विद्यालयको पुनःनिर्माण सुरु भएन

हेमनाथ खतिवडा

रसुवा, भदौ ३१ गते । ०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण भत्केका रसुवाको नौकुण्ड गाउँपालिका–४ सरमथलीमा रहेको निर्कुभूमे माध्यमिक विद्यालयमा ६ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
झण्डै तीन घण्टाको पैदल बाटो हिँडेर विद्यार्थी विद्यालय पुग्छन् । भूकम्पले भत्किएको विद्यालय अझैसम्म निर्माण हुन नसक्दा अध्ययन अध्यापनमा समस्या देखिएको छ । भूकम्प अघि टाढाबाट आउने विद्यार्थीलाई बस्ने व्यवस्था थियो, प्रधानाध्यापक दिलबहादुर धितालले भन्नुभयो, “अहिले पढाउनका लागि कक्षाकोठा समेत पर्याप्त छैन् ।”
४० जना विद्यार्थी करिव तीन घण्टाको बाटो हिँडेर विद्यालय आउनेगरेको उहाँले बताउनुभयो । लामो दिनमा त विद्यार्थीलाई विद्यालय आउन समस्या पर्दैन, तर छोटो दिनमा विद्यार्थीले झोलामा टर्च बोकेर पढ्न आउनु पर्छ उहाँले भन्नुभयो ।
हिउँद लागेपछि जाइका संस्थाले १२ कोठाको भवन निर्माण गरिदिने भएको उहाँले बताउनुभयो । वर्षाको कारण भवन निर्माण प्रक्रिया अघि बढ्न सकेन, उहाँले भन्नुभयो “सडक सुचारु भएपछि निर्माण सुरु हुनेछ ।”
नौकुण्ड गाउँपालिका–३ पारच्याङमा रहेको गौतमबुद्ध माविको भवन निर्माण अझै सुरु भएको छैन् । माध्यमिक तहको पढाइ हुने विद्यालयमा जम्मा पाँचवटा कोठा छ । बाँकी कोठा निर्माणको काम हुन नसकेको प्रधानाध्यापक धितालले बताउनुभयो ।
विद्यालय भवनको अभावमा घाम लाग्दा, पानी पर्दा अनि हावाहुरी चल्दा पठनपाठन अवरुद्ध हुने गरेको विद्यालयले जनाएको छ । “ठूलो हावाहुरी आयो भने भएको संरचना उडाएर लैजान्छ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेमाग्यावा तामाङले भन्नुभयो, “हामी भवन निर्माणका लागि दाता संस्था खोजिका छौं ।”
जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको अवस्था पनि त्यस्तै छ । विद्यालयमा ८ कक्षासम्म पढाइ हुन्छ । विद्यालयको तीनकोठे पक्की भवन छ । जसमा एउटामा कार्यालय र एउटामा पुस्तकालय छ । बाँकी एउटा कक्षामा पढाइ हुन्छ ।
‘विद्यालय निर्माण नगर्ने भए हामीले पहल गर्न सहज हुन्थ्यो, प्रधानाध्यापक फुर्पुदोर्जे घलेले भन्नुभयो, “निर्माण गर्ने भनेर ओगटेर राख्दा भवन निर्माण गर्न समस्या भइरहेको छ ।” भूकम्प गएको लामो समय भइसक्दा समेत जिल्लाका १५ वटा विद्यालयको निर्माण सुरु हुन सकेको छैन् ।
निर्माण हुन बाँकी रहेका विद्यालयहरुलाई आर्थिक वर्ष ०७५÷७६ मा भवन निर्माणका लागि आवेदन दिन सूचना जारी गरिएको छ । गाउँपालिकाले सिफारिस नगरेमा विद्यालय आफैँले प्रस्ताव दिन सक्ने जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) प्रमुख सरदकुमार भण्डारीले बताउनुभयो । जिल्लामा अहिलेसम्म ३८ वटा विद्यालयको भवन निर्माण सम्पन्न भएको इकाइ प्रमुख बालकृष्ण सिंखडाले बताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds