अव्यावहारिक अन्त्येष्टि संस्कार

man bdr bistaमानबहादुर विष्ट

 


हिन्दू वैदिक सनातन धर्ममा सोह्र संस्कार छन् । त्यसमा गर्भाधानदेखि अन्त्येष्टिसम्म पर्छन् । प्रचलनमा आएका मुख्य संस्कारमा नामकरण, अन्नप्रासन, चूडाकर्म, विद्यारम्भ, यज्ञोपवित, विवाह र अन्त्येष्टि हुन् । यद्यपि व्यक्तिको विश्वास, व्यस्तता र अनुकूलअनुसार संस्कार मान्ने र चलाउने कुरामा पनि परिवर्तन हुँदै आएको छ । कतिपय गलत संस्कार हट्दै गएका छन् भने कतिपयमा सुधार हुँदै आएको छ । यो समयक्रमअनुसार सुधार हुँदै जानु राम्रो विषय हो ।
कतिपय चलन धर्मशास्त्रमा स्पष्ट उल्लेख छन् भने कति संस्कार र विधि त शास्त्रको आधारमा भन्दा पनि पण्डितको व्याख्याका आधारमा गरिँदै आइएको छ । जातपात भन्ने कुरा शास्त्रको होइन तर चलनमा रह्यो । कानुनले यसलाई खारेज गरिसकेको छ । जातपात वा रङको आधारमा हुने भेदभाव दण्डनीय अपराध मानिन्छ ।
सतीप्रथा यस्तै गलत परम्पराको अर्को उदाहरण हो । श्रीमान्को मृत्युपछि श्रीमती सती जानुपर्ने चलन गलत थियो, त्यो उन्मूलन नै भयो । अहिलेका पुस्तालाई त्यस्तो चलन थियो भन्ने सुन्दा पनि अपत्यारिलो लाग्छ । दास प्रथा पनि थियो पहिले । यो पनि उन्मूलन भइसकेको छ । यस्तै कलिलो उमेरमा विवाह गरिदिने अर्को गलत चलन थियो केही वर्ष अघिसम्म पनि । पहिलो रजस्वला नहुँदै विवाह नगरिदिए धर्म नष्ट हुने कुरा हुन्थ्यो । लामै समयसम्म यो प्रचलन रह्यो तर अहिले २० वर्ष उमेर नपुगी विवाह गरिदिनु गैरकानुनी हुन्छ । दण्ड जरिवाना लाग्छ । कुनै बेला बहुविवाह सामान्य प्रचलनमै थियो । अहिले यो पनि गैरकानुनी हुन्छ । बालविवाह, अनमेल विवाह, बहुविवाह सबै गैरकानुनी भयो । जात नमिल्नेसँग विवाह गर्दा जात जाने कुरा हुन्थ्यो, त्यो पनि बदलिइसकेको छ । यो समयले ल्याएको परिवर्तन हो ।
अब बदलिनुपर्ने अर्को महìवपूर्ण विषय हो– अन्त्येष्टि अर्थात् अन्तिम संस्कार । अन्तिम संस्कार मानिसको मृत्युपछि गरिने संस्कार हो । विभिन्न धर्म, संस्कृति र स्थानअनुसार यो फरकफरक हुन्छ । हिन्दू संस्कारभित्रै नेपाली समाजमा पनि ठाउँ र समुदायअनुसार केही फरक छ । वेद र वेदका शाखाअनुसार पनि फरक हुन्छ । वैदिक ग्रन्थ छोडेर निर्णयसिन्धुका आधारमा यस्ता संस्कारहरू सम्पन्न गरिने चलन बढ्दै गएपछि कतिपय प्रमाणित नहुने कुरा पनि प्रचलन बनेर आएका छन् । त्यसले हिन्दू धर्मलाई नै बदनाम गराउँदै लगेको छ ।
हिन्दू धर्ममा अन्त्येष्टि संस्कार मृतकको सुख र कल्याणका निम्ति गरिन्छ । यसले यस लोकको भन्दा पनि परलोकको जीवनलाई सुखमय बनाउने विश्वास गरिन्छ । मानिसको नश्वर शरीर जलाएर नष्ट गरिए पनि आत्मा अमर हुन्छ भन्ने मान्यता छ । यसैले मान्छे मरेपछि मृतकको आत्मा परिवार र आफन्तको मायाले त्यतै वरिपरि घुमिरहने र त्यसरी भड्किएको आत्माको कारण मृतकले दुःख पाउने र आफन्तलाई पनि हानिनोक्सानी पु¥याउने भएकोले आत्मालाई पवित्र बनाएर पितृलोकतिर बिदा गर्न सही विधिअनुसार अन्तिम संस्कार गर्नुपर्छ भन्ने मान्यता रहेको छ ।
अन्त्येष्टि संस्कारमा मृतकको शवलाई श्मशानघाटसम्म लैजाने, चितामा राख्ने, मुखाग्नि दिने, मलामीले गर्ने शुद्धी, मृतकका छोरा र परिवारले आशोच बस्ने, दाजुभाइले बार्ने सबै विधि छन् । एक वर्षसम्म अपवित्र हुने भएकोले त्यो समयमा के गर्ने र के नगर्ने विधि पनि छन् । आशोचको पनि नियम छ । हिन्दू संस्कारमा १३ दिनसम्म आशोच बार्ने सामान्य प्रचलन छ । यो समयमा आशोचको नियमअनुसार किरिया बस्ने चलन छ र त्यस्तो किरिया बस्नेलाई प्रेतात्माले नपिरोस् भनेर गरुड पुराण सुन्ने सुनाउने आम प्रचलन छ तर हिन्दू धर्मशास्त्रले भन्दा पनि पण्डितले चलाएको कर्मकाण्डको चलनको कारण यस्तो संस्कार बस्दै जाँदा कतिपय कुरा विकृत बनेका छन् भने कतिपय नयाँ युगअनुसार मिल्दो खालका पनि छैनन् । यसैले १३ दिनको आशोच बार्ने चलनलाई अब हटाउने, घटाउने र विधिमा पनि सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ ।
पहिलो त मृत्युपछि प्रेत बन्ने मान्यता नै बेठीक छ । भूतप्रेत, बोक्सी, डंकिनीजस्ता कुरा अन्धविश्वास हुन् । यसर्थ प्रेतात्मालाई पितृलोक पु¥याउन पिण्डदान गर्ने र त्यसका निम्ति १३ दिनसम्म आशोच बार्ने कुरा ठीक छैन, यो बदल्नुपर्छ । पिण्डदान गर्ने, काट्टो खुवाउने, शैय्यादानलगायत ब्राह्मणलाई बस्त्र, आभूषण, गाई, फर्निचर आदि अनेक दान दक्षिणा गरेर पितृलाई प्रेतबाट पार लगाउने र पितृलोक पु¥याउने मान्यता मृतक वा पितृका लागि भन्दा पनि ब्राह्मणको फाइदाका लागि सिर्जना गरिएको विधिजस्तो बुझिन्छ । यो धर्मशास्त्रले नभई निर्णयसिन्धु, कर्मकाण्ड विधि र परम्पराले अनि फाइदाअनुसार पण्डितको व्याख्याको परिणाम भएकोले धार्मिक मान्यताभित्रै बसेर पनि १३ दिने आशोच विधि र संस्कार बदल्न सकिन्छ । वास्तवमा यो १३ दिन पनि शुरुको चलन होइन । पहिले १३ वर्षको हुन्थ्यो भने पछि ६ महिनाको, ४५ दिनको हुँदै १३ दिनको बनाइएको हो ।
मृत्यु संस्कार यसै पनि शोकको समयमा गरिने संस्कार हो । त्यस्तो बेलामा शोकमा परेको आफन्तलाई झन् कष्ट दिएर मृतकले पुण्य पाउन सक्तैन । फेरि अहिलेको व्यस्त जीवन, हातमुख जोड्नकै लागि पनि दिनरात जुट्नुपर्ने अवस्था, पढाइगुनाइका लागि छुट्याउनुपर्ने समय, कार्यालय वा व्यापार व्यवसाय, उद्योगधन्दा, शहरी जीवनशैली, अनेक रोगब्याधि, खानपान र देश विदेशमा छरिएर रहेका सन्तानको अवस्थालाई विचार गर्दा पनि यस्तो कठोर विधि व्यावहारिक छैन । त्यसो त कतिपय ठूला व्यक्तित्वले आशोच नै नबार्ने, दाहसंस्कारकै विधि पनि पालना नगर्ने वा यो संस्कार नै नमान्ने गरेको समेत देखिएको छ । धर्म नमान्ने वा नास्तिक भएका कारण नबार्नेको कुरा बेग्लै हो, आस्तिक र धर्म मान्नेका लागि भने यो विधिलाई व्यावहारिक र शास्त्र अनुकूल सहज बनाउन जरुरी छ । यसै पनि वृद्ध, बालबालिका, असाध्य बिरामी र युद्ध, विपत्ति या त्यस्तै अवस्थामा नबार्ने वा कम बार्ने वा बीचमा मिसिनेजस्ता व्यवहार मिलाउन अनेक काम त हुँदै आएकै छन् ।
यसैले पनि १३ दिने आशोचको विधिलाई एक दिन, तीन दिन, पाँच दिन वा सात दिनमा सक्नुपर्ने बहस भइरहेको छ । यसरी छोट्याउने पद्धति पनि छ । पाँच दिने अन्त्य पद्धतिको त पुस्तक नै आएको छ । यसर्थ अन्तिम संस्कारमा १३ दिने आशोच बार्ने समयलाई नयाँ पद्धतिअनुसार धर्मसभा बसेर तीन वा पाँच दिनमा झार्ने गरी निर्णय हुन उपयुक्त हुन्छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना