धाम र धारणा

Narayan p paudelनारायणप्रसाद पौडेल


जोसँग बढी सम्बन्ध, माया, प्रीति र मित्रता हुन्छ, त्यसैसँग मनमुटाव, झै–झगडा पनि धेरै चल्छ । त्यस्तै छ नेपाल–भारत सम्बन्ध तथा राजनीतिक र धार्मिक धाममा पनि । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएछ – नेपाल र भारतको सम्बन्ध भगवान् श्रीराम र माता सीताको पालादेखिको हो, गौतम बुद्धका पालामा आउँदा अझ फराकिलो भयो । अहिले त झन् मित्रतामा विविधता र पवित्रता पनि थपिएको छ । ’ साँच्चै भन्ने र मान्ने हो भने पारिवारिक, धार्मिक, सांस्कृतिक र भौगोलिक सम्बन्धमा यति निकटता छ कि दुवै देशले अहिलेसम्म एकअर्को देशको नागरिकलाई राहदानीको आवश्यकताबोध समेत गरेका छैनन् । अहिले बल्ल आवत–जावतलाई सुव्यवस्थित गर्नुपर्ने र अभिलेख राख्नुपर्ने चर्चा चलेको छ । सीमा सुरक्षामा अलि कडाइ गरिंदैछ । त्यो कडाइ र पुनर्मूल्याङ्कन राजनीतिक, पारिवारिक, धार्मिक र सांस्कृतिक सम्बन्धमा पनि गर्नुपर्ने अवस्था तयार भएको छ ।
भारतका सबै प्रधानमन्त्री नरेन्द्र मोदीजस्तै धार्मिक सन्त, महान् र नेपालप्रेमी हुन नसकेझै, नेपालका शासक पनि के.पी. ओलीजस्तै नहोलान् । पुर्खाले चलाएका परम्परागत मूल्य मान्यतामा आफ्नोपन खोज्ने, पडोसीलाई दुत्कार्ने, भाषा, भेष, रहनसहन र खानपान मिल्नेसँग मात्र नजिकिने, अरूसँग टाढिने र टेढिने, नाकाबन्दी गर्न र गराउन आग्रह गर्नेहरूले आत्मीयतामा जातीयताको विष घोलेर छर्दा समाज, संस्कृति र धर्म पनि विषाक्त हुँदै गएको छ । त्यसको छनक भारततिर तीर्थ गर्न जाने र धाममा धाउने नेपालीले पाएकै हुनुपर्छ । दिल्लीसहित जगन्नाथ र गंगासागर, रामेश्वरम्, द्वारका र बद्री केदार पुगेर फर्केकामा भविष्यमा फेरि त्यता जान नपरोस् भन्ने भावना पैदा हुन थालेको छ । आवश्यक सुरक्षा र सम्मान नपाउँदा लगानी खेर गएको र परम्परा धान्न मात्र पुगेको भन्ने पुस्ता बढ्दैछ । काँशी, गया, कामख्या, हरिद्वार, ऋषिकेश, अयोध्या आदि ठाउँमा जहाँ जाँदा पनि गरिने व्यवहार सेवामूलक छैनन् पटक्कै ।
व्यापारीकरण गरिएका छन् धार्मिक क्रियाकलाप र कर्मकाण्डी कार्यमा पनि । मान्छेले आफूजस्तै मान्छे र पृथ्वीबाटै उत्पादित पौष्टिक खाद्यान्नलाई समेत जातमा वर्गीकरण गरी गरेको अपमान मेटेर आधुनिक समाज सुहाउँदो संस्कार र संस्कृतिको सुरुवात गर्न नसक्ने हो भने इतिहासको गौरव र दन्त्यकथामा सीमित हुन पुग्नेछ हाम्रो धर्म । विधर्मी वा प्रतिस्पर्धीले उछिन्ने छन् । नेपाल र भारतमा भइरहेका धर्म परिवर्तनलाई हेरे पुग्छ, प्रष्टसँग देखिन्छ । यतिबाटै शिक्षा लिन सकिन्छ ।
भव्य र विशाल मन्दिरका मूर्ति र पूजा आजाका प्रचलनमा समयानुकूल सुधार आवश्यक छ । मन्दिरभित्रका आस्थाका प्रतीक बोल्दैनन्, अह्रन खटन पनि गर्दैनन् । उनका नाममा मठाधीशद्वारा गरिने क्रियाकलाप असहाय र विपन्नको सेवाप्रतिको समर्पणभन्दा अर्थोपार्जन र शोषणका आधार बनेमा स्वीकार्य हुन गाह्रै पर्नेछ आगामी पुस्तालाई । अनि आफ्नै ठाउँमा विकल्प खोज्ने छन् धेरै ठाउँका श्रद्धालु भक्तजनले पनि । जैन, बुद्ध, इसाई, इस्लाम, शिख आदि त्यसैका उपज हुन् । अब पशुपतिनाथ, मुक्तिनाथ, जनकपुर, त्रिवेणी, देवघाट, स्वर्गद्वारी, शैलेश्वरी, खप्तड र पाथीभाराजस्ता अनेक पवित्र तीर्थस्थललाई धाम बनाएर यतै तीर्थाटनको चलन चलाउने हो भने नेपाली धन त बँच्छ नै, मन पनि चङ्गा हुन्छ । अपमान सहन पर्दैन । पराई मुलुकमा पकेटमारबाट लुटिने डर हुँदैन । पण्डाका डण्डाले वितण्डा मच्चाउने सम्भावना पनि रहँदैन । हाम्रा पुर्खाले त्योबेला तोकेका भारतका चारधाममा पुगेर गरेका तर्पण र पिण्डमात्रै पितृले पाउने, नेपालका पवित्र तीर्थस्थलमा गरेमा नपाउने भन्ने कुरा सैह्य हुँदैन । हिन्दू धर्मका संरक्षक मानिएका नेपाली महापण्डितहरू र पञ्चाङ्ग निर्णायक समितिका पदाधिकारीले पनि सोचुन् । भविष्यमा नपछुताउन र भावी पुस्ताबाट पनि सम्मानित हुन चाहने हो भने समय छँदै विकल्प खोजुन् ।
तीर्थाटनका लागि भारतमा जाँदा नेपालीहरू यति धेरै ठगिन्छन् कि कुरा गरी साध्यै छैन । पचासौँ र सयौँ वर्षपहिले त्यस्ता ठाउँमा पनि हाम्रा पुर्खाहरू कसरी गएर फर्के होलान्जस्तो लाग्छ अहिले अशोभनीय व्यवहार व्यहोर्दा । नेपाली सीमाना कटेर गएपछि रिक्सा, बस, ट्याक्सी वा रेल चढ्दा होस् वा आवासका लागि धर्मशालामा कोठा लिँदा होस्, परम्परागत पवित्र कर्मकाण्ड पूरा गर्दा होस् वा होटल, लज र पर्यटकीय सूचना केन्द्रमा पुग्दा, नेपाली, बिहारी र उत्तर प्रदेशतिरबाट गएका हिन्दी भाषीलाई गर्ने व्यवहार मानवीय खालका हुँदैनन् । दुई दशक अघिसम्म नेपालीप्रति गरिने व्यवहार ठीकै खालका लाग्थे । अहिले त नेपाली देख्दासाथ ‘मुर्गा आया, मरमसला ठीक पारो, काटो, खाओ’ भनेर सोहीअनुसारको सत्कार गरेजस्तो लाग्छ । शिकारीको जालमा परेको माछो फुत्केर फेरि पानीमा जान जति कठिन हुन्छ, उस्तै छ सकुशल नेपाल फर्कन ।
हामी नेपालीहरू पनि तीर्थ गर्न जाने भनेपछि सबै कुरा भगवान्ले हेर्छन्, चोर र पकेटमारले के लछार्छन् ? भन्ने खालका धेरै हुन्छौँ । हाम्रा महान् आस्थाका प्रतीक मानिएका मन्दिरभित्रका मूल्यवान् मूर्तिले आफ्नै रक्षा गर्न नसकेको बिर्सन्छौँ । पहेलो र सेतो बस्त्र पहिरेका, पुजारी र पण्डा बनेका सबै सज्जन हुन्छन्, खाकीको बर्दी भिरेका पुलिसले पापकर्म गर्दैनन् भन्ने ठान्छौँ । पकेटमारदेखि लिएर होटल, लज र सवारी साधनहरूमा हुने लुट्पाट्मा तिनैका सूचना र सङ्केतले काम गरेको हुनसक्छ भन्नेतिर कत्ति पनि सोच्दैनौँ । आफ्नै सोझोपनले ठगिएको, लुटिएको ठान्छौँ, मान्छौँ । भाषाको समस्यामाथि पूर्वतयारी र योजनाविहीनता थपिन्छ । अनि जहाँ जाँदा पनि ठगिइन्छ, लुटिइन्छ । यस्तो किन
पारिन्छ ? नेपालकै महìवपूर्ण पवित्र तीर्थस्थललाई चारधाम तोकेर, मान्ने चलन चलाएर चल्दा सबै जोगिन्छ । अपमान सहन पर्दैन । इज्जत र पैसा त बँच्छ नै, दिएका दानको पनि सदुपयोग हुन्छ । पुण्य पनि मिल्छ ।
दिल्लीलाई नेपाली राजनीतिको निकास निकाल्ने धाम बनाउँदा देशको विकास जाम भयो । जति सङ्घर्ष र क्रान्ति गरेर, जुन तन्त्र ल्याए पनि, जस्तो मन्त्र जपे पनि, जस्ता व्यवस्थाको जामा पहिरे पनि, जस्तो संविधान लेखे पनि उन्नतिको उकालो उक्लनभन्दा सधैँ ओरालो झर्नुपर्ने हाम्रो बाध्यता धाम् र धर्मकै गलत ठाउँ छनोटको परिणति हुनसक्छ । भारतका महìवपूर्ण चारकुनाका अति पवित्र तीर्थस्थललाई हिन्दू धर्मका प्रमुख धाम बनाउँदा नेपालीहरू पाइलैपिच्छे लुटिन र ठगिन परेको छ । आफ्नै देशका महìवपूर्ण पवित्र तीर्थस्थललाई हेला गर्दा चोर र चण्डालको फेला परेको सम्झन र बुझ्नप¥यो अब । जति ढिला गरिन्छ उति अपमान सहन पर्छ । सम्मानित हुन चाहनेले पहिला आफ्नै ठाउँको सम्मान गर्न सिक्न प¥यो । आफ्नो जन्मभूमि, जननी र पवित्र तीर्थस्थलको सेवा नगरेकाले, अर्काका जननीलाई आफ्नो ठानेकाले, अपमान सहन पर्नु स्वाभाविकै हो । अन्यथा मान्न मिल्दैन ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइ जति सही छ, उत्तिकै सही छ नेपालीहरू पछाडि पर्नुमा आफ्नै ठाउँको अपमान तथा धाम छनोटमा गरेको गल्तीले अग्रगतिको बाटो जाम भएको कुरा पनि । जाम खोल्न धाम परिवर्तन गर्नै पर्छ र संस्कार पनि सुधार्न पर्छ । पुरानै चालचलन र विधि विधानले नयाँ सरकार नचले झै हो सबैतिर । शताब्दियौँ पहिले त्यो बेलाका लागि बनेका विधिविधान ठीक थिए, धाम पनि उपयुक्त रहे होलान् । अहिलेलाई छैनन्, हुँदैनन् । राम्रा नतिजाका लागि हामै्र धाम पर्याप्त छन् । अर्काका भर पर्दा र आश गर्दा धोका खानु, ठगिनु, ठीकै हो ।

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना