बढ्दैछ बेपत्ता नागरिकको सङ्ख्या

sita sharmaसीता शर्मा


स्याङ्जा घर भई कीर्तिपुर बस्दै आएकी हिमा ठकुरीकी १५ वर्षीया भतिजी एक्कासि हराउनुभयो । काठमाडौँमा पढाइदिने भनेर तीन वर्षअघि हिमाले भतिजी ल्याउनुभएको थियो । भतिजी हराएपछि माइतीसँगको हिमाको सम्बन्धसमेत बिग्रिएको छ । कक्षा ९ मा पढ्दै गरेकी भतिजीको खोजीका लागि प्रहरीकहाँ उजुरी दर्ता गराए पनि एक वर्षसम्म अत्तोपत्तो छैन ।
नेपाल प्रहरी खोजतलास समन्वय केन्द्रका अनुसार, २०७४ वैशाखदेखि चैतसम्म आठ हजार ६६ जना व्यक्ति हराएका छन् । तीमध्ये एक हजार ७८६ जना मात्रै भेटिएका छन् । छ हजार ३१० जना कहाँ गए ? यसको कुनै अत्तोपत्तो छैन । यस्तै, २०७३ सालमा सात हजार २४९ जना नागरिक हराएकोमा एक हजार ८६७ जना मात्रै भेटिएका थिए । बाँकी पाँच हजार ३८२ जना कहाँ र कस्तो अवस्थामा छन्, न परिवारलाई जानकारी छ न प्रहरीलाई । यो तथ्याङ्कले नेपाली समाजको डरलाग्दो चित्र प्रस्तुत गर्छ । नागरिक हराएको भन्दै प्रहरीमा परेको उजुरीको दुई वर्षको तथ्याङ्क हेर्दा पनि थाहा हुन्छ, नागरिक हराउने क्रम बढ्दो छ । २०७३ सालको तुलनामा २०७४ मा ८१७ जना बढी नागरिक हराए ।
यस्तै, २०७३ वैशाखदेखि असारसम्म हराउने मानिसको सङ्ख्या दुई हजार ६३ जना थियो । २०७४ सालको सो अवधिमा हराउनेको सङ्ख्या दुई हजार २२६ जना पुग्यो । २०७५ वैशाखदेखि असारसम्म दुई हजार ५१२ जना हराएको खोजतलास केन्द्रको तथ्याङ्कमा उल्लेख छ । २०७५ वैशाखदेखि असारसम्म हराएका नागरिकमध्ये महिला एक हजार ५४ जना, पुरुष ७६३ जना, बालिका ४६४ जना र बालक २५८ जना रहेका छन् ।
सबैभन्दा बढी महिला हराए
२०७४ सालमा आठ हजार १८ जना हराएका मध्ये चार हजार २९८ जना महिला छन् । पुरुष एक हजार ४२५ जना रहेका छन् । यस्तै, सो अवधिमा हराउने बालिकाको सङ्ख्या एक हजार ३६३ जना र बालक ९३२ जना रहेको छ । सो अवधिमा हराएका मध्ये सबैभन्दा ठूलो सङ्ख्या महिलाको देखिन्छ । सो अवधिमा हराएका मध्ये ७६८ जना महिला, २९९ पुरुष, ३८५ बालिका र ३०७ बालक भेटिए । सो अवधिमा हराएका तीन हजार ५३० जना महिला, एक हजार १२६ पुरुष, ९७८ बालिका र ६२५ जना बालक अझै भेटिएका छैनन् ।
केन्द्रका अनुसार, २०७३ मा सात हजार २४९ जना हराएकोमा एक हजार ८६७ जना मात्रै भेटिएका थिए । त्यो सङ्ख्यामध्ये चार हजार ३५६ जना महिला, एक हजार ३०४ जना पुरुष, ९०४ जना बालिका र ६७५ जना बालक हराएका थिए । २०७३ सालमा पनि हराउनेमा महिला नै बढी देखिन्छ । २०७५ वैशाखदेखि असारसम्म दुई हजार ५१२ जना हराएका मध्ये एक हजार ५४ जना त महिला मात्रै छन् । यस्तै सो अवधिमा पुरुष ७३६ जना, बालिका ४६४ जना र बालक २५८ जना हराएको केन्द्रले जनाएको छ । सो अवधिमा हराएका मध्ये ६५४ जना फेला परे । एक हजार ८५८ जना कहाँ छन् अहिलेसम्म कसैको जानकारीमा छैन ।
बालिका हराउने क्रम वृद्धि
पछिल्लो दुई वर्षको तथ्याङ्क हेर्दा हराउनेमा बालिकाको सङ्ख्या बढेको देखिन्छ । २०७३ सालमा ९०४ जना बालिका हराएका थिए भने २०७४ मा एक हजार ३६३ जना । जुन सङ्ख्या २०७३ सालको भन्दा ४५९ जनाले बढी हो । यस्तै २०७५ वैशाखदेखि असारसम्म ४६४ जना बालिका हराए । २०७३ वैशाखदेखि असारसम्म २८३ जना बालिका हराएका थिए । २०७४ सालको सो अवधिमा ४१९ जना बालिका हराएका थिए । तीन वर्षको तीन÷तीन महिनाको तथ्याङ्क हेर्दा पनि प्रत्येक वर्ष हराउने बालिकाको सङ्ख्या बढेको देखिन्छ । हराएर भेटिनेको सङ्ख्या भने एकदमै थोरै छ । केन्द्रको तथ्याङ्क हेर्दा २०७३ सालमा हराएका बालिकामध्ये ३५२ जना भेटिए । ५५२ जना अहिले पनि हराएकै सूचीमा छन् । यस्तै २०७४ सालमा हराएका एक हजार ३६३ जना बालिकामध्ये ३८५ जना मात्रै भेटिए, बाँकी ९७८ जना कहाँ कस्तो अवस्थामा छन्, अत्तोपत्तो छैन ।
नागरिक किन हराउँछन्
बर्सेनि यति ठूलो सङ्ख्यामा नागरिक हराउँछन् । ती के प्रयोजनका लागि कहाँ लगिएका छन् ? उनीहरूको अवस्था कस्तो छ ? यो गम्भीर प्रश्न हो । यसबारे राज्यले गम्भीर रूपमा अध्ययन गर्नु आवश्यक छ ।
प्रहरीले विभिन्न समयमा सार्वजनिक गरेका तथ्याङ्कअनुसार महिला र बालिकालाई विभिन्न प्रलोभनमा पारेर यौन शोषणका लागि भारतका विभिन्न शहर र पछिल्लो समयमा तेस्रो मुलुकका शहरसम्म पु¥याउने गरेको पाइन्छ । पछिल्लो समय भारतमा नेपाली महिला र बालिकालाई यौनशोषण मात्रै होइन, बच्चा जन्माउने प्रयोजन (सेरोगेसी) का लागि पनि लगिएको पाइन्छ । यस्तै बालबालिकालाई स्तनपान गराउने प्रयोजनका लागि सुत्केरी महिलालाई विभिन्न प्रलोभनमा पारी लैजाने गरेको पाइन्छ ।
विदेशमा आकर्षक कमाइ हुने प्रलोभनमा परेर दलालको पछाडि लाग्दा महिला र बालिका बेपत्ता हुने गरेका छन् । मानव अङ्ग तस्करीका लागि पनि मानव अपहरण, बेचबिखन हुने गरेका छन् । भारतीय श्रमबजारमा श्रमकै लागि समेत नेपाली बालबालिका, युवा बेचिने गरेको डरलाग्दो अवस्था छ । जसका कारण बर्सेनि नागरिक बेपत्ता हुने क्रम बढ्दो छ । खुला सिमानाका कारणले विना अनुमति, विना योग्यता, उमेर, समय केही नभए पनि कामका लागि भारत जान रोकावट नभएकाले पनि नेपाली नागरिक हराउने क्रम बढ्दै गएको पाइन्छ ।
बेपत्ता बिरुद्धको अन्तर्राष्ट्रिय दिवस
अगस्ट ३० लाई बेपत्ताविरूद्धको अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाइन्छ । संयुक्त राष्ट्रसङ्घ र एमनेष्ट्री (एमएनएसटी) इन्टरनेशनलको सक्रियतामा सन् २०११ देखि विश्वमा यो दिवस मनाउन थालिएको हो । द्वन्द्व वा अन्य कारणले बेपत्ता पारिएका वा भएका व्यक्तिको खोजबिन गर्नका लागि राज्यलाई दबाब दिने उद्देश्यसहित विश्वमा यो दिवस मनाउन थालिएको हो । नेपालमा पनि द्वन्द्व प्रभावित परिवारले केही वर्षदेखि विभिन्न कार्यक्रम गर्दै यो दिवस मनाउने गर्छन् । विगतमा एक दशक सञ्चालित सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोहीबाट थुप्रै नागरिक बलपूर्वक बेपत्ता पारिए । उनीहरू कहाँ र कस्तो अवस्थामा छन् खोजबिन हुन सकेको छैन । राष्ट्रिय मानव अधिकार आयोगमा द्वन्द्वका क्रममा विद्रोही वा राज्य दुवै पक्षबाट बलपूर्वक ८४२ जनालाई बेपत्ता पारिएकाको उजुरी छ । यद्यपि, पीडित पक्ष एक हजार पाँच सयभन्दा बढी व्यक्ति द्वन्द्वका क्रममा बलपूर्वक बेपत्ता पारिएको दाबी गर्दै आएका छन् । द्वन्द्वमा ज्यान गुमाउने तथा अङ्गभङ्ग हुने प्राय ः लाई राज्यले राहत प्रदान गरे पनि बेपत्ता परिवारको हकमा भने राहतको व्यवस्था गरेको छैन ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना