मासिँदै हजार वर्षका सम्पदा

dallu

दैलेख, भदौ १५ गते । बाइसे चौबीसे राज्यको इतिहास बोक्ने दुल्लु दरबार भग्नावशेष मात्र देखिएको छ । अहिलेको दुल्लू बजार त्यसबेला सिंगो राज्यको केन्द्र थियो । यसको वरपर इतिहास जोडिएका पुरातात्विक महत्वका दरबार, शिलालेख र शिलास्तम्भ प्रशस्त छन् तर नेपाली भाषाको पहिलो शिलालेखको दुर्दशा देख्दा मनै कुँडिने दुल्लूका इतिहासविद् भूपालविक्रम शाह बताउनुहुन्छ । 

नेपाली भाषामा लेखिएको अभिलेख सबैभन्दा पुरानो शाके ९०३ अर्थात् विसं १०३८ हो जसलाई त्यस समयका ‘कर्णाली प्रदेशीय नागराजका उत्तराधिकारी दामुपाल’को कालखण्डको भाषालिपि भनिएको छ । नेपाली भाषाको उत्पत्ति जुम्लाको सिञ्जाबाट भएको मानिए पनि लिपिबद्ध गरिएको इतिहास भने दैलेखसँग जोडिएको मानिन्छ । अहिले दुल्लु नगरपालिका रहेको पौवा दरबारलाई साँस्कृतिक सङ्ग्रहालयका रुपमा विस्तार गरिएको नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले बताउनुभयो ।
दैलेखमा एक हजार बढी मूर्तअमूर्त सम्पदा छन् । योगी नरहरिनाथ पछाडिका विज्ञले यसको पुनःलेखन गरेका छैनन् । दैलेखका पत्रकारले इतिहासको पुनःलेखन भनेर अभियान थालेको भए पनि स्थानीय तहले यसतर्फ ध्यान नदिएका कारण धेरै वस्तु हराउँदै र मासिँदै गएको नेपाल पर्यटन पत्रकार संघका केन्द्रीय सचिव विष्णु शर्मा बताउनुहुन्छ ।

दुल्लुमा दुई शिलालेख भएका स्तम्भका बीचबाट मोटरबाटो बनाइएको छ । यो दृश्य देख्दा लाग्छ, यी शिलालेखले पनि कुन दिन कसको घरको भित्तो वा बारीको पर्खाल बनेर उभिनुपर्ने हो ! कुनै युगका साक्षी, ऐतिहासिक महत्वका सम्पदा यी शिलालेखका नजीकै फोहर थुपारिएको हुन्छ । शिलालेखको महत्व बुझेका मानिस यिनलाई हेर्न आउँदा गर्व गर्नुभन्दा दुःखी भएर फर्किने गरेका छन् । केन्द्रीय सरकार र स्थानीय तहको उदासीनताले ‘क’ र ‘ॐ’शब्दको अस्तित्व सङ्कटमा छ । ढुङ्गाको आधा भाग फुटिसकेको छ । अहिले अहिले ढुङ्गालाई फलामे बारले घेरिएको छ । नरहरिनाथले जिल्ला भ्रमणका क्रममा इतिहास खोतल्ने बेला दैलेखमा भाषालिपिको इतिहास रहेको जानकारी गराएपछि मात्र मानिसहरूलाई यसको ज्ञान भएको हो ।
विसं १०३८ को साहुपाल अडैद्वारा लिखित शिलास्तम्भबाट प्रारम्भ भएको नेपाली भाषाको शुरुआत बारेमा भिन्नभिन्न बहस भएको भाषाविद् प्रा डा मधुसूदन गिरी बताउनुहुन्छ । दुल्लुमा भाषालिपिसँगै रहेको शाके १२७९ अर्थात् विसं १४१४ को ‘कृति खम्ब’ पनि सँगै छ ।

३२ थरको उद्गम
दैलेखका ३२ स्थानबाट ३२ थर उत्पति भएको मानिन्छ । कोइराल गाउँबाट कोइराला, रिजुबाट रिजाल, दहबाट दाहाल, लम्सुबाट लम्साल, नेपाबाट नेपाल, कट्टीबाट कट्टेल, बस्तेकोटबाट बस्ताकोटी, खनबाट खनाल, दुल्लुबाट दुलाल, भुर्तीबाट भुर्तेललगायत थरको उत्पति भएको विभिन्न वंशावलीमा उल्लेख छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल दैलेख आउनुभएका बेला नेपा गाउँ(नेपालको उत्पतिस्थल) मा रहेको तियाडीबाट ‘पुर्खाको माटो’ काठमाडौंँ लिएर गएको स्थानीयवासी माधव खनालले जानकारी दिनुभयो । दाहालहरूले दह भन्ने स्थानलाई पुख्र्यौली थलो मान्दै पुराणसमेत लगाएका छन् । कट्टी भन्ने स्थानमा काठमाडौंँबाट विभिन्न थरका व्यक्ति आफ्नो पुर्खाको जन्मथलो भन्दै घुम्न आउने गरेको स्थानीयवासी शान्तिप्रसाद शर्माले बताउनुभयो ।

दैलेखको पञ्चकोशी इतिहास बोकेको क्षेत्र हो । अझ कोटिला, श्रीस्थान, नाभिस्थान, पादुका, धुलेश्वर, भैरवीलगायत क्षेत्रले पञ्चकोशी क्षेत्रका रूपमा परिचय बनाएका छन् । सयौँ वर्षदेखि पञ्चकोशी क्षेत्रका विभिन्न स्थानमा ज्वाला बलिरहेका छन् । वैश्वानर पुराणमा उल्लेख भएबमोजिम महादेवले कामदेवलाई भष्म गर्दा उनको नेत्रबाट निस्किएको ज्वालालाई एकत्रित गरी फाल्दा ज्वालाको उत्पत्ति भएको जनविश्वास छ । त्यही आधारमा पञ्चकोशी क्षेत्रमा हरेक वर्ष शिवरात्रिमा मेला लाग्छ ।
खानी तथा भूगर्भ विभागको अध्ययनमा यो पेट्रोलियम पदार्थ भएको क्षेत्र पनि हो । त्यही पदार्थका कारण ज्वाला निस्किएको हो । दैलेखका ४० सम्पदा खानी तथा भूगर्भ विभागको सूचीमा सूचीकृत छन् । तिनीहरूको वर्गीकरणका आधारमा संरक्षणमा पहल गरिने विभागले जनाएको छ । श्रीस्थानमा शाके १७५७ को शिला अभिलेख छ ।

शिरिस्थान मन्दिरमा शाके १७५९ मा चढाइएका घण्ट अहिले पनि देख्न सकिन्छ । पुराना मूर्ति र घण्ट धेरैजसो चोरी भइसकेका छन् ।
पादुका मन्दिरमा रहेको शाके ११३६ को जैन तीर्थङ्कर महावीरको मूर्तिको विशेष महत्व छ । त्यस्तै सिञ्जा साम्राज्यका राजा अशोक चल्लका समयमा स्थापित साउना कार्की र साउका कक्र्यानी अभिलेखसहितको स्तम्भले पञ्चकोशी क्षेत्रको महत्व झनै बढाएको उद्योागी नरेन्द्र थापा बताउनुहुन्छ । सदरमुकाममा रहेका पञ्चदेवल, कोतगढीलगायत स्थानसँगै दैलेखको सबैभन्दा अग्लो स्थानमा पर्ने महावु धामको पनि धार्मिक महत्व छ । (रासस)

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना