समुह बचतबाट व्यवसायी बन्दै महिला


मुरारी अधिकारी

धादिङ, भदौ २८ गते । धादिङको गजुरी गाउँपालिका ५ राईगाउँका महिला समूहमा आबद्ध महिला नियमित बचतबाट व्यवसायी बन्न सफल भएका छन् ।
बचतको माध्यमबाट गाउँमै व्यवसाय गरेर आत्मनिर्भर बनेका महिला नेतृत्व विकास तथा विकास निर्माणका काममा पनि उत्तिकै सहभागी बन्न थालेका छन् । राईगाउँकी सीता राईले समूहमा बचत गर्दै त्यहीँबाट लिएको ऋणले गाउँमै पसल सञ्चालन गरिरहनु भएको छ ।
राई बालकुमारी सामाजिक परिवार नामक समूहमा अवद्ध भएर नियमित बचत गर्नुहुन्छ । नियमित बचत गर्दैजाँदा अहिले उहाँलाई घरखर्च चलाउन समस्या छैन । उहाँजस्ता थुप्रै महिला बचतपछि आत्मनिर्भर बनेका छन् ।
बचत गर्ने र ऋण परिचालन गर्ने गरेपछि उनीहरुको दैनिकी फेरिएको छ । अर्की स्थानीय ममता राई बचत शुरु गरेसँगै समुदायमा परिवर्तन देखिने काम हुन थालेको बताउनुभयो । केही बर्ष अघिसम्म गाउँमा नयाँ मान्छे देख्दा बोल्न डराउने राई महिलाहरु अहिले निर्धक्क साथ आफ्नो परिचय दिन सक्ने भएका छन् ।
राईगाउँका १४० घर परिवारलाई लक्षित गरी समग्र विकास सेवा केन्द्र गैरसरकारी संस्थाले २०६६ सालमा बालकुमारी सामाजिक परिवार नामक दुईवटा समूह गठन गरी नियमित बैठक, बचत संकलन, स्वास्थ्य तथा सरसफाई सम्वन्धि जनचेतनामूलक कार्यक्रम शुरुगरेको थियो । Mahila
पिछडिएका राई महिलालाई सक्षम वनाएर समाजमा परिवर्तन देखिनेखालका काम गराउन सामाजिक परिवार सफल हुंदैगएको समग्र विकास सेवा केन्द्र धादिङका जिल्ला संयोजक रुद्र कोइरालाले बताउनुभयो ।
राईगाउँका सबै राई महिला अहिले साधारण साक्षर भइसकेका छन् । समूहमा बसेपछि उनीहरु स्थानीय निकायले प्रदान गर्ने सेवा सुविधाबारे समेत सजग बनेका छन् । पहिले घर व्यवहार, औषधि उपचार गर्न महँगो ब्याजमा ऋण लिने उनीहरु अहिले सहुलियत दरमा समूहबाट बिनाधितो ऋण पाउने भएका छन् ।
बचत समूहमा मासिक रुपमा १० रुपैयाँबाट शुरु गरेको बचत बढेर अहिले एउटा समूहमा दुई लाख रुपियाँ नाघिसकेको समूहकी अध्यक्ष फुलमाया राईले बताउनुभयो । संस्थामा बचत गर्दै आएकामध्ये कसैलाई पैसाको आवश्यक परेमा समूहबाट एक पटकमा एक जनालाई ५० हजार रुपैयाँसम्म ऋण लगानी गर्दै आएको अध्यक्ष राईले बताउनुभयो ।
महिलाहरु समूहमा आबद्ध भएपछि उनीहरूको दिनचर्यामा परिवर्तन आएको छ । उनीहरुले आफूलाई आवश्यक परेको सस्तो र सहज तरिकाले समूहबाटै ऋण पाउने गरेको बताउँछन् । समग्र संस्थाले समूहलाई सशक्तिकरणका लागि तालिम, प्रशिक्षण, बचत कोष निर्माण मात्रै गरिदिएको छैन, समूहलाई बाख्रा उपहार दिएको र समूहका सदस्यहरुले ती बाख्रालाई स्याहारसुसार गर्दै आयआर्जन तर्फ लागिरहेका छन् ।
समूहमा बचत गरेको रकम ऋणमा निकालेर तरकारी खेती र ब्रोइलर कुखुरा पालन, किराना पसल, खाजा घर सञ्चालन गरेर आम्दानीको स्रोत जुटाउनेतर्फ स्थानीय महिला लागि परेका छन् । यहाँका महिलाले समूहबाट पैसा लिएर बाख्रापालन, बंगुरपालन, कुखुरापालन गरेको घुम्ती पसल र तरकारीखेती गरिरहेको समूहकी अगुवा सीता राईले बताउनुभयो ।
पाँच बर्ष अघिसम्म राईगाउँमा खुल्ला ठाउँमा शौच गर्नुपर्ने बाध्यता थियो । नुवाकोटको चारघरेबाट विवाह गरेर राईगाउँ आएकी ममतालाई खुल्ला ठाउँमा शौच गर्नुपर्दा त्यतिबेला आंफ्ुले सबैभन्दा ठूलो पीडा भोगेको उहाँले बताउनुभयो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना