चेपाङ समुदायका लागि पाँचसय घर बन्दै


राममणि दाहाल

हेटौँडा, भदौ २८ गते । जनता आवास कार्यक्रम अन्तर्गत मकवानपुरका चेपाङ समुदायकालागि पाँचसय घर बन्ने तयारी भएको छ । तर वजेट निकासामा ढिलाई भएपछि निर्माणको काम शुरु हुन सकेको छैन ।
संघीय सरकारले चेपाङ समुदायका लागि भवन निर्माण गर्न प्रदान गर्दैआएको जनता आवास कार्यक्रम चालु आर्थिक वर्षबाट हटाएको छ । गत आर्थिक वर्षमा मकवानपुरका पाँचसय चेपाङ समुदायलाई जनता आवास कार्यक्रम अन्तर्गत रकम विनियोजन गरिएको थियो । khairang chepang aawash
सिमान्तकृत समुदायमा पर्ने चेपाङ समुदायको भवन निर्माण गर्न सरकारले आर्थिक वर्ष २०६७/०६८ देखि प्रतिघर तीनलाख ५० हजार रुपियाँ प्रदान गर्दैआएको छ । नेपाल चेपाङ संघ मकवानपुरका अध्यक्ष खेम चेपाङले तीनलाख ५० हजारमा चार प्रतिशत कन्टिजेन्सी कटाएर लाभग्राहीलाई चार किस्तामा घर निर्माण गर्न रकम प्रदान गर्ने प्रावधान रहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार चार प्रतिशत कन्टिजेन्सी कटाएर रहने तीनलाख ३६ हजार रुपियाँमा १६ हजार चर्पी निर्माणका लागि घर निर्माण भइसकेपछि प्रदान गरिन्छ । चर्पी निर्माणको रकम छुट्याएर बाँकी रहेको तीनलाख २० हजार रुपियाँमा पहिलो किस्तामा २५ प्रतिशत, दोश्रो किस्तामा ३० प्रतिशत, तेस्रो किस्तामा ३५ प्रतिशत र अन्तिममा १० प्रतिशत रकम लाभग्राहीलाई प्रदान गर्ने गरिएको छ ।
पाँचसय चेपाङ परिवारलाई घर निर्माण गर्न गत आर्थिक वर्षमा पहिलो किस्ताको चार करोड रुपियाँ प्रदान गरिएको थियो । जनता आवास कार्यान्वयन ईकाइ समिति मकवानपुरका सदस्यसमेत रहनु भएका चेपाङले दोस्रो किस्तामा चारसय परिवारलाईमा तीनकरोड ८४ लाख रुपियाँ लाभग्राहीलाई प्रदान गरिएको बताउनुभयो ।
पाँचसय घर निर्माण गर्न कुल १७ करोड ५० लाख रुपियाँ आवश्यकपर्ने देखिएको छ । भवन प्रविधि तथा तालिम अनुसान्धान केन्द्र हेटौँडाका प्रमुख एवं जनता आवास कार्यान्वयन ईकाइ समिति मकवानपुरका सुदीप आचार्यले जनता आवास कार्यक्रम प्रदेश सरकार अन्तर्गत आएको जानकारी दिनुभयो ।
चेपाङ संघ मकवानपुरका अध्यक्ष चेपाङले जनता आवास कार्यक्रमको किस्ताको बाँकी रकम उपलब्ध नहुँदा चेपाङ समुदाय मारमा परेको बताउनुभयो । जनता आवास कार्यक्रम अन्तर्गत मकवानपुरमा सरकारको अनुदानमा ५९६ चेपाङ परिवारका लागि घर निर्माण भइसकेको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना