तितेकरेलाबाट मासिक १५ लाख आम्दानी

भैरहवा समाचारदाता

भैरहवा, भदौ १७ गते । तिते करेलाको व्यावसायिक खेतीबाट रूपन्देहीका किसानले लाखौँ आम्दानी गरेका छन् । बर्सेनि अर्बौं रुपियाँको तरकारी भारतबाट आयात भइरहेको अवस्थामा रूपन्देहीको शुद्धोदन गाउँपालिका–३ सियाभारका लक्ष्मण अधिकारी र सोही गाउँका प्रकाश खनालले तरकारीमा स्वदेशमै आत्मनिर्भर बन्न सकिने नमुनासमेत प्रस्तुत गर्नुभएको छ ।
खनालले तीन बिघामा र अधिकारीले एक बिघामा छुट््टाछुट्टै गरी चार बिघा खेतमा तिते करेला खेती गरिरहनुभएको छ । प्रदेश ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव यमनारायण देवकोटाका अनुसार यो परिमाणमा करेला खेती भएको प्रदेशमै पहिलो हो । titekarela
कृषक अधिकारीका अनुसार एक बिघा खेतमा करेला खेती गर्न सरदर पाँच–सात लाख रुपियाँ खर्च हुन्छ । करेला लगाएको दुई महिनामा उत्पादन सुरु हुन्छ र तीन महिनासम्म लगातार उत्पादन भइरहन्छ । तीन महिनामा ४५ लाख रुपियाँ बराबरको करेला उत्पादन गरेर बिक्री गर्ने गरेको अधिकारीले जानकारी दिनुभयो । अहिले दिनमा दस क्विन्टल उत्पादन भइरहेको छ, प्रतिकिलो न्यूनतम ५० रुपियाँका दरले बिक्री हुन्छ, उहाँले भन्नुभयो । एक बिघा खेतबाट कम्तीमा १५ लाख रुपियाँको करेला बेच्न सकिने अधिकारीले बताउनुभयो । करेलासँगै काँक्रा र सिमीसमेत लगाउन सकिने भएकाले त्यसबाट अतिरिक्त आम्दानी लिन सकिने उहाँको भनाइ छ ।
जाडो महिनाबाहेक अरू महिना जुनसुकै मौसममा करेला खेती गर्न सकिँदो रहेछ, तीन महिनामा एक बिघामा तीन सय क्विन्टलसम्म फलाउन र पाँच देखि सात लाख कमाउन सकिँदोरहेछ, अधिकारीले भन्नुभयो, वर्षमा एक बिघा करेला खेतीबाट कम्तीमा दस लाख कमाइ हुन्छ । हाल नेपालमा खपत हुने ९० प्रतिशतभन्दा बढी तिते करेला भारतबाट आयात हुने गरेको र बिचौलियाका कारण मूल्यमा अस्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने अधिकारीको गुनासो छ । उत्पादित करेला बुटवलस्थित कृषि उपज थोक बजार केन्द्रमा बिक्री हुने गरेको छ ।
पहिलोपटक सुरु गरेको तिते करेला खेतीबाट उत्साहित अधिकारी थप जग्गामा पनि करेला खेती गर्ने सोचमा हुनुहुन्छ । शुद्धोधनकै अर्का किसान प्रकाश खनालले तीन महिनामा न्यूनतम ४५ लाख रुपियाँ बराबरको करेला उत्पादन गरेर बिक्री गर्ने गरेको बताउनुभयो । सरकारले स्वदेशी उत्पादनको बजारीकरण र उचित मूल्यका लागि सानो सहयोग मात्रै गर्ने हो भने किसानहरू अझै उत्साहित हुन्छन्, उहाँले भन्नुभयो ।
हाल नेपालमा खपत हुने ९० प्रतिशतभन्दा बढी तिते करेला भारतबाट आयात हुने गरेको र बिचौलियाका कारण मूल्यमा अस्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने खनालको गुनासो छ । अहिले रूपन्देहीमा तिते करेलाको बजार मूल्य सरदर ८० रुपियाँ प्रतिकेजी छ । बेमौसमी खेती भएकाले तिते करेलाको माग र मूल्य दुवै राम्रो हुन्छ । चाडपर्वको सिजन सुरु भएकाले दसैँ–तिहारसम्म नै तिते करेलाको माग हुने गर्छ । अहिले अचार बनाउन प्रयोग हुने तिते करेला सबै भारतबाट आयात हुने गरेकाले उत्पादन बढाउन सके आचारका लागि पनि स्वदेशकै करेला खपत हुनसक्ने खनालको भनाइ छ ।
खनालले अर्को वर्षदेखि आफ्नो करेला पूर्ण रूपमा अर्गानिक तरिकाले उत्पादन गर्ने योजनामा रहेको बताउनुभयो । सरकारले तरकारी र अन्य कृषि उत्पादन बढाउन भारतले जस्तै मलखाद, बीउ बिजन, सिँचाइ, ट्याक्टर खरिद आदिमा भारी मात्रामा अनुदान दिनुपर्ने खनालको माग छ । त्यसो नगर्दासम्म नेपाली किसानले जति प्रयास गरे पनि प्रतिस्पर्धा गर्न कठिन हुन्छ र कृषि पेसा दीर्घकालीन हुन सक्दैन, उहाँले भन्नुभयो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना