परामर्शको कमीले नेपाली युवा अन्योलमा

गोरखापत्र समाचारदाता

काठमाडौं, भदौ १६ गते । नेपाली किशोर/किशोरी तथा युवाको साझा समस्या हो के पढ्ने ? कुन पेसा रोज्ने ? के गर्दा भविष्य सुरक्षित र सफल हुन सक्ला ? यसको उत्तर पाउने ठाउँ कहीँ कतै पनि छैन । आफ्नै बुद्धिले सबै भ्याउँदैन यसका लागि परामर्श दिने ठाउँ अहिलेसम्म छैनन् ।
बौद्धिक परिवारका सन्तानलाई त परिवारले केही हदसम्म बाटो देखाउन सक्छन् तर सामान्य परिवारबाट भविष्य बनाउन चाहनेका लागि ठूलो अन्योल सिर्जना हुन्छ । अन्योलमा अगाडि बढ्दा जीवनमा न चाहेजस्तो हुन्छ न खोजेजस्तो ।
यो होला कि त्यो होला कि भन्दाभन्दै केही नहुने अवस्थामा पुग्नुपर्छ । क्षमता भएकाहरू पनि अन्योलबाट गुज्रदा क्षमताअनुसारको सफलता हासिल गर्न सक्दैनन् । अन्योलका बीचमा धेरैतिर हात हाल्ने तर कतै पनि सफल र सन्तुष्ट हुन नसक्ने अवस्थामा छन् धेरै युवा ।
नेपालमा करियर काउन्सिलिङको अवधारणा र व्यवस्था नहुँदा यस्तो अवस्थाबाट युवा गुज्रनुपर्ने बताउँछन् विज्ञहरु । युवा तथा श्रम विज्ञ विष्णु खत्री भन्नुहुन्छ–“आइडिया दिने कोही भएन, बुझाइदिने निकायको पनि अभाव छ । यस्तो अवस्थामा काम गर्न गाह्रो पर्छ, सहयोगका प्रक्रिया (सपोर्ट सिस्टम) र आवश्यकताका आधारमा फलो अप हुँदैन, परामर्शका प्याकेज भएनन् । सीपलाई कसरी प्रयोग गर्ने ? बजार कसरी खोज्ने ? वित्तीय साक्षरता लगायतका अति आवश्यक कुरा पनि सिकाइँदैन ।”  youth
शिक्षा, रोजगारी, पेशा व्यवसायसँग सम्बन्धित रहेर युवालाई परामर्श दिने गरिएको छैन । गरेको कामको क्षेत्र कति व्यापक छ भन्ने बारेमा जानकारी पाउन सके ढुक्कले काम गर्न सक्ने वातावरण बन्न सक्छ । सरकारका विभिन्न निकायबाट दिइने तालिमहरुमा पनि दोहोरोपन रहेको छ । विभिन्न निकायले एउटै खालका तालिम दिन्छन् ।
कतिपय अवस्थामा परिवार पनि सहयोगी नहुँदा र आफ्ना अधुरा इच्छा डाक्टर इञ्जिनियर लगायतका केही सीमित पेशालाई मात्र इज्जत प्रतिष्ठासँग जोड्ने गरेका कारण पनि युवाको भविष्य अन्योल हुन पुग्ने बताउनुहुन्छ खत्री ।
उहाँ भन्नुहुन्छ–“हामीसँग बनिबनाउ धारणा छन् जसले यो राम्रो यो नराम्रो भनेर निर्धारण गर्छन् ।” परिवारले सन्तानको इच्छा नबुझिँदा र डाक्टर, इन्जिनियर बन्दा मात्र समाजमा इज्जत प्रतिष्ठा हुन्छ भन्ने मानसिकताका कारण पनि धेरैको भविष्य अन्योलग्रस्त हुन पुगेको छ ।
दाङ घोराहीका एक युवक कलेजमा अंग्रेजी साहित्य र पत्रकारिता पढ्न चाहनुहुन्थ्यो । सात वर्षअघि बोर्डिङ स्कूलबाट प्रथम श्रेणीमा राम्रो अंकसहित एसएलसी उत्तीर्ण उहाँलाई परिवारको ठूलो दबाब भयो विज्ञान विषय पढ्नका लागि । एकपटक पढ्न नसक्दा परिवारको दबाबमा दोहो¥याएर अर्को कलेजमा विज्ञान विषयमै भर्ना गरियो । यसबाट पनि परिणाम सोचेअनुरुप हुन सकेन । उनी बाध्य भएर स्वीकार त गरे तर विज्ञानले उनलाई छुनै सकेन र उनले विज्ञानमा आफूलाई भिजाउन सकेनन् परिणाम पढाई लथालिंग जीवन अन्योलग्रस्त । यसबाट उनी मानसिक तनाव भोग्दै छन् ।
सरकारी निकायबाट पनि सम्भावनाका क्षेत्रहरु पहिल्याइदिने काम भएको छैन । तालिम दोहोरिएझैं व्यवसायहरु पनि दोहोरिन्छन् । कुन क्षेत्रमा के कति जनशक्तिको आवश्यकता छ, कुन उत्पादनको कति आवश्यकता छ भन्ने निर्धारण हुन सकेको छैन । यसबाट कतै आवश्यकताभन्दा धेरै उत्पादन भएको छ भने कतै उत्पादन नै हुन सकेको छैन ।
श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत रहेको व्यावसायिक सीप विकास तालिम केन्द्र ललितपुरका तालिम अधिकृत रमा उपाध्यायले विभिन्न सरकारी निकायबाट दिइने तालिम र तालिम लिने व्यक्ति पनि पटक पटक दोहोरिने गरेको बताउनुहुन्छ । तालिम पछि के गर्ने र कसरी गर्ने भन्ने अन्योल हुँदा यस्तो प्रवृत्ति बढ्न सक्छ । पढाइ र तालिमसँगसँगै परामर्श जोडिन सक्दा मात्र खोजेको नतिजा पाउन सकिने धारणा व्यक्त गर्नुहुन्छ विज्ञ खत्री ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना