तिल गाउँको चलन: साँझ छ बजेपछि कुनै घरको ढोका खुल्दैन

राजन रावत

लिमी(हुम्ला), भदौ २५ गते । सुन्दा अचम्म लाग्न सक्छ, साँझ ६ बज्न नपाउँदै गाउँ नै सुनसान ! अनि सबै घरमा ताल्चा । यति मात्र होइन घरकै कुनै सदस्य पनि ६ बजेपछि घरभित्र पस्न पाउँदैनन् । हुम्ला जिल्लाको नाम्खा गाउँपालिका वडा नम्बर ६ मा पर्ने तील गाउँको चलन हो यो ।
चारैतिर हिमालै हिमालले घेरिएको बीचको अनकन्टार बस्ती तील गाउँमा ६ बजेपछि सुनसान हुने चलन पुस्तौंदेखि चल्दै आएको स्थानीय पेमा तामाङले बताउनुुभयो । नजिकै बस्ती नभएका कारण चोरीबाट बच्न र महिला सुरक्षित रहन यस्तो जुक्ति अपनाइएको तामाङले बताउनुुभयो । यो गाउँ तीन हजार ७०३ मिटर अग्लो स्थानमा छ ।
धेरै पहिले गाउँमा चोरी हुनुका साथै महिला बलात्कृत भएपछि त्यति बेलाका बुढापाकाले यो उपाय अपनाएको र अहिलेका पुस्ताले पनि त्यसलाई कायमै राखेको उहाँले बताउनुुभयो । भूतप्रेतको डरले पनि बेलुका कोही बाहिर ननिस्कने उहाँको भनाइ छ । til humla
‘बेलुका ६ बजे पछि घरका सदस्य नै किन नहोस्, बन्द गरिएको ढोका खोलिँदैन,’ स्थानीय महिला जाङ्मु तामाङले भन्नुभयो । यसरी निर्धारित समयभन्दा पछि आउने जो कोहीले खुला आकाशमुनि बस्नुको विकल्प नभएको उहाँले बताउनुुभयो ।
यतिखेर कामको सिजन भएका कारण पुरुष तथा युवती काम गर्न ताक्लाकोट जाने र घरमा हेरालु तथा बुढापाका मात्र बस्ने भएपछि बेलुका ६ बजे ढोकामा लगाएको ताला बिहान सात बजे मात्रै खुल्ने गरेको उहाँले बताउनुुभयो । तील गाउँमा बास बस्ने गरी आउनु छ भने बेलुका छ बजे अघि नै आउन उहाँले आग्रह गर्नुभयो ।
कुल ३९ घरधुरी रहेको तील गाउँमा सदरमुकाम सिमकोटबाट पुग्न चार दिन पैदल हिंड्नुपर्छ । यो गाउँबाट नजिकको छिमेकी गाउँ हल्जी पुग्न चार घण्टा पैदलयात्रा गर्नुपर्छ । त्यसैले सुरक्षित रहन गाउँलेले यो उपाय अपनाएका हुन् ।
केही सयम पहिले लिमी पर्यटन महोत्सबको समाचार सङ्कलन गर्न तील गाउँ पुगेका पत्रकार बेलुका ८ बजे गाउँमा पुगे । गाउँमा आजो (दाइ) भनेर बोलाउँदा कोही पनि बोलेनन् । एकाध घरमा फाट्टफुट्ट सोलार बत्ती बलेका थिए । राति १० बजेसम्म बास पाउनका लागि कराए पनि केही नलागे पछि पत्रकारहरू तील गाउँको खुला आकाशमुनि खाना बिनै बस्न वाध्य भए ।
राति बोलाएको नसुन्ने तील गाउँका महिला समूहले बिहान ७ बजेपछि भने जिब्रो टोक्दै अब यस्तो नगर्ने आग्रह मात्र गरेनन्, घरमा लगेर नून, चिया र सातु दिएर स्वागत पनि गरे ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना