पारवहन तथा ब्यापार प्रोटोकल अन्तिम चरणमा सबै बन्दरगाहमा पहुँच दिन चीन सकारात्मक

 
विश्वास रेग्मी

काठमाडौँ, भदौ २१ गते । चीनले आफ्ना सबै बन्दरगाहको प्रयोगको सुविधा नेपाललाई उपलब्ध गराउने सकारात्मक सङ्केत दिएको छ । राजधानीमा बुधबारदेखि सुरु नेपाल–चीन पारवहन तथा यातायात सम्झौताको प्रोटोकल (कार्यविधि) सम्बन्धी छलफलमा चिनियाँ पक्षले सबै बन्दरगाह र त्यहाँसम्मको सहज रुट प्रयोग गर्न दिने विषयमा खुला भएको हो ।
प्रोटोकलमा १५ वटा आर्टिकलहरू रहेको र त्यसमध्ये आधाभन्दा बढी आर्टिकलहरूमाथिको छलफल बुधबार टुङ्गिएको र बाँकी बिहीबार टुङ्ग्याउने नेपाली टोलीका नेतृत्व गर्नु भएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशङ्कर सैंजुले बताउनुभयो । 1_3
उहाँले भोलिसम्ममा सबै विषय टुङ्गोमा पुग्ने गरी वार्ता अघि बढेको र भोलि सबै विषय टुङ्गिने सम्भावना रहेको बताउनुभयो ।
चीनसँगका पछिल्ला वार्ता सकारात्मक र उपलब्धिमूलक बन्दै गएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले बताउनुभयो । ‘खुला हृदयले हामीले प्रस्ताव गरेका छौँ र चीनतर्फबाट पनि खुला हृदयले नै बन्दरगाह प्रयोग गर्न दिने कुरा आएको छ’ उहाँले भन्नुभयो । चीनमा ३४ ओटा मुख्य बन्दरगाह र दुई हजारभन्दा बढी साना बन्दरगाह सञ्चालनमा छन् ।
चिनियाँ पक्षसँगको छलफलका क्रममा नेपालले सबै सामुद्रिक र सुख्खा बन्दरगाह प्रयोग गर्न पाउने प्रस्ताव गरेको सहसचिव ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाललाई उपयुक्त बन्दरगाहरू पहिचान गरी चिनियाँ पक्षलाई नेपालले जानकारी गराइसकेको छ । बिहीबारसम्म जारी रहने बैठकमा चीनका बन्दरगाह र रुटको प्रयोगका विषयमा छलफल हुनेछ । बैठकमा १० सदस्यीय नेपाली टोलीको नेतृत्व मन्त्रालयका सहसचिव सैंजुले गर्नुभएको छ । त्यस्तै परराष्ट्रमन्त्रालयका सहसचिव सुशील लम्साललगायतका प्रतिनिधि सहभागी हुनुुहुन्छ भने चीनका ११ सदस्यीय टोलीको नेतृत्व त्यहाँका यातायात विभागका महानिर्देशकले गर्नुभएको छ ।
दुई वर्षअघि सन् २०१६ मा प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा रहँदा दुई देशबीच पारवहन तथा व्यापार सम्झौता भएको थियो । गत असारमा प्रधानमन्त्री ओली चीन भ्रमणमा रहँदा उक्त सम्झौता कार्यान्वयन गर्ने कार्यविधिमा हस्ताक्षर हुने भनिए पनि पर्याप्त तयारी नपुगेको भन्दै आगामी असोज १५ गतेभित्र यसलाई टुङ्ग्याउने सहमति भएको थियो । सोही सहमति अनुसार दुई देशबीच यस अघि ल्हासा, बेइजिङ र तेस्रो पटक काठमाडौँमा छलफल भइरहेको छ ।
छलफलमा नेपालले बन्दरगाहबाहेक त्यहाँसम्मको रुटको विषयलाई प्राथमिकताका साथ अघि सारेको सहसचिव ढकालले जानकारी दिनुभयो । बन्दरगाहसम्मको छिटो, सहज र प्रभावकारी रुट पत्ता लगाएर चिनियाँ पक्षसँग नाम प्रस्ताव गरिएको पनि उहाँले बताउनुभयो । ‘सम्झौताको कार्यविधिले कस्तो गाडी जाने, कहाँबाट जाने, यात्रु लान पाउने कि नपाउने, कार्गो कसरी लाने जस्ता विषय टुङ्ग्याउने भएकाले प्रक्रियाचाहिँं लामो नै हुन्छ’ उहाँले भन्नुभयो । कार्यविधिलाई सकेसम्म अहिले नै टुङ्ग्याउने गरी नै छलफल भइरहेको उहाँले बताउनुभयो । यसमा हस्ताक्षर भइसकेपछि सन् २०१६ को उक्त सम्झौता कार्यान्वयनमा आउने उहाँले जानकारी दिनुभयो ।
बैठकमा ल्याउन पाइने सामानको विषयमा पनि छलफल हुनेछ । चीनले पनि नेपालतर्फको सुरक्षा र यातायात प्रक्रियाको बारेमा चासो व्यक्त गरेको छ । नेपालले चीनका सबै बन्दरगाह प्रयोग गर्न पाउने प्रस्ताव राखे पनि बढी उपयुक्त हुने त्यान्जान, झियानझिङ र सिगात्से सुख्खा बन्दरगाहको विषयमा छलफल भएको छ । नेपालले चीनको बन्दरगाह उपयोग गर्न पाएको अवस्थामा तेस्रो मुलुकको ढुवानी खर्च कम हुने अपेक्षा गरिएको छ । खासगरी दक्षिण कोरिया, जापान र ती देशको नजिकका देशबाट सामान ल्याउँदा नेपाललाई सहज हुनेछ । त्यस्तै भारतसँगको मात्र निर्भरता पनि घट्दै जाने अपेक्षा गरिएको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना