सम्बन्धको प्रतीक अट्वारी पर्व

अविनाश चौधरी

धनगढी, भदौ ३१ गते । पश्चिम नेपालका थारू समुदायले आइतबार अट्वारी पर्व मनाउँदैछन् । सम्बन्धको प्रतीकका रूपमा लिइने यो पर्व निराहार व्रत बसेर दुई दिनसम्म मनाइने चलन रहेको छ । वर्ष दिनपछि आफ्नो विवाहित छोरीलाई उपहार दिएर सम्बन्ध प्रगाढ बनाउने अट्वारी पर्व कैलालीसहित कञ्चनपुर, बर्दिया, बाँके, सुर्खेत र दाङमा बसोबास गर्ने थारू समुदायले धुमधामसँग मनाउने गर्छन् ।
अट्वारी पर्वमा व्रतालुहरूले आफूले खानुअघि एक भाग निकालेर राखेको सबै प्रकारका खाना आफ्ना विवाहित छोरी÷चेलीलाई उपहार दिने भएकाले यो पर्वलाई सम्बन्धको प्रतीकका रूपमा लिने गरिएको थारू समुदायका व्यक्ति बताउँछन् ।
अट्वारीको पहिलो दिन आधा दिनसम्म पानीसमेत नखाइ व्रत बस्ने चलन रहेको छ । पहिलो दिनको मध्याह्नमा नजिक रहेको नदी, पोखरी वा धारामा नुहाइधुवाई गरी पूजाआजा गर्ने गरेको बताइएको छ ।
कैलारी गाउँपालिका ७ का ५९ वर्षीय चिपुराम चौधरीका अनुसार पूजाअर्चना गरेर घरमा तयार भएको खानाका परिकार, फलफूल एक भाग निकालेर मात्र व्रतालुहरूले खाने गर्छन् । यो दिन विशेष गरेर अन्दीको रोटी, केरा, काँक्रो, अम्बा, हलुवा खाने चलन रहेको चौधरीले जानकारी दिनुभयो ।
अट्वारी पर्वको दोस्रो दिन व्रतालुहरूले नुहाइधुवाई गरी पुनः पूजा अराधना गर्छन् । थारू समुदायले अट्वारी पर्वमा गुइँठाको आगो ९अगयारी० बाली घ्यू र सल्लोको स–साना टुक्रा हालेर पूजा गर्ने गरेको बताइन्छ ।
धार्मिक नित्यकर्म सकिएपछि भात, सुकेको माछा, खरिया, फुलौरी, खुर्माजस्ता मीठा–मीठा परिकार खाने गरेको बताइएको छ । यी परिकारहरू आफ्नो विवाहित दिदी–बहिनीलाई उपहार दिनका लागि एक भाग निकालेर मात्रै खाने चलन रहेको चौधरीले बताउनुभयो ।
अट्वारी पर्वमा दुई दिनसम्म निराहार व्रत बसेका सबै व्रतालुले पर्वमा तयार गरिएको सबै परिकार आफूले खानुअघि एक÷एक भाग अनिवार्य रूपमा निकाल्नुपर्ने चलन रहेको छ । यसरी निकालेर राखिएको खानेकुरालाई माइती पक्षको उपहारका रूपमा विवाहित छोरी÷चेलीलाई सोही दिन नै दिने चलन रहेको थारू समुदायका व्यक्ति बताउँछन् ।
छोरीको जति टाढा विवाह भए पनि सकेसम्म अट्वारी पर्वमा यो उपहार दिने चलन छ । जसलाई ‘अग्रासन’ भन्ने गरिन्छ । अट्वारी पर्वको दोस्रो दिन आफ्नो माइती घरको अग्रासन कुरेर विवाहित छोरी बसेका हुन्छन् । माइतबाट आएको अग्रासन पाएमा उनीहरू आनन्दित हुने गरेको चिपुराम चौधरीको भनाइ छ ।
यदि, विवाहित छोरीहरूले अग्रसान पाएनन् भने उनीहरूको चित्त दुख्ने गर्दछ, उहाँले भन्नुभयो, त्यसैले वर्षदिनमा एक चोटि आउने यो पर्वमा सकेसम्म अनिवार्य रूपमा अग्रसान दिने चलन छ ।
थारू समुदायले नयाँ वर्षका रूपमा मनाउने माघी पछिको दोस्रो ठूलो पर्व अट्वारी हो । अट्वारी पर्व मनाउनुको विभिन्न किंवदन्ती रहेको पाइन्छ । थारू राजा दङ्गीशरणको राज्य अप्ठ्यारोमा परेका बेला सुर्खेतको काँक्रेबिहार घुम्न आएका पाँच पाण्डवमध्येका माइला भाइ भीमले राजा दङ्गीशरणलाई सहयोग गरेको विश्वास थारू समुदायले गर्दछन् । भीमले थारू राजालाई सहयोग गरेका कारण भीमको नाममा व्रत बसेर अट्वारी पर्व मनाउने चलन भएको बताइन्छ ।
यस्तै, अप्ठ्यारोमा परेका थारू समुदायका एक चेलीलाई भीमले उद्धार गरेका कारण भीम र सूर्यदेवको उपासना गरेर अट्वारी पर्व मनाउने चलन भएको कतिपयको तर्क रहिआएको छ । अट्वारीलाई थारू समुदायको मौलिक पर्वका रूपमा लिने गरिएको छ ।
अट्वारी पर्वले आपसी सद्भाव, सम्बन्ध र प्रेम बढाउने गरेका थारू नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरीले बताउनुहुन्छ । अट्वारी पर्व परापूर्वकालदेखि हाम्रो पुर्खाले मनाउँदै आएको मौलिक पर्व हो, उहाँले भन्नुभयो, यसको धार्मिक र सामाजिक महत्त्व रहेको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds