लोकप्रिय बन्दै ‘मोटरसाइकल ट्याक्सी’

यलु जोशी

काठमाडौँ, असोज ६ गते । तीन वर्षअघि भारतीय नाकाबन्दीका बेला मोटरबाइक बा गाडीमा अरुलाई ओसार्ने ‘लिफ्ट कल्चर’ निकै लोकप्रिय थियो । सोही लिफ्ट कल्चरलाई व्यवसायिक रुप दिँदै टुटल एप्स बनाएपछि युवापुस्तादेखि बृद्धमाझ यो निकै लोकप्रिय भइरहेको छ ।
यसलाई सजिलो भाषामा मोटरसाइकल ट्याक्सी पनि भन्ने चलन छ । यो एप्सको प्रयोग गरेर सर्वसाधारणले सडकमा गुडिरहेको मोटरसाइकलमा भाडा तिरेर यात्रा गर्न सक्नेछन् । दूरसञ्चार तथा बैङ्कमा लामो समय काम गरेका इन्जिनियर शिक्षित भट्टलाई केही फरक खालको काम गरौं भन्ने लागेपछि टुटल एप्सको निर्माण गर्नुभयो ।
उहाँ भन्नुहुन्छ, ‘मोटरसाइकलमा हुने खाली सिट उपयोग गरेर सेवा दिन सकिन्छ, जस्तो लाग्यो । हामीलाई नाकाबन्दीको मारमा पनि धेरैले लिफ्ट दिएकाले यो सफल हुन्छ भन्ने विचार आयो । त्यही भएर यो एप्स निर्माण गर्यौं ।’
उहाँका अनुसार जनवरी २०१७ बाट टुटल एप्सको सुरु भयो । सस्तो र छिटो हुने भएपछि हिजोआज टुटलको प्रयोग गरेर दैनिक दुई हजार यात्रुले सेवा लिइरहेका छन् ।
टुटलका नियमित प्रयोगकर्ता अनिता राई भन्नुहुन्छ, “हामी जस्तो हिड्नुपर्ने मान्छेका लागि टुटल एकदमै राम्रो छ । सार्वजनिक गाडीमा जान समस्या र समयमा पनि नपुग्ने फेरि ट्याक्सी प्रयोग गर्न महँगो र जामको समस्या हुन्छ, उहाँ थप्नुहुन्छ, ‘टुटलको सेवा छिटो र सस्तो छ ।’  -couple-riding-motorcycle 

आफ्नो साथीको माध्यमबाट एक वर्ष अघि टुटलबारे थाहा पाउनुभएका राईले दैनिक तीन–चार पटकसम्म टुटलको प्रयोग गर्दै आउनुभएको जानकारी दिनुभयो ।
यता बाइकर (बाइक चालक) उत्तम श्रेष्ठ टुटल एप्सले धेरै राहत पु¥याएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “विहान १० बजे कार्यालय पुग्दा पनि दुईदेखि पाँच जना सम्मलाई लिफ्ट दिन्छु भने कार्यालय सकेपछि पनि बेलुका ९ बजेसम्म टुटलमा नै जोडिएको हुन्छ । मेरो पेट्रोल खर्चको साथै खाजा खर्च तथा घुम्न जाने खर्चको पनि जोहो हुन्छ ।
मासिक यति नै कमाउँछु भन्ने त छैन् आफूले जति काम ग¥यो त्यही अनुसार आम्दानी हुने हो श्रेष्ठ भन्नुहुन्छ, कम्तीमा पनि महिनाको १० देखि १५ हजार रुपियाँसम्म कमाई हुन्छ ।
टुटलका धेरै प्रयोगकर्ताचाहिँ दृष्टिविहीन हुने श्रेष्ठको अनुभव छ । ‘ट्याक्सी महँगो हुने, सार्वजनिक यातायात डोर टू डोरमा सेवा नहुने,’ उहाँले भन्नुभयो, ‘त्यसको लागि विकल्प भने टुटल हुन्छ । ढोकाबाट ढोकामै पु¥याइदिने ।’ यसैले गर्दा पनि दृष्टिविहीनले टुटलको सेवा रुचाएको हो ।
त्यसैगरी सेवा लिनेमा महिला पनि बढी भएको श्रेष्ठले जानकारी दिनुभयो । महिलाको लागि महिला चालक समेत टुटलले व्यवस्था गरेकोले यो धेरै लोकप्रिय भएको उहाँको अनुभव छ ।
भट्टले टुटलमा अहिले सात हजार चालक जोडिइसकेका जानकारी दिदै भन्नुभयो–२५ सय चालक भने पूर्णकालीन रोजगार नै बनेका छन् । यसरी पूर्णकालीन रोजगार बन्नेले मसिक ४५ हजार रूपियाँसम्म कमाउने गरेका उहाँले जानकारी दिनुभयो ।
टुटल यातायात कम्पनी नभएर प्रविधिको सहायताबाट गरिएको नयाँ सोचको व्यवसाय रहेको उहाँले बताउनुभयो । मोटरसाइकलमै ‘पेइङ लिफ्ट’ कल्चर विकास गर्न लाग्दा कानुन नै बाधक देखिएको छ । कुनै पनि आविस्कार कानुन हेरेर हुँदैन, उहाँ थप्नुहुन्छ, ‘नयाँ कुरालाई कानुनले समेटेकै हुन्छ भन्ने छैन । हामी त्यसअनुसारको ब्यवस्था गर्न सरकारसँग पहल गरिरहेका छौं ।
के हो टुटल एप्स ?
टुटल एप्स काठमाडाँैंमा यात्रु र मोटरसाइकल तथा स्कुटी चालकलाई जोड्ने माध्यम हो । पैसा तिरेर मोटरसाइलकमा यात्रा गर्न चाहनेका लागि यो एप्स बनाइएको हो । आफ्नो मोटरसाइकलमा यो सुविधा दिन चाहने र सेवा लिन चाहने दुबैले एप्स डाउनलोड गर्नुपर्छ । टुटल एप्सबाट सेवा लिन चाहेका बेला इन्टरनेटसँग जोडिएर आफू जाने रुटका मोटसाइकल चालकसँग सम्पर्क गराइदिन्छ ।
यो सेवाका दिने लिने दुबैले टुटल एप्समा दर्ता हुनुपर्छ । एकपटक दर्ता भएपछि चाहेको बेला सेवा लिन र दिन सकिन्छ । टुटलमार्फत् बाइकमा यात्रा गर्दा न्यूनतम तीन किलोमिटरसम्म ६० रूपियाँ लाग्छ । तीन देखि छ किलोमिटरसम्म प्रतिकिलोमिटर १८ रूपियाँ र त्योभन्दा बढी भएमा प्रति किमी २५ रूपियाँ लाग्छ । उपत्यकामा सञ्चालित यो सेवा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म चल्छ । यो सेवा दिएबापत चालकले ८० प्रतिशत रकम लिन्छ भने टुटलले २० प्रतिशत लिने गरेको छ । चालक र यात्रुले मोबाइल एप्समार्फत नै खाता खोलेर वालेट वा क्यास पेमेन्टबाटै कारोबार गर्न पनि सकिन्छ । भाडाको २० प्रतिशत रकम टुटल एप्सलाई तिनुपर्छ ।
यातायात ब्यवस्था विभागले भने निजी सवारीले भाडा लिएर यात्रु बोक्नु अवैधानिक भनेको छ । विभागका सूचना अधिकारी गोकर्ण उपाध्यायले यातायात ब्यवस्था ऐनले एउटा प्रयोजनमा दर्ता भएको सवारी अर्को प्रयोजनमा लगाउन नपाउने स्पष्ट ब्यवस्था गरिएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, मलाई यसबारे त्यति जानकारी छैन । त्यसैले यो नै हो भन्न सकिदैन ।
महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी मोहनकुमार थापाले टुटल प्रयोगकर्ताहरूमा कुनै हिंसा भएको उजुरी नभएको जानकारी दिदै भन्नुभयो–जाउलाखेलमा एउटा उजुरी परेको थियो तर काठमाडौँमा भने छैन ।

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना