छुटको प्याकेज ल्याउन निर्देशन

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ २७ गते । संविधान दिवसका अवसरमा दूरसञ्चार सेवा प्रदायकहरूलाई दूरसञ्चार शुल्कमा विशेष छुटको प्याकेज ल्याउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निर्देशन दिएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको संयोजकत्वमा गठित संविधान दिवस प्रचार प्रसार उपसमितिको बैठकले यस्तो निर्देशन दिइएको सो मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । यस्तो प्याकेज दुई साताका लागि ल्याउन निर्देशन दिइएको छ ।
उपसमितिले मूल समारोह समितिबाट निर्णय भए बमोजिम नेपाल टेलिभिजन, रेडियो नेपाल एवं निजी क्षेत्रका अन्य सञ्चार माध्यमहरुबाट संविधानको महत्वको बारेमा कार्यक्रम प्रसारण र प्रकाशन गराउने, नेपाल टेलिभिजनबाट संविधानका विविध पक्ष समेटिएको डकुमेन्ट्री तयार गरी प्रसारण गर्न लगाउने निर्णय पनि गरिएको छ ।
उपसमितिले सरकारी प्रशारणका माध्यमबाट मूल कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्ने, “सुखी नेपाली समृद्ध नेपाल विषयमा डकुमेण्ट्री तयार गर्ने, नेपाल टेलिभिजनबाट संविधानसम्बन्धी जिङ्गल तयार गरेर प्रसारण गराउने र अन्य सन्चार माध्यमलाई पनि उपलब्ध गराउने निर्णय भएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, सूचना प्रविधि महाशाखाले रोवोट आविष्कार गर्ने संस्था वा युवासँग समन्वय गरी रोवोट वा नवप्रवद्र्धन सम्बन्धी कामको झाँकी प्रदर्शन गर्ने व्यवस्था मिलाउने उपसमितिले निर्णय गरेको छ ।
संविधान दिवसको अवसरमा मुद्रण विभागबाट संविधानको बहुपक्षीय आयामलाई उजागर गर्ने विभिन्न लेख रचनाहरुको सँगालो र स्मारिका प्रकाशन गर्ने, रेडियो नेपालले संविधान दिवसको अवसरमा जागरण गीत सम्मेलन सञ्चालन गर्ने निर्णय गरेको मन्त्रालयका सहायक प्रवक्ता मुकुन्द शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । साथ,ै गोरखापत्रले सो अवसरमा नियमित सामग्रीसँगै विशेषाङ्क प्रकाशित गर्ने भएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds