जुम्लामा बनाएर उडाइयो प्याराग्लाइडिङ


नेत्र शाही

लाम्रा, भदौ २३ गते । जुम्लामा जुम्लाका युवाले नै बनाएको प्याराग्लाइडिङको सफल उडान भएको छ । जुम्ली युवा टक्कबहादुर नेपालीले बनाएको प्याराग्लाइडिङ जुम्ली आकासमा उडाइएको हो ।
करिब डेढ वर्ष लगाएर बनाइएको सो प्याराग्लाइडिङको परीक्षण भव्य कार्यक्रममा गरिएको हो । नेपालीको आफ्नै घर जुम्ला सदरमुकामबाट पश्चिम लाम्राको इज्जा डाँडाबाट पत्रकार सम्मेलन गरी जुम्लाकै पाइलटहरू लोकेश शाही र पदम शाहीले उडान गर्नुभएको हो ।
सयौं स्थानीयको माझमा लाम्रा गाउँको आकाशमा मानिस चरा जस्तै गरी उडेपछि भने स्थानीय दङ्ग परेका छन् । दुईवटै परीक्षण उडानको करिब १५ मिनेट लाम्रा गाउँको इज्जा डाँडामा करिब दुई किलोमिटर माथिबाट आकाशमा उडाइएको थियो ।
दुईवटा परीक्षण उडान गरिएको लाम्रा गाउँमा प्याराग्लाइडिङकर्ता स्थानीय टक्क नेपाली र स्थानीय मनोज बुढाथोकी मगरले सयर गरेका थिए । आफैले बनाएको प्याराग्लाइडिङमा आकासमा पुगेपछि केही त्रास त भयो तर सफल अवतरण भएपछि निकै ठूलो आनन्द भएको टक्कले बताउनुभयो । paraglading
कर्णाली एरोडाइनामिक क्लब एन्ड रिसर्च सेन्टरको आयोजना, नेपाल पत्रकार महासङ्घ, जुम्ला र नेपाल पर्यटन पत्रकार सङ्घ, जुम्लाको समन्वयमा आयोजना गरिएको परीक्षण उडान तथा पत्रकार सम्मेलन कार्यक्रमका अध्यक्षसमेत रहेका टक्क नेपालीले आफूले धेरै नपढेको र सीमित स्रोतसाधन सहितको विद्यालय र सानो वर्कसपबाट सिकेको सीपले आज प्याराग्लाइडिङ बनाएर उडान गर्न सफल भएको हर्ष व्यक्त गर्नुभयो ।
उहाँले आफूले सानैबाट अहिलेसम्म सिकेका विज्ञान प्रविधिका सयौँ कामपछि प्याराग्लाइडिङ बनाउन सफल भएको र अब यसलाई व्यावसायिक रूपमा काम गर्न सरकारका सबै प्रक्रिया अपनाउने बताउनुभयो । अहिलेसम्म यो काम गर्दा रु. पाँच लाख खर्च भएको र करिब डेढ वर्ष खर्चेको उहाँले जानकारी दिनुभयो ।
अब भने राज्यले ऋण दिएर व्यवसाय सक्षम भएमा कर्णालीमै व्यावहारिक रूपमा उडान क्षेत्रका विभिन्न काम गर्न सकिने बताउनुभयो । गाउँको सामान्य विपन्न परिवारको छोराले चमत्कारिक काम गरेको देख्दा स्थानीय खुसी छन् । टक्क सार्की आकासमा चराजस्तै उडेपछिको १५ मिनेट भने उनका ६० वर्षीय बुबा भक्तबहादुर र आमा दिउला सार्कीले पनि हेरिरहनुभएको थियो । छोरो कति बेला खस्ने हो कि भने डर लागिरहेको बेला सकुशल उत्रदा खुसी भएको भक्तबहादुरले बताउनुभयो ।
टक्क सार्कीले बनाएको प्याराग्लाइडिङको उडान सफल भएपछि गाउँमा अबिर जात्रा पनि भएको थियो । गाउँले सबैले अबिर माला र दुवोले टंक र पाइलटहरूलाई रङ्ग्याइदिएका थिए । जुम्ली युवाले गरेको सिर्जनात्मक काम र साहसिक प्याराग्लाइडिङको पहिलो सयर एसिया इन्टरनेसनल बोर्डिङ स्कुलका संस्थापक मनोज बुढाथोकीले गर्नुभएको थियो ।
यो सिर्जनात्मक कामलाई व्यावसायिक रूप दिन आवश्यक रहेको उहाँले बताउनुभयो । बुढाथोकीले प्रोत्साहन स्वरुप रु. १० हजारसमेत टक्क नेपालीलाई प्रदान गर्नुभयो । टक्कले पर्यटन प्रवद्र्धनको मुख्य स्रोत जुम्लामा यो सम्भावना भएकाले राज्यलाई सहयोग गर्ने गरी काम गर्ने बताउनुभयो ।
जुम्ला साविकको कुडारी गाविस एवं हालको तिला गाउँपालिका–४, जुम्ला साँपुल्ली गाउँका ३३ वर्षीय लोकेश शाही र ३२ वर्षीय पदमबहादुर शाहीले पाँच वर्ष भारतको मनालीमा रहँदा प्याराग्लाइडिङ सम्बन्धी सीप सिकेका थिए । दुवैले बुधबार जुम्ली आकाशमा कसैले नपत्याएको काम गरे । भारतमा गरेको सीप यहाँ प्रयोग गर्न पाइयो अब व्यावसायिक रूपमा अगाडि बढ्न आवश्यक रहेको पत्रकार सम्मेलनमा पाइलट लोकेश शाहीले बताउनुभयो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना