जटिल बन्दै निर्मला र झाको हत्या अनुसन्धान

देवबहादुर कुँवर 

काठमाडौँ,  भदौ २७ गते । पूर्वराजदूत केशवराज झा र कञ्चनपुर महेन्द्रनगरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धान जटिल बन्दै गएको छ । पूर्वराजदूत झाको भदौ ४ गते विहान राजधानीको बबरमहलस्थित आफ्नै निवासमा हत्या भएको थियो । बल्तकारपछि हत्या गरिएकी निर्मलाको साउन ११ गते भीमदत्त नगरपालिकाको वडा नम्वर २ र १८ को सिमाना निम्बुखेडा खोला नजिकै रहेको उखुवारीमा शव फेला परेको थियो ।
पूर्वराजदूत झाको हत्या भएको आशंकामा प्रहरीले उनकै घरमा काम गर्ने तीन जनालाई नियन्त्रणमा लिएको थियो । महानगरीय प्रहरी अपराध महाशाखामा प्रहरी उपरीक्षक सोमेन्द्र राठौरको नेतृत्वमा खटिएको अनुसन्धान टोलीले झाको हत्या भएको दावी गरेको छ ।
तर, झा हत्याको आशंकामा नियन्त्रणमा लिएका शंकास्पद तीनजना कामदारको ‘पोलिग्राफ टेष्ट’ गर्दा ‘नेगेटिभ’ नतिजा आएको बताइएको छ । पोलिग्राफ प्रविधिले पनि राजदूत झाको हत्यामा कामदारको संलग्नता रहेको तथ्य पुष्टि गर्न नसकेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीको भनाइ छ ।
पूर्वराजदूत झाको घरमा सुरक्षा गार्ड र मालीको रूपमा काम गर्दै आएका आइते तामाङ, कान्छा तामाङ र जगबहादुर गुरुङलाई स्वास्थ्य, सुरक्षा तथा शारीरिक हित कसुर मुद्दामा अनुसन्धान भइरहेको छ ।
घटनाको प्रकृति हेर्दा ‘झा’ को हत्या नै भएको जस्तो देखिन्छ अपराध महाशाखाका प्रवक्ता नरेन्द्र उप्रेतीले भन्नुभयो, ‘अनुसन्धान भइरहेकाले अहिले थप विवरण दिन सक्ने अवस्था छैन । घटना भएको करीव २४ दिनको उपलब्धि शुन्य जस्तै छ ।’
झाको हत्या अनौठो किसिमले भएको छ, उहाँको घरको वरिपरि अग्लो पर्खाल छ, मूलगेटमा एकजना सुरक्षा गार्ड र कुकुर पालिएको छ । अनुसन्धानमा संलग्न सुरक्षा अधिकारी भन्छन्–अपराधी कहाँबाट छिरे भन्ने कुरा नै पत्तो लाग्न सकेको छैन ।
झा नियमित सुत्ने बेडमा हत्या गरी फालिएको अवस्थामा विहान उहाँकै श्रीमतीले फेला परेकी थिइन । पक्राउ अभियुक्तको पोलिग्राफ परीक्षणमा पनि घटनाको कुनै तथ्य नखुल्नुले घटनाको अनुसन्धान रहस्मय बन्दै गएको हो ।
त्यस्तैं, कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या घटना झन रहस्मय बनेको छ । बालिका पन्तको हत्या अभियोगमा पक्राउ परेका दिलिपसिंह विष्टको ‘डिएनए’ परीक्षण नमिलेपछि झन रहस्मय भएको हो ।
विष्टलाई जिल्ला अदालत कञ्चनपुरको आदेशमा मंगलवार नै रिहा गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख कुवेर कडायतले बताउनुभयो । त्यस्तै, निर्मलाका साथी भनिएकी रोशनी बम र दिदी बविता बमलाई पनि अदालतले सामान्य तारेखमा छाडेको छ ।
गृहमन्त्रालयले उक्त घटनाको अनुसन्धान गर्न गठन गरिएको छानविन समितिका सदस्य उपसचिव वीरेन्द्र केसीले राजीनामा दिएपछि हत्या अनुसन्धान थप जटिल बनेको ै ।
छानविन समितिको म्याद थप तथा प्रतिवेदनका सम्वन्धमा असन्तुष्टि रहेको जनाउदै उहाँले आफ्नो ब्यक्तिगत शान्तिसुरक्षाका लागि र निर्मलाको न्यायका लागि समितिबाट राजीनामा दिएको दावी गर्नु भएको छ । घटनाको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोली पनि तैनाथ गरिएको छ ।
निर्मला हत्या घटनाको अनुसन्धान गर्न सहसचिवस्तरको पाँच सदस्यीय छानविन टोली र ब्यूरो प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीको संयोजकत्वमा छुट्टा छुट्टै अनुसन्धान टोली खटाइएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds