बिम्स्टेक सम्मेलन: परराष्ट्र सचिवस्तरीय बैठक आज

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ १२ गते । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)को चौथौ शिखर सम्मेलनमा भाग लिन सदस्य राष्ट्रका उच्च अधिकारी सोमबार राजधानी आइपुग्नुभएको छ ।
उच्च अधिकारीहरूलाई परराष्ट्र सचिव शङ्कर बैरागीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको पराराष्ट्र मन्त्रालयका सहप्रवक्ता रामबाबु ढकालले बताउनुभयो । उहाँहरूको सम्मानमा साँझ रात्रिभोजको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा औपचारिक विषयमा खासै छलफल नहुने र केही अनौपचारिक कुराकानी भने हुनसक्ने परराष्ट्र स्रोतले जनाएको छ ।
बिम्स्टेकका सदस्य राष्ट्रका उच्च अधिकारी (परराष्ट्र सचिवस्तरीय) को १९ औं बैठक मङ्गलबार दिउँसो १ बजे राजधानीमा आयोजना हुँदैछ । उक्त बैठकले विगतमा भएका काम तथा गतिविधिको समीक्षा, सम्मेलनमा प्रस्तुत हुने विषयहरूका प्राविधिक पक्ष लगायतका विषयमा छलफल र विगतमा भएका कामको समग्र पुनरावलोकन हुने परराष्ट्रका अधिकारीले जनाएका छन् ।
सो बैठकले तय गरेका विषयवस्तु तथा समग्र दस्तावेजलाई बुधबार बस्ने पराराष्ट्र मन्त्रीस्तरीय बैठकमा छलफलका लागि प्रस्तुत गरिने छ । परराष्ट्र मन्त्रीस्तरीय बैठकबाट पारित विषयहरू शिखर सम्मेलनका क्रममा सरकार प्रमुख तथा राष्ट्र प्रमुख समक्ष प्रस्तुत हुने छ । bimsteck
बुधबारको बैठकका लागि पराष्ट्रमन्त्रीहरू मङ्गलबार नै काठमाडांै आइपुग्ने कार्यक्रम छ । यही भदौ १४ र १५ गते दुई दिनसम्म चल्ने शिखर सम्मेलनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने छ भने सो सम्मेलनकै अवसर पारेर केही द्विपक्षीय भेटघाट तथा केही सहमतिहरू हुने बताइएको छ ।
उक्त सम्मेलनका भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही भदौ १४ गते राजधानी आइपुग्ने कार्यक्रम छ र सम्मेलनको दोस्रो दिन भदौ १५ गते प्रधानमन्त्री ओलीसँग द्विपक्षीय भेट हुनुका साथै रक्सौल–काठमाडौँ रेलवे सहयोग र बल्क कार्गो सेवासम्बन्धी दुई समझदारी पत्रमा हस्ताक्षर हुने कार्यक्रम छ । त्यस्तै म्यानमारका राष्ट्रपति विन मिन्थसँग भदौ १३ गते र श्रीलङ्काका राष्ट्रपति मैत्रिपाल सिरिसेनासँग भदौ १६ गते द्विपक्षीय भेट हुनुका साथै उहाँहरूले भदौ १६ गते भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुहुने छ ।
उक्त शिखर सम्मेलनको उद्घाटन प्रधानमन्त्री ओलीले गर्नु भएपछि सदस्य राष्ट्रका सरकार प्रमुख वा राष्ट्र प्रमुखले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । त्यस्तै, भारतीय प्रधानमन्त्री मोदीले पशुपतिको तिलगङ्गामा भारतीय सहयोगमा निर्माण भएको धर्मशालाको उद्घाटन गर्नुका साथै उक्त धर्मशाला नेपाललाई हस्तान्तरण गर्नुहुने कार्यक्रम रहेको छ ।
सम्मेलनका क्रममा सदस्य राष्ट्रहरूबीच विद्युत् प्रसारण लाइन (पावर ग्रीड) निर्माण गर्ने विषयमा सम्झौता हुने जसबाट सातवटै सदस्य राष्ट्रबीच विद्युत् व्यापारमा सहज हुने विश्वास गरिएको छ ।
बिम्स्टेकका १६ वटा प्राथमिकता क्षेत्र निर्धारण गरिएको भए पनि त्यो अलि बिस्तृत भएकाले त्यसका अहिले मुख्य पाँच क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । जसमा पहिलो ‘कनेक्टिभिटी’ रहेको र त्यस अन्तर्गत रेलवे, सडक, विद्युत् प्रसारण लाइन, सूचना प्रविधिका लागि अप्टिकल फाइवर विच्छउने तथा हवाई सम्पर्क जस्ता विषय रहेका छन् । दोस्रोमा गरिबी निवारण, तेस्रोमा अन्तर क्षेत्रीय व्यापार, लगानी, पर्यटन प्रवद्र्धनलाई समेटिएको छ भने चौथो र पाँचौमा जलवायु परिवर्तन तथा त्यसले पार्ने असर एवम् अन्तर देशीय अपराध नियन्त्रण जस्ता विषयलाई समेटिएको छ ।
सो सम्मेलनमा यस क्षेत्रमा बुद्धिष्ट सर्किट निर्माण लगायतका विषयमा पनि छलफल हुने र बिम्स्टेकको बडापत्र (चार्टर) अहिलेसम्म नभएकाले सो तयार गर्ने विषयमा पनि छलफल हुनेछ ।
प्रधानमन्त्री ओलीले पाहुनाको सम्मानमा भदौ १४ गते दिवाभोजको आयोजना गर्नुका साथै होटल हायात रिजेन्सीमा रात्रिभोजका कार्यक्रम आयोजना गर्नुहुने छ । सम्मेलनको सम्पूर्ण कार्यक्रम सोल्टी होटलमा हुनेछ ।
शिखर सम्मेलनमा नेपालका प्रधानमन्त्री ओली, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार ल्योन्पो छिरिङ वाङचुक, म्यान्मारका राष्ट्रपति विन मिन्त, श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान ओचाले भाग लिनुहुनेछ ।
आजभन्दा २१ वर्षअघि सन् १९९७ मा बिम्स्टेक स्थापना भएको भए पनि नेपाल र भुटान भने सन् २००४ मा सदस्य बनेको थियो । यसको पहिलो सम्मेलन थाइल्यान्डमा सन् २००४ मा भएको थियो । दोस्रो सन् २००८ मा भारतमा र तेस्रो सन् २०१४ मा म्यानमारमा भएको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना