रोजाइमा हात्ती सफारी

लक्ष्मीप्रसाद उपाध्याय

काठमाडौँ, भदौ ३० गते । आन्तरिक तथा बाह्य पर्यटकका लागि हात्ती सफारी नेपालको पर्यापर्यटनको प्रवद्र्धनका लागि निकै महत्त्वपूर्ण मानिएको छ ।  राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको पर्यापर्यटनको विकास र प्रवद्र्धनमा हात्तीलाई अलग गरेर राख्न नसकिने कुरा पर्यटन तथा होटल व्यवसायीले बताएका छन् । निकुञ्जभित्रका वन्यजन्तु, जैविक विविधता हेर्न आउने र प्राकृतिक सुन्दरताको अवलोकन गर्न चाहाने अधिकांश पर्यटकको रोजाइमा गाडी सफारीभन्दा पनि हात्ती सफारी पर्न थालेको छ । यद्यपि, पछिल्लो समयमा विकसित मुलुकबाट नेपाल आउने पर्यटकले हात्ती सफारीलाई कम प्रयोग गर्न थालेका छन् । जनावरको अधिकारका विषयमा चौतर्फी कुरा उठ्न थालेपछि ती मुलुकका नागरिक जीप सफारीको प्रयोग बढी गर्न थालेका हुन् । hatti
विशेषगरी तराई क्षेत्रका निकुञ्ज र निकुञ्ज वरिपरिमा सामुदायिक वनको आम्दानीको मुख्य स्रोत नै पर्यटकबाट उठ्ने शुल्क मानिन्छ । ती क्षेत्रमा आउने अधिकांश पर्यटकले हात्ती सफारीलाई नै धेरै रुचाउने हुँदा निकुञ्ज, मध्यवर्ती क्षेत्रका सामुदायिक वन र होटल व्यवसायीले निजी रूपमा हात्ती राख्ने गरेका छन् ।
हात्ती सफारीका लागि निकै प्रख्यात मानिने चितवन राष्ट्रिय निकुञ्जमा ५४ वटा हात्तीको दरबन्दी कायम गरिएको छ । निकुञ्जले विभिन्न १३ वटा स्थानमा हात्तीसार स्थापना गरिएको कुरा निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, जीप सफारीमा जङ्गलको भित्रैभित्र जान नसकिने भएकाले अधिकांश पर्यटकले हात्तीको सफारीको चाहाना राख्छन् । बाघ, एकसिङ्गे गैँडालाई नजिकैबाट अवलोकन गर्न हात्तीमा चढेर सहज हुने भएकाले अधिकांश पर्यटकले हात्ती सफारीको रुचाउने गरेका छन् ।
चितवनको सौराहामा मात्र होटल व्यवसायीहरूसँग झण्डै २०० हात्ती रहेका छन् । एउटा हात्तीको मूल्य २५ लाखदेखि ९० लाख रुपियाँसम्म पर्ने गरेको बताइएको छ । सौराहा र मेघौलीमा बढीजसो हात्तीको प्रयोग गरेर पर्यटकीय गतिविधि सञ्चालन भइरहेका छन् । सौराहामा त हात्ती सफारीलाई व्यवस्थित गर्न व्यवसायीहरूको सहकारी संस्थासमेत स्थापना गरिएको छ । युनाइटेड एलिफेन्ट कोअपरेसनका सौराहाका अध्यक्ष दीपक भट्टराईले भन्नुभयो, चितवनको पर्यटनको विकास र प्रवद्र्धनका लागि पहिलेदेखि नै हात्ती एक अभिन्न अङ्ग हो । यहाँको पर्यटन व्यवसायबाट हात्तीलाई अलग पार्न सकिँदैन । हात्ती भएकै कारणले यहाँको पर्यटन फस्टाएको छ ।
चितवनका कुमरोज र बाघमारा सामुदायिक वनले हात्ती सफारीमा जाने पर्यटकको शुल्कबाट मात्र वार्षिक रूपमा करोडौँ रुपियाँ राजस्व सङ्कलन गर्ने गरेको छ । जसबाट स्थानीय समुदायको जीविकोपार्जन, भौतिक पूर्वाधार निर्माण तथा संरक्षणका कार्यक्रम सञ्चालन भइरहेका छन् ।
पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका भनाइ पनि आरक्षबाट निकुञ्ज घोषणा भएपछि आउने गरेको अधिकांश पर्यटकको रोजाइ हात्ती सफारी नै रहेको छ । पर्सामा १० वटा हात्तीको दरबन्दी कायम गरिएको छ । उहाँले भन्नुभयो, निकुञ्ज घोषणा भएपछि हात्तीसार भन्ने प्रचारप्रसार भयो अनि पार्कभित्र आउने करिब ६० प्रतिशत पर्यटकले हात्ती सफारीको खोजी गर्न थालेका छन् । जङ्गलभित्र रमाउन चाहाने पर्यटकका लागि हात्ती सफारी सहज र आनन्ददायी हुने भएकाले अधिकांश पर्यटकले हात्ती सफारीलाई रोज्ने गरेका हुन् ।
उता बर्दियामा आउने पर्यटकले पनि हात्ती सफारीलाई नै बढी मन पराउने गरेको कुरा बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत अशोक भण्डारीले बताउनुभयो । उहाँका अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा १० वटा हात्तीको दरबन्दी कायम गरिएको छ । हाल बर्दियाबाट बाँके राष्ट्रिय निकुञ्जमा हात्तीसार स्थापना गरी
चार वटा हात्ती पठाइएको छ ।
हात्ती सफारीमा जाँदा जङ्गलभित्र भेटिने बाघ, गैँडा तथा जङ्गली हात्तीजस्ता वन्यजन्तुबाट जोखिम कम हुने भएको र नजिकबाट वन्यजन्तुको अवलोकन गर्न सकिने भएकाले हात्तीको प्रयोग गरिने गरेको कुरा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले बताउनुभयो । महानिर्देशक खड्काले भन्नुभयो, हात्ती सफारी आन्तरिक पर्यटकका लागि निकै आकर्षक बन्दै गएको छ । निकुञ्जमा हात्तीको प्रयोग नियमित गस्ती, अनुगमन तथा चोरी शिकार नियन्त्रणका लागि पनि उत्तिकै प्रयोग गर्ने गरिएको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना