महिलाको प्रतिनिधित्व कम्तीमा तेत्तीस प्रतिशत बनाउन माग

गोरखापत्र समाचारदाता

काठमाडौंँ, भदौ १८ गते । नेपाल महिला सङ्घले नेपाली काँग्रेसको वडा समितिदेखि केन्द्रीय समितिसम्मका सबै निकायमा पदाधिकारीसहित कम्तीमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ ।  सङ्घका अध्यक्ष उमा रेग्मीले आइतबार पत्रकार सम्मेलनमार्फत् क्रियाशील सदस्यता वितरण गर्दा पार्टीमा सक्रियरूपमा काम गरिरहेका महिलालाई प्राथमिकताका साथ सदस्यता दिनुपर्ने बताउनुभयो ।
सङ्घले टिकट वितरण गर्ने संसदीय समितिमा केन्द्र, प्रदेश, जिल्ला, क्षेत्र र वडा तहमा पनि सङ्घका सम्बन्धित तहका अध्यक्षलाई समावेश गर्नुपर्नेमा जोड दिएको छ । पार्टीले निर्वाचन लड्नका लागि स्थानीय तहमा ५० र प्रदेश, सङ्घमा न्यूनतम ३३ प्रतिशत महिलालाई टिकट दिनुपर्ने माग पनि संघले राखेको छ ।
यस्तै, मधेसमा खस आर्यलाई आरक्षणको व्यवस्था गर्नुपर्ने, क्रियाशील सदस्य शुल्क विधानमा तोकिएभन्दा बढी जिल्लाले उठाउन नपाउने, क्रियाशील सदस्यता वर्षैपिच्छे नवीकरण गर्नुपर्ने र अधिवेशनको एक वर्ष अगाडि रोक्नुपर्ने माग गरिएको छ ।
संघले विशिष्ट क्रियाशील सदस्यलाई मात्र मताधिकार हुने व्यवस्था गर्न पनि माग गरेको छ । हाल काँग्रेसमा विधान मस्यौदा समितिले पार्टीको विधान संशोधनका लागि कार्य गरिरहेको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना