर्माणमा भएका प्रगति वेवास्ता गरिनुपर्ने विषय होइनन् । छ महिनाको सफल उपलब्धि भएको भन्ने सरकारको दाबी हुनु स्वाभाविक हो ।
तर पनि प्रधानमन्त्री र मन्त्रीहरूका अभिव्यक्ति र कामबीचमा भने तालमेल भएको देखिँदैन । यसैले गर्दा भारत र चीनसँग भएको सम्बन्ध सुधारमा गरेको प्रगतिबाहेक आन्तरिक नीतिमा परिणाममुखी काम देखिन नसक्नुले जनतामा निराशा देखिन थालेको छ । तत्काल जनताको समर्थनप्राप्त सकारात्मक कामले गति लिन नसकेको, तत्काल जनताको आँखा पर्ने सडक दुरावस्थाहरूको सुधारका लागि प्रधानमन्त्रीको अवलोकन र रखवारीभन्दा कुनै पुस्तक विमोचन, विद्यालय उद्घाटन वा आफ्ना मान्छेका कुनै पनि समारोहको शोभा बढाइदिनका लागि गएर समय खर्च गर्नु राम्रो मानिँदैन । प्रधानमन्त्री अनावश्यक स्थानमा गएर लामो भाषणमार्फत सरकारले राम्रो काम गरेको देखाउन व्यस्त किन हुनुप¥यो ? उपलब्धि परिणामबाट जनताले आफैँ महसुस गर्छन्, गर्न पाउनुपर्छ । प्रधानमन्त्री भन्ने ठाउँमा होइन, गर्ने ठाउँमा हुनुहुन्छ । आफ्नो कामको बखान आफँैले गर्नु त्यति राम्रो मान्न सकिन्न । यसैले भनेरभन्दा गरेर देखाउनु पर्छ । जनतालाई अनुशासन र आचरणको पाठ पढाउने नभएर आफूले नेतृत्व गरेको सरकारमार्फत दायित्व र कार्यभारलाई इमानदारीपूर्वक सम्पन्न गरी परिणाम जनतालाई देखाउनुपर्छ । मातहतका पदाधिकारी, कर्मचारीलाई अनुशासित र सदाचारी बनाउनुपर्छ । नत्र यो सरकारलाई पनि गफाडीहरूको ठानी जनताले विश्वास गर्न छाड्ने छन् । अब सरकारले विपक्षहरू र अरूलाई चिढाउनेभन्दा सहकार्यमा ल्याउन सक्नुपर्छ । सडकमा उठेका सबै प्रश्नको जवाफ दिइरहनु आवश्यक छैन भने आफ्नै राजनीति गरिरहेकालाई अपराधी ठह¥याउनुभन्दा उनीहरूलाई पनि सहमतिमा ल्याएर सहकार्य गर्नुपर्छ ।
यसो गर्दा, विगत छ महिनामा नै तयार भएका समृद्धिका आधार विस्तार गरी योजनाहरू कार्यान्वयनमा लैजान सहज हुनेछ । यसका लागि प्रधानमन्त्रीले नै साहसिक सक्रियता देखाउनुपर्छ । समाज रूपान्तरणका लागि अब अलमल आवश्यक छैन । अहिलेको उपलब्धिमा सन्तोष गरेर बस्नु हँुदैन । सन्तोषले निष्क्रिय बनाउँछ, असन्तोषले कर्मयोगी बनाउँछ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना