समृद्ध नेपाल र इन्जिनियरका सवाल

hari bdr thapaहरिबहादुर थापा

 


मुलुकले लोकतान्त्रिक विधिबाट स्थायी तथा बलियो सरकार पाएको छ । सरकारले समृद्ध मुलुकको कार्ययोजना प्रस्तुत गरिरहँदा इन्जिनियरिङ जनशक्तिको सरोकार पहिलो र आधारभूत शर्त हो भन्ने कुरामा कुनै दुईमत रहँदैन । लामो राजनीतिक संक्रमणकाल पश्चात् मुलुकले राजनीतिक स्थिरतासँगै आर्थिक समृद्धिको दिशा पक्रिन सकेन भने परिवर्तनको औचित्य साबित गर्न सकिँदैन । आर्थिक समृद्धिको लागि पूर्वाधार विकास र पूर्वाधार विकासको लागि इन्जिनियरिङ जनशक्तिको पहिचान, क्षमता विकास तथा परिचालन एवं मनोबल कायम राखिराख्नु जरुरी छ ।
पछिल्लो दुई दशकमा नेपालमा इन्जिनियरिङ जनशक्ति उत्पादनमा सरकारी, निजी तथा विदेशी मुलुकहरूले ठूलो योगदान दिएका छन् । तुलनात्मक रूपमा इन्जिनियरिङ शिक्षाको पहँुचमा व्यापक वृद्धि भएको छ । तर, वर्षेनी हजारौको संख्यामा उत्पादन हुने जनशक्तिको सदुपयोग मात्र होइन, गुणस्तर व्यवस्थापन तथा नियमन गर्न समेत कठिनाई महसुस हँुदै गएको छ । नेपालको सन्दर्भमा नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ अनुसार इन्जिनियर भन्नाले परिषद्बाट मान्यता प्राप्त शिक्षण संस्थाबाट इन्जिनियरिङ विषयमा कम्तीमा स्नातकोपाधि प्राप्त व्यक्ति हुनेछ भनी स्पष्ट व्याख्या छ । अङ्ग्रेजी शब्द इन्जिनियर नबुझ्ने मानिस कमै होलान्, यसैगरी यसलाई नेपाली भाषामा अभियन्ता भन्दछन् भनेर थाहा हुने मानिस पनि कमै होलान् ।
समाजमा आज पनि इन्जिनियरको माग मात्र होइन, गरिमा, महìव र अपेक्षा उच्च नै छ । तथापि, इन्जिनियर माथि गुनासोहरू पनि पक्कै छन् । गुनासो त्यसैलाई गरिन्छ कि जोमाथि धेरै अपेक्षा गरिएको हुन्छ । यस अर्थमा, नेपालको इन्जिनियर समाजले नागरिकले अपेक्षा गरे अनुसार र मुलुकको आवश्यकता अनुरूप भूमिका निर्वाह गर्न नसकेको भन्ने बुझ्न सकिन्छ । व्यक्तिगत रूपमा रहेका कमी कमजोरी र खोटहरूलाई सारा व्यवसायिक क्षेत्रसँग जोडेर मूल्यांकन गर्नु वैज्ञानिक र वुद्धिमानी होइन । खराबी सबै क्षेत्रमा छन्, कमजोरी हरेकमा हुन सक्छन् । इन्जिनियरिङ व्यवसाय अपनाउने मानिसहरू पनि यही समाज, संस्कार र आम अभ्यासबाट आएकोले आम मानिसमा हुने कमजोरी अनि समाज, सोच र संस्कारमा विद्यमान खराबीहरू यो पेशामा अपनाउने मानिसहरूमा पनि स्वतः हुन्छ ।
परम्परागत रूपमा इन्जिनियरप्रति समाजको अत्यन्त राम्रो धारणा भए पनि पछिल्लो समयमा यस पेशा तथा पेशा अपनाउने इन्जिनियरप्रति नकारात्मक धारणाहरू समेत प्रवाहित हुन थालेको महसुस हँुदैछ । यो समाज, मुलुक र यो व्यवसाय अपनाउने सबैको चिन्ताको विषय हो । यस व्यवसायप्रतिको विश्वास र गरिमामा आँच आउनाका मुलभूत कारणहरूको समयमा नै निरूपण हुनु जरुरी छ । आफूलाई राम्रो प्रमाणित गर्नुभन्दा अरुलाई नराम्रो प्रमाणित गरी आफू राम्रो देखिने संस्कारमा हाम्रो समाज अभ्यस्त हुँदै गइरहेकोले विशेषतः सार्वजनिक निकायहरूमा समेत प्राविधिक तथा इन्जिनियरहरूलाई कमजोर, निकम्मा र प्रयोजनविहीन साबित गर्न नीतिगत र व्यवहारगत अस्त्रहरू अपनाइएको छ । पछिल्लो पटकको मर्यादाक्रम निर्धारणमा समेत प्राविधिकहरूलाई समान तहको पदाधिकारीभन्दा पछिल्लो क्रममा राखिएको छ । यसको कारणले प्राविधिक भएकै कारण आफू कनिष्ठ कर्मचारीभन्दा पछाडि परेको अवस्था छ । समृद्ध मुलुकको सपना साकार पार्न यसको पूर्वाधारका रूपमा रहेका प्राविधिकहरूको प्रोत्साहन, मनोबल वृद्धि तथा सदुपयोग गर्न कुनै पनि हालतमा चुक्नु हँुदैन । मर्यादा, सेवा प्रवेश तह, सुविधा तथा क्षमता विकासको वर्तमान अभ्यासमा पुनरावलोकन गरिनु अत्यावश्यक छ ।
विश्वव्यापीकरण र आर्थिक उदारीकरणको आधुनिक जमानामा पुँजी, प्रविधि र जनशक्ति सीमाहीन भएर रहेका हुन्छन् । यस्तो अवस्थामा मुलुकको प्राविधिक जनशक्तिलाई समृद्ध मुलुकको महाअभियानमा सदुपयोग गर्न सकिएन भने यसलाई मुलुकको भौगोलिक सीमाभित्र सीमित गर्न सकिँदैन र यसबाट केवल विदेशी मुलुकले मात्र फाइदा लिन सक्छन् । हामी केवल जनशक्ति उत्पादन केन्द्रमा सीमित हुने सम्भावना हुन्छ । सामान आयात गर्न सजिलो र सस्तो हुन सक्छ तर जनशक्ति उत्पादन र आयात गर्न तत्कालै सम्भव हँुदैन र सस्तो पनि हुँदैन भन्ने कटुसत्यलाई हामीले समयमै स्वीकार गर्नुपर्छ । अन्यथा नेपालीले विश्व बनाउने तर उस्तै नेपाल अर्को पुस्तालाई छोडेर जाने विडम्बनायुक्त पुस्ताका रूपमा यो पुस्ता दरिने जोखिम रहन्छ ।
आफ्ना हक अधिकार, कार्यक्षेत्र, पेशागत सुदृढीकरण तथा सेवाको सुरक्षा गर्ने मामिलामा समेत प्राविधिक क्षेत्र, विशेष गरी इन्जिनियर समाज स्वयं उदासिन रहने कारणले यो क्षेत्रप्रति सर्वसाधारणमा सकारात्मक भावना सञ्चार गर्न नसकेको देखिन्छ । अरु बलिया भए भन्ने चिन्ता पटक्कै होइन, विद्यालयदेखि पहिलो बेञ्चमा बसेर पढेका अनि कडा प्रतिस्पर्धाबाट छानिएर देश विदेशका नाम चलेका शैक्षिक संस्थामा अध्ययन गरेर विशिष्ट अंकका साथ पास भनिएका प्राविधिकहरू यति साह्रै कमजोर र आलोचित किन भन्ने प्रश्न गहन हो । कि हाम्रो समग्र शिक्षा प्रणाली नै खराब हो भन्ने मान्यता स्थापित गर्न सक्नुप¥यो कि हाम्रो जनशक्ति व्यवस्थापन नै त्रुटिपूर्ण छ भनेर स्वीकार गरी सुधारका पाइलाहरू चाल्न ढिला गर्नु भएन । मुलुकका उत्कृष्ट विद्यार्थी मध्येबाट छानिएर आएका प्राविधिक तथा इन्जिनियरहरूप्रति आम समाजको सकारात्मक धारणा कायम हुन नसक्नु भनेको विडम्बना हो । कतै हामी क्षणिक लाभमा अरुको स्वार्थमा त दुरुपयोग
भइरहेका छैनौं ?
प्राविधिक जनशक्तिलाई उनीहरूको अध्ययनकै भरमा विकास निर्माणको जिम्मेवारी दिएर कार्यस्थलमा खटाइएको हुन्छ । कार्यालयभित्र कुर्ची टेवलमा बसेर काम गर्ने अप्राविधिक अधिकृतहरूलाई छ महिना लामो अभ्याससहितको आवासीय तालिम दिएर मात्र कार्यस्थलमा खटाउने राज्यले करोडौंको आयोजनामा संलग्न हुने प्राविधिक प्रकृतिको जिम्मेवारी दिएर दूरदराजमा खटाउँदा केही महिनाको व्यवसायिक तालिम दिनुपर्दछ भन्ने सोचले अहिलेसम्म सार्थकता पाउन सकेको छैन । बढुवा प्रयोजनका लागि समेत अप्राविधिक सेवा समूहका कर्मचारीहरूको लागि तयार पारिएकै सेवाकालीन तालिम लिन बाध्य पारिएको छ । अहिलेसम्म नेपालको सार्वजनिक निकायमा कार्य गर्ने इन्जिनियरको लागि प्रशिक्षण केन्द्र समेत सञ्चालन भएको छैन । विकास निर्माण तथा आयोजनामा हुने कामको गुणस्तर भनेको त्यसमा संलग्न हुने कर्मचारी तथा प्राविधिकको व्यवसायिक क्षमतामा भरपर्ने विषय हो । प्राविधिकको व्यवसायिक क्षमताको विकास हुनका लागि उसले प्राप्त गरेको औपचारिक शिक्षा आधारभूत तथा सैद्धान्तिक ज्ञान मात्र हो । नेपालको प्राविधिक क्षेत्र लगभग यही प्रारम्भिक ज्ञानको भरमा जसोतसो चलिरहेको वा टिकिरहेको हो भन्दा फरक नपर्ला । व्यवसायिक क्षमता विकासको लागि सैद्धान्तिक ज्ञान, तालिम, नियमित अभ्यास, अवसर, अवलोकन, ज्ञानको हस्तान्तरण, समूह कार्य, प्रयोगशाला परीक्षण तथा परिपक्व सुपरिवेक्षणको आवश्यकता पर्दछ । विभिन्न आयोजनाहरू तथा निकायमा कार्यरत प्राविधिकहरूको व्यवसायिक क्षमता विकासका लागि वैदेशिक तालिम, अवलोकन वा यस्तै अवसर आउँदा पनि प्राविधिक नै मनोनयन गरी पठाउनुपर्दछ भन्ने सोच र परिपाटी निर्णयकर्तामा अझै पलाउन सकेको छैन । केही प्राविधिक छनौट भए पनि पहुँच र प्रभावका आधारमा मात्र छनौट हुने गरेको छ । हाम्रा विकास आयोजनाहरूले अपेक्षा गरेको गुणस्तर र उपलब्धि हासिल गर्न नसक्नाको प्रमुख कारण प्राविधिक जनशक्तिको क्षमता विकासप्रतिको उदासिनता एक प्रमुख कारण हो । निजी कलेजलाई इन्जिनियर अध्ययन गराउन सम्बन्धन दिने बाहेक प्राविधिक जनशक्तिको क्षमता विकास गर्न राज्यले देखिने गरी प्राथमिकता दिएको महसुस गर्न कठिन छ ।
नीतिगत तथा संगठित रूपमा यस क्षेत्रप्रति हुने पूर्वाग्राही कार्यलाई व्यक्तिको पहलभन्दा पनि नेपाल इन्जिनियर्स एसोसिएसन जस्ता संगठित संस्थाले दीर्घकालीन नीति तथा कार्ययोजना बनाई सबै सदस्यहरूको पूर्ण विश्वासका साथ राज्य र सम्बन्धित सरोकारवालाहरूसँग समन्वय र सहकार्य गर्ने हो ।
नेपाल इन्जिनियरिङ परिषद् नियमावली, २०५७ को नियम १८ मा इन्जिनियरका आठवटा व्यवसायिक आचारसंहिता स्पष्ट उल्लेख गरेको छ । व्यवसायिक अभ्यासका क्रममा कम्तीमा पनि ती आठवटा आचारसंहिता स्मरण मात्र गर्न सके पनि कुनै इन्जिनियरले लज्जित हुनुपर्दैन ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना