सीडमा प्रस्तुत गरिने छायाँ प्रतिवेदन तयार


गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज २६ गते । महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि (सीड) को ७१औं सत्रमा प्रस्तुत गर्नका लागि नेपालका ९० भन्दा बढी गैरसरकारी संस्थाले संयुक्त रुपमा छायाँ प्रतिवेदन तयार गरेका छन् । आगामी कात्तिक ५ गते स्वीट्जरल्याण्डको जेनेभामा सीडको ७१औं सत्र सुरु हुँदैछ ।
सन् १९९१ मा नेपालले अनुमोदन गरेको उक्त महासन्धिको ७१ औँ सत्रमा नेपालको तर्फबाट प्रस्तुत हुने यो छैटौँ छाया प्रतिवेदन हो । बैठकमा भाग लिनका लागि नेपालबाट महिलासँग सम्बन्धित विभिन्न क्षेत्रमा कार्यरत गैरसरकारी संघसस्था एवंम् नागरिक समाजका ९० जना भन्दा बढी प्रतिनिधि जेनेभा जाँदैछन् । छायाँ प्रतिवेदनमा सीडले तय गरेका १६ वटै विषयमा हालसम्म भएका उपलब्धि, विद्यमान ऐन कानुन र त्यसको कार्यान्वयनका अवस्थाबारे उल्लेख गरिएको प्रतिवेदन तयारी समिति संयोजक एवम् अधिवक्ता सविन श्रेष्ठले जानकारी दिनुभयो ।
सीड बैठकमा नेपाल सरकारको तर्फबाट भने कात्तिक ६ गते प्रतिवेदन प्रस्तुत हुने र त्यसमाथि ब्यापक छलफल र प्रश्नोत्तर हुनेछ । यस बाहेक नेपालमा कार्यरत संयुक्त राष्ट्रसंघका विभिन्न निकायले गोप्य प्रतिवेदन बुझाउनेछन् भने राष्ट्रिय महिला आयोग र राष्ट्रिय मानव अधिकार आयोगले पनि संयुक्त रुपमा छुट्टै प्रतिवेदन बुझाउने छन् । सीड महासमिति बैठकमा छाया प्रतिवेदनले उठाएका विषयका आधारमा नेपाल सरकारलाई प्रश्न गरिने परम्परा रहेको मिडिया एड्भोकेसी ग्रुपका अध्यक्ष एवं सञ्चारकर्मी बबिता बस्नेतले जानकारी दिनुभयो ।
छाया प्रतिवेदन तयारीका लागि सातवटै प्रदेशमा सरोकारवालासँग व्यापक छलफल गरेर तयार पारिएको उहाँले जानकारी दिनुभयो । त्यस्तै, नागरिकता दिने सम्बन्धमा भएको भेदभाव, न्यायका पर्खाइमा रहेका द्वन्द्वकालका पीडित महिलाको अवस्थालगायतका विषय समेत प्रतिवेदनमा समेटिएको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds