शिक्षा दिवसको सार्थकता

baburaj karkiबाबुकाजी कार्की

शिक्षा दिवस नाराको सार्थकता कार्यान्वयनको कसीमा फिक्का साबित भएको विगतका तीता अनुभवहरू यथावतै छन् । शिक्षा क्षेत्रको गरिमा कायम राख्ने गरी शिक्षा दिवसका कार्यक्रम लक्ष्यित भएको प्रायः पाइँदैन । यस वर्ष पनि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले “समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति विकास एवम् दिगो शैक्षिक पूर्वाधार” भन्ने आदर्श वाक्यकासाथ ३९ औँ शिक्षा दिवस तथा ५२ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउने घोषणा ग¥यो । शिक्षा दिवसजस्तो राष्ट्रिय पर्वमा कुनै ठोस कामको सुरुवात गर्ने र त्यसको प्रत्यक्ष अनुभूति शिक्षक, विद्यार्थीलगायतका सरोकारपक्षले गर्न पाउने खालको नारा तय गरिनु बुद्धिमानी हुन्छ । पछिल्ला वर्षको नारामा समावेश गरिएका शब्दहरू विगतका शिक्षा दिवसमा पनि कुनै न कुनै रूपमा समावेश भएकै पाइन्छ तर नारालाई सार्थकतामा बदल्ने कुनै रणनीतिक योजना सार्वजनिक गरिँदैनन् । त्यसकारण यो दिवसको आदर्श वाक्य पनि विगत वर्षको जस्तै कर्मकाण्डी नहोला
भन्न सकिन्न ।
शिक्षा क्षेत्रमा भएका कतिपय समस्या र चुनौतीहरूको उदाहरणीय रूपमा सम्बोधन हुन सकेका छैनन् । सङ्घीय कानुनको अभाव, अस्थायी शिक्षक तथा कर्मचारीको दिगो व्यवस्थापन चुक्नु, भूकम्प तथा बाढी पहिरोबाट भएको क्षतिको सम्बोधन, निजी विद्यालयको नियमन, पाठ्यपुस्तक तथा शैक्षिक सामग्रीको पर्याप्त उपलब्धता, शिक्षक दरबन्दीको न्यायोचित वितरण, विद्यार्थीको न्यून उपलब्धि स्तर, ड्रपआउट (विद्यालय छाड्ने), तथा चरम स्वार्थी राजनीति हावी आदि वर्तमानमा शिक्षाका जल्दाबल्दा चुनौतीहरू हुन् ।
प्राथमिकदेखि उच्च शिक्षासम्म झण्डै ९० लाख विद्यार्थी र तिनीहरूको करोडको हाराहारीमा हुने अभिभावक, पाँच लाख शिक्षक, कर्मचारीलगायत अन्य सरोकार पक्ष समेतको आँकडाको हिसाबले लगभग सबै नेपाली परिवारको शिक्षा दिवसमा प्रत्यक्ष परोक्ष सहभागिता हुनसके मात्र शिक्षा दिवसले सार्थकता पाउन सक्छ । शिक्षा दिवस शुरु वर्षको जस्तो रौनक र उल्लाह पछिल्ला वर्षमा टाक्सिँदै कर्मकाण्डीय हुन पुगेको जगजाहेर छ ।
नेपालमा शिक्षा दिवस २०३१ सालदेखि मनाउन थालिएको हो । यो दिवस २०३२, २०३३, २०३४, २०३६, २०३७ र २०६३ मा मनाइएको थिएन । शिक्षा दिवस २०३१ देखि २०६२ सम्म फागुन १२ गते मनाइँदै आएको र २०६२–६३ को जनआन्दोलनपश्चात् सेप्टम्बर ८ अर्थात् भदौ २३ गते पर्ने अन्तर्राष्ट्रिय साक्षरता दिवसका दिन दिवस मनाउने गरिएको हो ।
नेपालमा शिक्षाको विकास र विस्तार शिक्षा दिवसको सुरुआतभन्दा अगाडि वि.सं १९१० मा दरबार स्कूलको स्थापनादेखि संस्थागत भए पनि २००७ सालमा प्रजातन्त्रको प्रादूर्भाव भएपछि सङ्ख्यात्मक र गुणात्मक वृद्धि र विकासकासाथै आधुनिकीकरणले गति लिएको हो । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०५५ अनुसार वि.सं. २००७ मा प्राथमिक ३२१, निम्न माध्यमिक २०० र माध्यमिक विद्यालय ११ मात्र सञ्चालित थिए । जसमा कुल भर्ना प्रतिशत शून्य दशमलव ९ मात्र थियो । पछि नयाँ शिक्षा योजना लागू भएपश्चात् २०२९ सालसम्ममा भर्ना प्रतिशत बढेर ३२ पुगेको थियो । पछिल्लो तथ्याङ्कअनुसार वर्तमानको प्राथमिक तहको खुद भर्ना दर ९७ प्रतिशत पुग्नुलाई उत्साहजनक उपलब्धि मान्नुपर्छ । साक्षरता प्रतिशत ५ दशमलव ३ बाट बढेर पछिल्लो तथ्याङ्कअनुसार ६६ दशमलव ९ प्रतिशत पुगेको छ । जसमध्ये महिला ५७ दशमलव ४ र पुरुष ७५ दशमलव १ प्रतिशत छ । अहिले साक्षर नेपालको नारासहित साक्षरता प्रतिशत बढाउने विभिन्न नीति र कार्यक्रम सघन रूपमा सञ्चालन हुँदै आएका छन् । पछिल्लो शैक्षिक तथ्याङ्कअनुसार शिक्षाको सङ्ख्यात्मक विकास र विस्तार उत्साहजनक भएको पाइन्छ तर जस पाउने गरी गुणात्मक उपलब्धिका लागि अझै समय र स्रोत खर्चिनुपर्ने देखिन्छ ।
भनिन्छ, बालीनालीका लागि एक वर्ष, फलफूलका लागि दश वर्ष र मानिसलाई सुशिक्षित गर्न कम्तीमा एक सय वर्षको योजना बनाउनुपर्छ । विद्यार्थीको सङ्ख्यात्मक र गुणात्मक अवस्था र वृद्धि शिक्षाका सञ्चालक तथा जागिरेहरूको आधार हो अर्थात् विद्यार्थी वास्तवमा शैक्षिक क्षेत्रमा कार्यरत पदाधिकारीका अभिभावक हुन्, किनकि उनीहरूकै कारणले यस क्षेत्रमा लाग्ने व्यक्तिहरूलाई पदीय हैसियत र रोजगारी प्राप्त भएको छ । यस अर्थमा पनि शिक्षा दिवसको केन्द्रविन्दुमा विद्यार्थी र उनीहरूको गुणस्तरीय पठापाठनलाई राखिनुपर्छ ।
शिक्षा दिवसको नारालाई सार्थकता दिन विद्यार्थी केन्द्रविन्दुमा राखेर दूरदर्शी शैक्षिक योजना बन्नु पहिलो शर्त हो । विद्यार्थी, शिक्षक, व्यवस्थापन समितिलगायतका सम्बद्ध पदाधिकारीको गुणस्तरीय शिक्षा विकासका लागि दृढ इच्छाशक्ति उत्पन्न गर्न गराउन नसकेको कारणबाट आशातित शैक्षिक उपलब्धि हासिल हुन नसकेको हो । शिक्षा दिवसमा प्रदान गरिने पुरस्कार छनोटमा वस्तुनिष्ठ र पारदर्शी नहुनु, राम्राले भन्दा पनि हाम्राले प्राथमिकता पाउने कारणबाट कतिपय पुरस्कृत व्यक्तिले गर्व गर्न नसकेको तथा विगतमा आफूले पुरस्कार पाउन योग्य नभएकोले भनि पुरष्कृत व्यक्तिले पुरस्कारसमेत फिर्ता गरेको तीतो सत्य पनि हाम्रोसामु छ ।
शिक्षा दिवसजस्तो पावन पर्वमा यस्ता अपारदर्शी र स्वार्थी क्रियाकलापले यो दिवसकै गरिमामा आँच पुग्ने वास्तविकता निर्णयकर्ताले नबुझ्नु दुर्भाग्य हो । तसर्थ शिक्षा दिवसमा प्रदान गरिने पुरस्कार र प्रशंसा पत्र प्रदान गर्ने मापदण्ड मुठ्ठी कस्ने र चिल्लो घस्नेबाट निस्कलङ्क राख्दै वस्तुनिष्ठ अनुगमन र मूल्याङ्कनका आधारमा हाम्रोभब्न्दा पनि राम्रोलाई, परिक्रमाभन्दा पराक्रमलाई प्रोत्साहित गर्ने र पारदर्शी हुनुपर्छ । शिक्षा क्षेत्रलाई राजनीतिभन्दा पनि शिक्षा नीतिबाट निर्देशित हुने संस्कारको विकास गरिनुपर्छ ।
सचेत अभिभावक, समर्पित शिक्षक, कुशल व्यवस्थापक तथा अनुशासित विद्यार्थी एवं शिरमा समझदारी, काँधमा जिम्मेवारी र हृदयमा इमानदारी बोकेका व्यवस्थापन समिति पदाधिकारी, प्रधानाध्यापकलगायत सरकारी गैरसरकारी निकायका पदाधिकारीबीच आपसी सद्भाव, सहयोग, सहकार्य, समन्वय र समीक्षा(पाँच स) मा मात्र शिक्षा दिवसको नाराले सार्थकता प्राप्त गर्नेछ ।

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना