डराउनु पर्दैन व्यावसायिक पत्रकार

dipak khanalदीपक खनाल

यही भदौ १ गतेदेखि मुलुकी संहिता जारी भएपछि यसका पक्ष विपक्षमा तर्क–वितर्कहरू आइरहेका छन् । उक्त संहितामा उल्लिखित चिकित्सासम्बन्धी विषयलाई लिएर चिकित्सकहरूले त बिरामी नै नजाँच्ने धम्की दिएर आन्दोलन घोषणा गरे । उपचार गर्ने शपथ खाएर चिकित्सा पेशामा लागेका उनीहरू बिरामीलाई अलपत्र पारेर सडकमा गए । उक्त ऐन लागू भएपछि झल्याँस्स भएर नेपाल पत्रकार महासङ्घले पनि केही दफा संशोधनका लागि आन्दोलन घोषणा ग¥यो । भदौ ३ गते बसेको महासङ्घको केन्द्रीय समिति बैठकले मुलुकी (फौजदारी) संहिता २०७४, मुलुकी (देवानी) संहिता २०७४ तथा गोपनीयताको हकविरुद्धको कसूरसम्बन्धी व्यवस्थाका केही प्रावधानहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित पार्ने अनुमान लगाउँदै ती बुँदाहरू संशोधन गरी पूर्ण प्रेसमैत्री बनाउन सरकारसँग माग गरेको छ तर बैठकले विद्यमान बुँदाहरू संशोधन गरेर के के राख्नुपर्ने हो भन्ने सुझाव दिन सकेको छैन ।
प्रेससँग सम्बन्धित पक्षले उक्त संहिताको भाग–३ वैयक्तिक गोपनीयता तथा प्रतिष्ठाविरुद्वको कसूरअन्तर्गतको परिच्छेद–१ मा उल्लिखित गोपनीयताविरुद्धको कसूरलाई बहसको विषय बनाएको देखिन्छ । दफा २९३ देखि ३०० सम्मका प्रावधानबाट प्रेस स्वतन्त्रता कुण्ठित हुनसक्ने उनीहरूको अनुमान छ । यस अनुमानलाई अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे) ले समेत साथ दिएको छ ।
दफा २९३ मा कसैले दुई वा दुईभन्दा बढी व्यक्तिहरूका बीचमा भएका कुनै कुरा अधिकार प्राप्त अधिकारीको अनुमतिले वा त्यसरी कुरा गर्ने व्यक्तिहरूको मञ्जुरीविना कुनै यान्त्रिक उपकरणको प्रयोग गरेर सुन्न वा त्यस्तो कुराको ध्वनि अङ्कन गर्न नहुने बताइएको छ । तर सार्वजनिक रूपमा गरिएको भाषण वा वक्तव्यको हकमा यो दफा लागू नहुने पनि त्यहीँ खुलाइएको छ । गोप्य स्रोतबाट प्राप्त भएका कतिपय समाचार वा गोप्य रूपमा समाचार सङ्कलन गर्दा त्यसको आधार–प्रमाण जुटाउन सकिँदैन कि भन्ने चिन्ता हुनु स्वाभाविक हो तापनि सार्वजनिक हितका गोप्य रूपमा ध्वनि अङ्कन गरी समाचार सम्प्रेषण गरिएको वास्तविकता सप्रमाण अडियन्स (स्रोता) समक्ष बताउन सकिएमा कुनै अप्ठ्यारो हुँदैन । तर यस्तो कार्य निजी स्वार्थका लागि गरिएको हुनु हुँदैन ।
दफा २९४ मा गोप्य कुरा प्रकट गर्न नहुने विषयमा कसैले आफ्नो व्यावसायिक कामको सिलसिलामा कुनै व्यक्तिबाट थाहा पाएको निजको कुनै गोप्य कुरा कानुनले बाध्य गराएको वा त्यस्तो व्यक्तिले अनुमति दिएको अवस्थामा बाहेक कसैलाई प्रकट गर्न हुँदैन भनिएको छ । यदि सार्वजनिक घात हुने गरी कसैले गलत कार्य गरेको सूचना वा जानकारी सप्रमाण पाइएमा पत्रकारले निर्धक्क भएर सार्वजनिक गर्न सक्छ । उसले डराएर समाचार ‘किल’ गर्नुपर्दैन । किनकि समाचार स्रोतको संरक्षण गर्नु पत्रकारिताको विश्वव्यापी मान्यता नै हो ।
दफा २९५ अनुसार कसैले कुनै व्यक्तिको अनुमतिबिना निजको तस्वीर खिच्न वा निजको तस्वीरसँग अरु कसैको तस्वीर राखी अर्को तस्वीर बनाउन पाइने छैन । यद्यपि सार्वजनिक स्थानको तस्वीर खिच्दा उक्त स्थानमा रहेको कुनै व्यक्तिको तस्वीर खिचिएमा त्यसलाई कसूर नमानिने कुरा प्रस्ट पारिएको छ । खासगरी सामाजिक सञ्जालमा एक व्यक्तिको तस्वीर अर्काे व्यक्तिसँग जोडेर अनर्गल, अश्लील प्रचार गरिँदै आएको छ । त्यसलाई यही दफाको (३) ले बर्जित गरेको देखिन्छ । यसअनुसार अब कसैको तस्वीरको केही भाग अर्को व्यक्तिको अर्को भागसँग राखी वा अन्य कुनै किसिमले विकृत रूपको तस्वीर बनाउन वा प्रकाशन गर्न हुँदैन । अहिले पत्रकार मात्र हैन, सामाजिक सञ्जालका कतिपय प्रयोगकर्ता समेत यस्तो कार्य गर्नमा माहिर भइसकेका छन् । यो प्रावधान त्यहाँसम्मलाई हेरेर ल्याइएको हुनसक्छ । त्यसैले आफ्नो लागि मात्रै केन्द्रित गरी ल्याइएको भनेर मिडियाजगत् तर्सनुपर्ने देखिँदैन । के यो दफामा उल्लिखित कार्य गर्न पाउनु चाहिँ अभिव्यक्ति स्वतन्त्रता हो त ? पत्रकारको सन्दर्भमा माथि भनिएकै प्रसङ्ग दोहो¥याउनु उपर्युक्त हुन्छ । सार्वजनिक हित, जनकल्याण र राष्ट्रविरुद्ध घात गर्नेलाई मिडियाले सार्वजनिक गरेर ‘अडियन्स’ समक्ष जे हो त्यही वास्तविकता खुलाइदिएपछि अप्ठ्यारो होला जस्तो लाग्दैन ।
पत्रकारिता कला भएकाले त्यसमा कला पनि प्रयोग गर्न जान्नुपर्दछ । यस्ता समाचारमा यही ऐनका दफा उल्लेख गरेर कानुनमा यस्तो भनिएकाले थप तथ्य खोज्न सकेनौँ भनेर अडियन्सको विश्वसनीयता कायम राखिराख्न सकिन्छ । समाचार वा समाचार–सामग्री प्रस्तुत भएपछि अन्त्यमा ऐनमा यस्तो व्यवस्था भए पनि सार्वजनिक हितका लागि यसो गरिएको हो भन्न सकिन्छ । यदि सार्वजनिक हितका उद्देश्यले गोप्य रूपमा ध्वनि रेकर्ड गरिएको वा तस्वीर खिचिएको भए आधार र प्रमाण खुलाउनुपर्ने अवस्थामा स्रोतको संरक्षण गरी त्यसलाई सार्वजनिक गर्न सकिन्छ ।
दफा २९६ अनुसार कसैले कुनै व्यक्तिको तस्वीर निजको अनुमतिबिना अरुलाई दिन वा बिक्री गर्न वा निजलाई झिझ्याउन वा सताउने, हैरान पार्ने वा निजबाट कुनै अनुचित फाइदा लिने वा तस्वीरको व्यापारिक प्रयोग गरी फाइदा लिने नियतले प्रकाशन गर्न, प्रचार वा खरिद बिक्री गर्न हुँदैन । यो दफा पनि सार्वजनिक हितका लागि पत्रकारिता गर्नेका हकमा लागू हुन्छ जस्तो लाग्दैन । कसैले निजी स्वार्थका लागि व्यक्तिको तस्वीर दुरुपयोग गरेमा ऊ मात्र सजायको भागीदार हुन सक्दछ । सही उद्देश्यका लागि सार्वजनिक मानिस वा समाचारमा आउन सक्ने नयाँ पात्रको तस्वीर अनुमति लिएरै सम्प्रेषण गर्न सकिन्छ ।
दफा २९७ अनुसार अधिकार प्राप्त अधिकारी वा सम्बन्धित व्यक्तिको अनुमतिबिना कसैको चिठ्ठी खोल्न वा अरुले टेलिफोनमा गरेको कुरा कुनै यान्त्रिक उपकरणको प्रयोग गरेर बीचमा सुन्न वा ध्वनि अङ्कन गर्न हुँदैन । अहिले नेपालका केही पत्रकार (अन्य मानिसबाट पनि) गोपनीयताको हक विपरीत यस्ता गैरकानुनी कार्य गर्दै आएको पाइन्छ । पत्रकारिताको शक्ति देखाएर मानिसलाई तर्साउने गरेको देखिन्छ । पहुँचवाला हुँदैमा वा हातमा कलम, क्यामेरा र कापी छ भन्दैमा नागरिकलाई दुःख र तनाव दिन पाइन्छ त ? कि खुलेरै पाइन्छ भनौं, पाइँदैन भने यसको विरोध किन ?
दफा २९८ मा विद्युतीय माध्यमद्वारा गोपनीयता भङ्ग गर्न नहुने प्रावधान राखिएको छ । कसैले विद्युतीय माध्यममा रहेको वा प्रवाह हुने सूचना, जानकारी, पत्राचार अनधिकृत रूपमा प्राप्त गर्न त्यसको गोपनीयता भङ्ग गर्न वा अनधिकृत रूपमा कसैलाई हस्तान्तरण गर्न वा गराउन हुँदैन । यसो गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपियाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ । यसमा ‘अनधिकृत’ रूपमा मात्र पाइँदैन भनिएको छ । यसको अर्थ राम्रो कार्य वा सार्वजनिक हितका लागि त पाइन्छ भनेको हो नि ?
दफा २९९ अनुसार छलकपटपूर्ण टेलिफोन वा सन्देश प्रवाह गर्न हँुदैन । यस्तो कसूर गर्ने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपियाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ । यो दफाबाट पनि अभिव्यक्ति र प्रेस स्वतन्त्रतामाथि बाधा पुग्ने देखिँदैन । यो पत्रकारप्रति लक्षित छँदैछैन । गलत कार्य गर्ने आम व्यक्तिप्रति लक्षित छ । यसको एकोहोरो विरोध गर्नुको अर्थ छल्ने, धोका दिने, हैरानी पार्ने, सताउने उद्देश्यले छलकपटपूर्ण टेलिफोन वा सन्देश प्रवाह गर्न पाइन्छ भनिएको
हो त ?
दफा ३०० अनुसार कसैलाई डर, त्रास वा दुःख वा हैरानी दिने, अपमान वा बेइज्जत गर्ने बदनियतले कुनै चिठ्ठी पत्र, पर्चा वा अन्य कुनै किसिमको लिखत लेखी, लेखाई वा विद्युतीय माध्यमद्वारा धम्की दिने, सताउने, जिस्क्याउने वा अन्य कुनै किसिमले अनुचित व्यवहार गर्न वा गराउन हुँदैन । यो दफाको पनि कुन शब्दले हनन हुन्छ प्रेस स्वतन्त्रता ? कुन आशयले रोक्छ पत्रकारको कलम ? नागरिक वा पत्रकार हुनुको अर्थ कसैलाई डर, त्रास वा दुःख वा हैरानी दिने, अपमान वा बेइज्जत गर्ने बदनियतले चिठ्ठी पत्र, पर्चा वा अन्य लिखत लेखी, लेखाई वा विद्युतीय माध्यमद्वारा धम्की दिन, सताउन, जिस्क्याउन पाउनुपर्छ भन्ने हो र ? के यो प्रावधान पत्रकारकै गोपनीयताको सुरक्षाकवच होइन र ? माथि उल्लिखित सबै दफाहरू वैयक्तिक गोपनीयतासँग मात्रै सम्बन्धित छन् । यी दफाहरूले नेपालको संविधान (२०७२) को धारा २८ मा रहेको गोपनीयतासम्बन्धी मौलिक वैयक्तिक अधिकार (कुनै पनि व्यक्तिको जीउ, आवास, सम्पत्ति, लिखत, तथ्यांक, पत्राचार र चरित्रसम्बन्धी विषयको गोपनीयता कानुनबमोजिम बाहेक अनतिक्रम्य हुनेछ) लाई अझै संरक्षण गर्न खोजेको देखिन्छ । आम नागरिकको कुरा गर्दा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्न यस्तो व्यवस्था ल्याइएको होइन जस्तो देखिन्छ भने यी प्रावधानहरू प्रेसलाई अंकुश लगाउने मनसायले राखिएको जस्तो लाग्दैन ।
व्यवहारिक पाटो हेर्दा नेपाली पत्रकारिताको सारपूर्ण स्कूलिङ र अभ्यास नकारात्मक कोणबाट अगाडि बढेको देखिन्छ । नन–न्युजलाई न्युज बनाएर सम्प्रेषण गरेको पाइन्छ । त्यति मात्र हैन पत्रकारिताको आवरणमा विकृति बढ्न थालेको छ । इमान्दार पत्रकार पलायन हुने क्रम बढेको छ । कतिपय पत्रकारलाई दैनिक हातमुख जोर्न गाह्रो छ भने कतिपयको काम नै नदेखिए पनि हाइफाइको जिन्दगी चलिरहेको देखिन्छ । पत्रकारिताको आवरणमा कतिपयबाट गोरखधन्दा भएको बताइन्छ तर तिनीहरूमाथि कारबाही भएको देखिँदैन । अतः आचारसंहिताको अक्षरशः पालना गरी व्यावसायिक धर्म निभाएर नैतिक पत्रकारिता गर्नेका लागि यी दफाहरूले केही फरक पार्ने देखिंदैन । गलत र अनैतिक पत्रकारिता गर्नेहरू मात्र हो तर्सनुपर्ने । सार्वजनिक स्थलमा हुने गलत कार्य वैयक्तिक गोपनीयता नहुने भएकाले यसबाट प्रेस स्वतन्त्रता कुण्ठित हुन्छ कि भनेर चिन्तित हुनै पर्दैन । हाउगुजी र आतंक त्यसका लागि हो जसले व्यक्तिको निजी जीवनको सम्मान गर्दैन, गोपनीयतासम्बन्धी मौलिक अधिकारको विरुद्धमा समाचार सम्प्रेषण गर्दछ, जसले सम्पादकीय स्वतन्त्रता र प्रेस स्वतन्त्रताको दुरुपयोग गरेर पत्रकारिताको आवरणमा गलत धन्दा गर्छ ।
बरु यो संहिता महिलाको गोपनीयताका पक्षमा स्पष्ट खुल्न सकेको छैन । समाजवाद–उन्मुख भनिएको अहिलेको राज्यव्यवस्थामा पनि महिलालाई हेर्ने दृष्टिकोण चरम सामन्तवादी नै छ । महिलाको गोपनीयताको विषयलाई शंकाको भरमा समाचार बनाएर जथाभावी सम्प्रेषण गर्ने गरेको पाइन्छ । कतिपय मिडियाले नारीको चरित्रहत्या गरेर उनीलाई समाजमै पुनस्र्थापित हुन नसक्ने गरी निकै खेद्ने गरेको देखिन्छ । महिला गोपनीयताका विषयमा अझ स्पष्ट व्यवस्था गरिएको भए सुनमा सुगन्ध हुने थियो ।

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना