नेपालको विकासमा बिमस्टेकको अवसर

bhuwan acharyaभुवनप्रसाद आचार्य

 क्षेत्रीय अवधारणाअनुसार २१ वर्षअघि गठित बिमस्टेकको चौंथो शिखर सम्मेलन बिहीबारदेखि नेपालमा आयोजना हुन गइरहेको छ । 

दक्षिण तथा दक्षिणपूर्वी एशियाली मुलुकबीच आपसी व्यापार र लगानी अभिवृद्धि तथा विभिन्न सम्पर्क सञ्जालहरूको निर्माण र जनस्तरको सम्बन्ध अभिवृद्धिमार्फत यस क्षेत्रको समग्र विकासलाई अघि बढाउने उद्देश्यले गठित आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास
(बिमस्टेक)को वर्तमान अध्यक्ष नेपाल रहेको छ । यही हैसियतमा नेपालले चौंथो शिखर सम्मेलनको आयोजना गरेको हो ।
दक्षिण एशियाली क्षेत्रको अर्को सङ्गठन दक्षिण एशियाली सहयोग सङ्गठन(सार्क) क्रियाशील हुन नसकेको अवस्था र यसका ठूला दुुई सदस्य राष्ट्र चारत– पाकिस्तानबीचको आपसी असमझदारीको कारण सम्मेलन हुन नसकेको अवस्थामा बिमष्टेकको चौंथो शिखर सम्मेलन नेपालमा हुनुुले विशेष अर्थ राख्छ ।
लामो समयको राजनीतिक द्वन्द्व सकिएर नेपाल सङ्घीयतामा प्रवेश गरेको अवस्थामा विकास र व्यापारको मुख्य लक्ष्यसहित स्थापना भएको यो क्षेत्रीय सङ्गठनबाट नेपालले आफ्नो विकासको दीर्घकालीन लक्ष्य प्राप्त गर्न यथेष्ट पहल गर्नु आवश्यक भएको छ । यस सङ्गठनको स्वतन्त्र व्यापार क्षेत्रको अवधारणा रहेको छ । त्यसमै टेकेर नेपालले आफ्नो वैदेशिक व्यापार दक्षिण पूर्वी एशियाली मुलुकसम्म र आसियान क्षेत्रमा विस्तार गर्न जोड दिनुपर्छ । विकास र आर्थिकरूपले एशियाली बाघका रूपमा उदाएका सिङ्गापुर, मलेशियालगायतका अन्य मुलुकसम्म पनि नेपालले आफ्नो निर्यात र व्यापार विस्तारको बाटो यही फोरमको माध्यमबाट खोल्न सक्नुपर्छ । नेपालको आर्थिक विकासको लक्ष्यलाई भरथेग गर्न र त्यस क्षेत्रको लगानी ल्याउने र पर्यटन प्रवद्र्धन गर्ने पुलको रूपमा पनि नेपालले बिमस्टेकलाई प्रयोग गर्न सक्नुपर्छ ।
पछिल्लो समय विश्वव्यापी रूपमा क्षेत्रीयतावाद र बहुपक्षीयतावादको विषयमा विभिन्न विवाद देखा परिरहेको अवस्थामा बिमस्टेक क्षेत्रका मुलुकहरूको प्रयासलाई कार्यान्वयन तहमा लैजान विभिन्न चुनौती छन् । विकास र समृद्धिको साझा क्षेत्रीय लक्ष्य प्राप्त गर्न सदस्य मुलुकले यसलाई आफ्नो उद्देश्यबमोजिम नै अघि बढाउन कुनै पनि विषय देखाएर आनाकानी गर्नु हँुदैन । बिमस्टेकका सदस्य मुलुकबीच युरोपियन युनियनका सदस्य देशहरूमा विकास भएको जस्तै सडक, रेल, पानीजहाज, हवाई यातायातका पूर्वाधार, पर्यटन पूर्वाधार र प्रविधिको विकासलाई तीव्रताका साथ अघि बढाउनु आवश्यक हुन्छ । त्यसो गर्न सकिएमा मात्र विश्व मानव समुुदायको एउटा पीडाको रूपमा रहेको एशियाली गरिबीलाई घटाउन र यस क्षेत्रको आर्थिक विकास र समृद्धिमा बिमस्टेकको भूमिकालाई अझ प्रभावकारी बनाउन सकिन्छ ।
यस क्षेत्रमा साझा मुद्रा, साझा बैङ्क, साझा प्रविधि र साझा संस्कृतिको विकास र जगेर्ना गर्ने विषय पनि चर्चामा आउने गरेका छन् । त्यसो गर्न सकिएको खण्डमा विश्वको जनसङ्ख्याको ठूलो भाग बसोवास गर्ने यस क्षेत्रमा बेरोजगारी, अशिक्षा, गरिबी र द्वन्द्वलाई यथेष्ठ रूपमा घटाउन सकिन्छ । अनि मात्र नेपालबाट विकास भएको शान्तिको प्रकाश एशियाली मुलुकका सबै कुुना कन्दरामा समान रूपमा पुुग्न सक्छ । समानता, विकास, सद्भाव र सहकार्यसहितको समृद्ध दक्षिण पूर्वी एशियाको हाम्रो सपना साकार पार्न सकिन्छ । यसले मात्र हाम्रो व्यवहारलाई सभ्य, उन्नत र एक्काइसौँ शताब्दी अनुकूलको बनाउन पनि मद्यत गर्छ । अनि मात्र हामी दक्षिण पूर्वी एशियालीले एक्काइसौँ शताब्दीको सभ्य नागरिकको स्तरमा आफूलाई उभ्याउन सक्छौँ । आर्थिक विकास र समृद्धिको हुुटहुटीमा जुुटेको नेपालले यो दूरगामी अवसरलाई मनन गरी अरूलाई समेत यस अभियानमा सहमत गराउँँदै अघि बढ्न सक्नुपर्छ ।
नेपालले बिमस्टेकलाई जसरी प्राथमिकता दिएर अघि बढाउन खोजिरहेको छ । त्यसैगरी अन्योलमा परेको सार्कको शिखर सम्मेलन आयोजना गर्न र त्यसलाई क्रियाशील बनाउन पनि सदस्य राष्ट्रसँग छलफल र परामर्शमा जुट्नु आवश्यक हुन्छ । बुद्धले विश्वलाई शान्ति, सहअस्तित्व, भाइचारा र करुणाकोे माध्यमबाट जसरी जोड्नुभयो, त्यसैगरी नेपालले आफूलाई उदार र फराकिलो बनाई विश्व समुदायमा जोडेर गरिबी, अभाव र बेरोजगारीलाई घटाउन अघि बढ्नुु आवश्यक छ ।
नेपालले आफूले प्रतिबद्धता जनाएका विश्वव्यापी प्रतिबद्धताको पालना गर्दै विश्व व्यापार सङ्गठन, सार्क स्वतन्त्र व्यापार क्षेत्र अवधारणा र बिमस्टेक स्वतन्त्र व्यापार अवधारणालाई अघि बढाउनुुपर्छ । अन्तर्राष्ट्रिय व्पापारका लागि आफ्ना भन्सार नाकालाई आधुनिकीकरण गरी अन्तर्राष्ट्रिय स्तरको तुल्याउने र व्यापारमा हुने झन्झट र ढिलोपनलाई घटाउन पनि अलमल गर्नु हुँदैन ।
नेपालले अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुरूप विदेशी सामानको आयातलाई खुला गर्दा अलिअलि भएको उत्पादन क्षमतामा पनि ह्रास आएको छ । बर्सेनि नेपालको व्यापारघाटा उच्च दरले वृद्धि हँुदै जानुको एक प्रमुख कारण पनि यही हो । थारै मात्रामा भएको उत्पादनको निर्यात पनि राम्रोसँग गर्न नसक्दा नेपालले यस्ता स्वतन्त्र व्यापार अवधारणाको अवसरबाट कुनै पनि फाइदा लिन सकेको छैन । विश्वका विभिन्न फोरममा प्रतिबद्धता जनाए अनुरूप नेपालले आफूलाई परिस्कृत र परिमार्जित गर्दै क्षमतायुक्त बनाउँदै लैजान सके मात्र यस्ता फोरमबाट लाभ लिन सक्छ ।
बिमस्टेकमा सहयोगका क्षेत्रहरू व्यापक छन् । १६ वटा सहयोगका क्षेत्र रहेको बिमस्टेकमा धेरै क्षेत्र हुँदा नेपालजस्ता मुलुकले धेरै अवसर पाउने सम्भावना त हुन्छ तर सदस्य मुलुकको क्षमताको अभाव र प्रभावकारी कार्यान्वयन संयन्त्र नहुँदा भने चाहिँ थप अन्योल भई सङ्गठनको प्रभावकारिता नै वृद्धि गर्न नसकिने हुन्छ । त्यसैले नेपालले सहयोगका क्षेत्रलाई संक्षेपीकृत गर्न, कोषको स्थापना गर्न र सङ्गठनको सचिवालयलाई सुदृढ गर्नुपर्ने प्रस्ताव गरेको छ । यो राम्रो पक्ष हो । साथै नेपालले हिमाली अर्थतन्त्रलाई यस फोरमको माध्यमबाट प्रभावकारी रूपले अघि बढाउन पनि जोड दिनु आवश्यक छ । हिमाली, पर्वतीय अर्थतन्त्रको विषयलाई बिमस्टेकको माध्यमबाट प्रभावकारी ढङ्गले अघि बढाउन सकेकोे खण्डमा नेपाल, भूटान, भारतले पनि यसको माध्यमबाट राम्रो लाभ लिन सक्ने अवस्था रहन्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना